
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूलाई धैर्यपूर्वक संघर्षलाई निरन्तरता दिन अपिल गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले शिक्षकहरूले पटक–पटक वार्ता र सम्झौता गरेका भए पनि धोका मात्रै पाएको बताए ।
‘शिक्षक साथीहरूले अनेकपटक आन्दोलन गर्नुभयो, सम्झौता गर्नुभयो, तर बारम्बार धोका भयो,’ प्रचण्डले भने, ‘अब फेरि त्यस्तै अवस्था नआओस् भन्ने जिम्मेवारी हाम्रो सबैको हो। म शिक्षकहरूलाई धैर्यका साथ आन्दोलनलाई निरन्तरता दिन आग्रह गर्न चाहन्छु ।’
प्रचण्ड प्रधानमन्त्री भएको बेला २०८० सालमा आन्दोलनमा उत्रिएका शिक्षकसँग ६ बुँदे सहमति भएको थियो । तर प्रचण्ड सरकारले शिक्षकसँग गरेको सहमति कार्यान्वयन नगर्दा फेरि शिक्षक आन्दोलित बनेका छन् । उनै प्रचण्डले शिक्षकहरुलाई सरकारले पटक पटक धोका भएको भन्दै आन्दोलनबाट पछि नहट्न उक्साएका छन् ।
गत चैत २० गतेदेखि काठमाडौंमा शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनमा छन्। यद्यपि, सरकारसँग पटक–पटक भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
प्रचण्डले शिक्षामन्त्री विद्या भट्टराईले पदबाट दिएको राजीनामालाई सरकारले देखाएको गैरजिम्मेवारी भएको टिप्पणीसमेत गरे । उनले सरकार आफ्नै बोझ थेग्न नसक्ने अवस्थामा पुगेको बताए ।










प्रतिक्रिया