
काठमाडौं । चर्को राजनीतिक दबाबका बीच सत्ता साझेदार दुई दलका शीर्ष नेताले भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटघाटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर कसलाई बनाउने भन्नेमा समझदारी जुट्न सकेन ।
प्रधानमन्त्री ओलीले कायममुकायम गभर्नर डा नीलम ढुंगाना तिम्सिनालाई गभर्नर बनाउने बताइरहेका बेला कांग्रेस सभापति देउवाले कांग्रेसले भनेको व्यक्तिलाई गभर्नर बनाउनु पर्ने अडान जोडदार रुपमा साथ राखेका छन् ।
एमाले निकट तिम्सिनालाई गभर्नर बनाउन नहुने र कांग्रेसले दिएका ४-५ जनाको बाट एक जनालाई गभर्नर बनाउनु पर्ने देउवाले अडान राखे।
‘अर्थतन्त्रको अवस्था निकै कमजोर छ यस्तो अवस्थामा योग्य व्यक्तिलाई गभर्नर बनाउनु पर्छ, नीलमजी राम्रै मान्छे हो तर उहाँले यो क्रिटिकल अवस्थामा वित्तीय क्षेत्र हाँक्न सक्नुहुन्न । हामीले अघि सारेका व्यक्तिहरु नीलमजीभन्दा सक्षम र योग्य छन्,’ देउवाले प्रधानमन्त्री ओलीलाई भनेको कुरा उदृत गर्दै गभर्नर नियुक्ति प्रक्रियामा सक्रिय रहेका एक कांग्रेस नेताले क्लिकमान्डुसँग भने, ‘यसअघि एमालेले बनाएका गभर्नरले अर्थतन्त्र बिगारेको र कांग्रेसले भनेका उम्मेद्वारले मात्रै अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सक्छ भनेर सभापतिज्यूले प्रष्ट अडान राख्नुभएको छ ।’
छलफलमा राष्ट्र बैंककै सिनियर डेपुटी गभर्नर त्यसमाथि महिला भएकाले नीलमलाई नै गभर्नर बनाउँदा विवाद नहुने प्रधानमन्त्री ओलीले तर्क राखेको ती नेताले बताए । तर नेपाल विद्युत् प्राधिकरणमा एमालेले रोजेको व्यक्ति हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको भन्दै गभर्नर कांग्रेसले रोजेको व्यक्ति हुनुपर्ने अडान देउवाले राखे ।
‘विद्युत् प्राधिकरणमा तपाईंले रोजेको व्यक्तिलाई हामीले समर्थन गर्यौं, अब गभर्नरमा हामीले भनेको व्यक्तिलाई तपाईंले सहयोग गर्नुपर्छ,’ देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टीले केही पनि नपाउने भन्ने न्यायसंगत हुँदैन । मेरो पार्टीभित्रै पनि गभर्नर छाड्नुहुँदैन भन्ने ठूलो दबाब छ त्यसकारण पनि म कम्प्रमाइज गर्नसक्ने अवस्थामा छैन । गभर्नर हामीले पाएनौं भने गठबन्ध नै संकटमा पर्नसक्ने विषयमा प्रधानमन्त्रीजी गम्भीर हुनुपर्छ ।’
देउवाले यस्तो अडान राखेपछि ओलीले सहमतिमै गभर्नर नियुक्ति गर्ने कुरामा आफू दृढ रहेको बताए । सरकारको नेतृत्व आफूले गरेको भन्दै विवादरहित र योग्य मान्छेलाई दल नभनी गभर्नर बनाउनुपर्ने र त्यसमा कांग्रेस पनि सहमत हुनुपर्ने बताए । गभर्नर कांग्रेसले पाए एमालेले कुन कुन पद पाउँछ भनेर ओलीले देउवालाई प्रश्न गरेको ती नेताले बताए ।
गभर्नर कांग्रेसले भनेको मान्छे नियुक्ति भएको अवस्थामा अरु पदमा छलफल गरेर सहमतिमा अघि बढ्न आफू तयार रहेको जवाफ देउवाले दिए । त्यसपछि प्रधानमन्त्री ओलीले कांग्रेले भनेको व्यक्तिलाई नै गभर्नर बनाउन सकिने प्रष्ट संकेत गरे ।
ओली देउवाको छलफलपछि कांग्रेस नेताहरुले गभर्नर कांग्रेको भागमा परेको बुझेका छन् ।
