
काठमाडौं । वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात (एनपीएल) ७ प्रतिशत नजिकसम्म पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० मध्ये १८ बैंकको निष्क्रिय कर्जा बढ्दा एक बैंकको करिब ८ प्रतिशत पुगेको हो ।
सञ्चालनमा रहेका २० मध्ये ९ वाणिज्य बैंकको कुल निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको हो । कुनै बैंकको वित्तीय स्वास्थ्य हेर्ने मानक निष्क्रिय कर्जा अनुपात मात्रै नहुन सक्छ । निष्क्रिय कर्जा बढी भए पनि बैंकहरुले त्यसका लागि पर्याप्त कर्जा नोक्सानी व्यवस्था गरेका छन् भने त्यो बैंक वित्तीय रुपमा सवल पनि हुनसक्छ । पर्याप्त कर्जा नोक्सानी व्यवस्था गरेका बैंकहरुको कुल निष्क्रिय कर्जा बढी देखिए पनि खुद निष्क्रिय कर्जा न्यून हुनसक्छ । तर, कुन बैंकको सम्पत्तिको गुणस्तर कस्तो छ भनेर हेर्न एउटा मुख्य मानक भने निष्क्रिय कर्जा अनुपात नै हो ।
२० मध्ये ९ बैंकको निष्क्रिय ५ प्रतिशत माथि पुग्दा ४ प्रतिशत वा सोभन्दा कम निष्क्रिय कर्जा हुने बैंक ३ वटा मात्रै छन् । वासलातको आधारमा सानो मध्येको स्ट्यान्डर्ड चार्टर्ड र सानिमासँगै मध्यमस्तरको एभरेष्ट बैंकको मात्रै निष्क्रिय कर्जा ४ प्रतिशत वा सोभन्दा तल छ । तर वासलताको आधारमा तेस्रो ठूलो रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगै वासलतामा शीर्ष १० भित्र पर्ने हिमालयन, कुमारी, लक्ष्मी सनराईज, एनआईसी एशिया, नेपाल बैंक र प्रभु बैंकको पनि कुल निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि पुगेको हो ।
त्यस्तै सिटिजन्स र प्राइम कमर्सियल बैंकले पनि कुल निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतमाथि पुगेको वित्तीय विवरण प्रकाशित गरेका छन् । वासलातका हिसाबले ठूला बैंकको ५ प्रतिशतमाथि वा करिब ५ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ । यसले वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा नै ५ प्रतिशत नाघेको स्पस्ट हुन्छ । गत पुस मसान्तमा वाणिज्य बैंकहको औसत निष्क्रिय कर्जा ४.७३ प्रतिशत थियो ।
गत पुस मसान्तमा कुमारी, लक्ष्मी सन्राईज, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकले मात्रै ५ प्रतिशतभन्दा माथि निष्क्रिय कर्जा पुगेको वित्तीय विवरण सार्वजनिक गरेका थिए । गत चैतबाट मात्रै राष्ट्र बैंकबाट बिदा भएका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको खराब अवस्था बाहिर नदेखियोस् भनेर बैंकहरुलाई मौखिक निर्देशनमार्फत सकेसम्म निष्क्रिय कर्जा ५ प्रतिशत भित्रै राख्न निर्देशन दिएको राष्ट्र बैंकका उच्च अधिकारीहरु र बैंकरहरु पनि बताउँछन् ।
वित्तीय क्षेत्रमाथि बढ्दै गएको आक्रमणमा बैंकहरुको निष्क्रिय कर्जा बढेको तथ्यांक प्रकाशित हुँदा वित्तीय स्थायित्वमा समस्या आउन सक्ने विश्लेषणले उक्त निर्देशन दिएका थिए वा कार्यकालको अन्तिम समयमा आफ्नो कार्यकालमा वित्तीय क्षेत्रको खराब चित्र नदेखियोस् भन्ने उद्देश्यले उक्त निर्देशन दिएका थिए । त्यो केन्द्रीय बैंकका अधिकारी र निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले नै विश्लेषण गर्लान् ।
