घरजग्गा कारोबारः असारमा मात्रै करिब १२ अर्ब उठ्यो राजस्व

77
Shares

काठमाडौं । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व संकलन भएको छ ।

देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व संकलनसमेत गत असार महिनामा नै भएको हो ।

विभागले वर्षभरको राजस्व संकलनको विवरण उपलब्ध गराएको छ । विवरणअनुसार गत वैशाखमा रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबर राजस्व संकलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व संकलन हो ।

विभागका अनुसार २०८२ साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबर राजस्व संकलन भएको थियो । भदौमा केही घटेर रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरमात्रै प्राप्त भएको थियो ।

यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो । असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।

गत मङ्सिरमा चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२, पुसमा पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ रुपैयाँ राजस्व संकलन भएको थियो । माघमा रु पाँच अर्ब ९९ लाख २४ हजार ५३६ र फागुनमा रु चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रकम घरजग्गा कारोबारबाट प्राप्त भएको थियो ।

त्यसैगरी, गत चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ र जेठमा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ सरकारको खातामा जम्मा भएको थियो ।

गत असारमा भने कारोबारमा उल्लेख्य सुधार भएपछि राजस्व संकलनमा पनि वृद्धि भएको थियो । साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमा नै भएपछि कारोबारमा वृद्धि भएको अनुमान गरिएको छ ।

सोही कारण गत असारमा रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व सङ्कलन भएको विभागको विवरणमा समावेश छ । कारोनाकाल र गोरखा भूकम्पपछि घरजग्गा कारोबारबाट गत असारमा सबैभन्दा बढी राजस्व संकलन भएको बताइन्छ ।