‘यो पटक गभर्नर कांग्रेसको स्वावाभिक दाबी हो किनभने यसअघि एमालेका गभर्नर थिए’ ती नेताले भने- ‘हामी यसपटक गभर्नर कुनै पनि हालतमा छाड्दैनौं ।’
गत चैत २४ गते महाप्रसाद अधिकारी कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ । सत्ता साझेदार दल कांग्रेस एमालेबीच सहमति नजुट्दा राष्ट्र बैंक ऐनमा एक महिनाअघि नै गभर्नर नियुक्ति गरेर नाम सार्वजनि गर्नुपर्ने भन्ने कानूनी व्यवस्थाको उल्लंघन भइसकेको छ । ऐनले तोकेको समयमा गभर्नर नियुक्त नगरेर कानूनको उल्लंघन भएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।
सरकारले गठन गरेको ३ सदस्यीय गभर्नर सिफारिमा कांग्रेस निकट मानिएका पूर्वगभर्नर विजयनाथ भट्टराई र देउवा निकट रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेल सदस्य रहनुले पनि गभर्नरमा कांग्रेसले रणनीतिक चाल चालेको बुझिन्छ । सिफारिस समितिको संयोजक एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल छन् । सिफारिस समितिले सफारिस गर्दा नै कांग्रेको मान्छे पर्ने बलियो संभावना छ ।
राष्ट्र बैंक ऐन अनुसार बहालवाला डेपुटी गभर्नर मध्येबाट अनिवार्य १ जनासहति ३ जनाको नाम सिफारिस गर्नुपर्ने र सिफारिसमा परेका ३ मध्येबाट १ जनालाई सरकारले गभर्न नियुक्त गर्नसक्ने व्यवस्था छ । बहालवाला दुईवटै डेपुटी गभर्नर एमाले निकट छन्।
कांग्रेसले भने पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री राष्ट्र बैंकका सन्चालक रविन्द्र पाण्डे राष्ट्र बैंकका पूर्वनिर्देशक समेत रहेका नविल बैंकका निवर्तमान सीईओ ज्ञानेन्द्र ढुंगना र बहालवाला कार्यकारी निर्देशक डा गुणाकर भट्टको नाम अघि सारेको थियो ।
तर ६५ वर्ष उमेर कटेको व्यक्तिलाई गभर्नर बनाउन मापदण्ड नै संशोधन गरिएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सरकारले आजै (मंगलबार) मात्रै अन्तरकालीन अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा ज्ञानेन्द्र ढुंगाना वा गुणाकर भट्ट बलियो दाबेदार देखिएका छन्। साथै कांग्रेसले यी बाहेकको नाम पनि खोजिरहेको ती नेताले बताए ।
‘हाम्रो उदेश्य भनेको व्यावसायिक ढंगले अर्थतन्त्र हाँक्न सक्ने व्यक्ति गभर्नर हुनुपर्छ भन्ने हो’ ती नेताले भने ।
कांग्रेस सभापति देउवाको अडानपछि ओली गभर्नरबाट पछि हट्ने मनस्थितिमा रहेको बालुवाटार स्रोतको भनाइ छ । किनभने, माओवादी अध्यक्ष र भारत जसरी भएपनि सरकार ढाल्न लागि परेका छन् भने पूर्वराजा ज्ञानेन्द्र शाह व्यवस्था नै परिवर्तन गर्न सक्रिय छन् । कांग्रेसकै दोस्रो तहका नेताहरुले पनि सार्वजनिक मञ्चबाटै सरकारको विरोध गरिरहेको अवस्थालाई विश्लेषण गर्दै एमाले कांग्रेससँग लचक भएर सत्ता साझेदारी गरिरहनुपर्ने बाध्यात्मक अवस्थामा छ ।
‘एउटा नियुक्तिकै कारण गठबन्धनमा दरार ल्याउनु हुँदैन भन्नेमा प्रधानमन्त्रीज्यू प्रष्ट हुनुहुन्छ’ एमालेका एक मन्त्रीले भने ।
को र कस्तो गभर्नर क्लिकमान्डुको विशेष श्रृंखला हेर्न यहाँ क्लिक गर्नुस् ।
प्रतिक्रिया