तर, कार्यकालको अन्तिम समयमा आएर बैंकहरुले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेपछि भने उनले राष्ट्र बैंकले ५ प्रतिशतभन्दा माथि निष्क्रिय कर्जा नाघेको बैंकमा राष्ट्र बैंकको विभिन्न कोषको रकम निक्षेपमा लगानी नगर्ने व्यवस्थालाई बढाएर ८ प्रतिशतको सीमासम्म पुर्याएका थिए । गत आर्थिक वर्षको चैतमा नै लक्ष्मी सन्राईज बैंकको निष्क्रिय कर्जा ५.४९ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक गरेको थियो ।
त्यसपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासबाट नै बैंकहरुको नियमित ५ प्रतिशत माथिको निष्क्रिय कर्जा पुगे पनि तत्कालीन गभर्नर अधिकारीले कार्यकालको अन्तिम समयमा मात्रै ८ प्रतिशतको सीमा पुर्याएका थिए । कार्यकालको अन्तिममा उनले केही फाइनान्स कम्पनी र क्षेत्रीयस्तरका विकास बैंकलाई शीघ्र सुधारात्मक कारबाही लागु गर्नुपर्ने अवस्था हुँदा समेत जोखिम लिन नचाहेको राष्ट्र बैंककै अधिकारीको आरोप छ ।
चैतमा कुन बैंकका निष्क्रिय कर्जा कति ?
चैत मसान्तसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी एनपीएल हिमालयन बैंकको छ । गत वर्षको चैतसम्ममा ४.९६ प्रतिशत रहेका बैंकको निष्क्रिय कर्जा चालु वर्षको चैत मसान्तसम्म आईपुग्दा २.७२ प्रतिशत बिन्दुले बढ्दै ७.६८ प्रतिशत पुगेको छ । यस्तै, कुमारी बैंकको एनपीएल ६.९८ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ६.०६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा भने कुमारीको ४.९५ प्रतिशत र इन्भेष्टमेन्ट मेगाको ४.६६ प्रतिशत थियो ।

तथ्यांकअनुसार चैत मसान्तसम्ममा लक्ष्मी सनराइजको एनपीएल ५.८६ प्रतिशत, एनआईसी एशियाको ५.७५ प्रतिशत, सिटिजन्सको ५.७१ प्रतिशत, प्राइम कमर्सियलको ५.६५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत छ ।
गत वर्ष भने लक्ष्मी सनराइज बाहेक यी सबै बैंकको एनपीएल ५ प्रतिशत भन्दा तल थियो । गत आवको चैतमा लक्ष्मी सन्राईज बैंकको निष्क्रिय कर्जा ५.४९ प्रतिशत थियो ।
चालु आवको चैत मसान्तमा सबैभन्दा कम एनपीएल एभरेष्ट बैंकको छ । गत आवको चैत मसान्तमा ०.७० प्रतिशत रहेको एनपीएल हाल ०.६४ प्रतिशतमा सीमित भएको छ ।
गत वर्ष २.१४ प्रतिशत रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको एनपीएल हाल १.४४ प्रतिशतमा सीमित भएको छ । यि दुई बैंकको मात्रै निष्क्रिय कर्जा घटेको हो । चैत मसान्तमा सानिमा बैंकको एनपीएल ३.४२ प्रतिशत, सिद्धार्थ बैंकको ४.०४ प्रतिशत, नेपाल एसविआईको ४.०६ प्रतिशत, एनएमबिको ४.४७ प्रतिशत, माछापुच्छ्रेको ४.५९ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.६९ प्रतिशत छ ।
यस्तै नबिलको ४.९६ प्रतिशत, कृषि विकास बैंकको ४.९८ प्रतिशत र ग्लोबल आईएमई बैंकको ४.९८ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ ।
प्रतिक्रिया