स्विट्जरल्यान्डलाई बिर्साउने ‘पूर्व-पश्चिम हिमाली पर्यटकीय राजमार्ग’ बन्दै

10.6k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले परिकल्पना गरेजस्तै हिमाली भेगका १६ जिल्लाको पर्यटकीय स्थललाई जोड्दै महत्वकांक्षी पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्ग बन्ने भएको छ ।

चुनावी प्रचार प्रचारको क्रममा गत् फागुन ६ गते धनगढी पुगेका शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी कार्यक्रम ‘उद्घोष सभा’ लाई सम्बोधन गर्दै युरोपलाई बिर्साउने गरी हिमाली भेगका पर्यटकीय स्थल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने बताएका थिए ।

‘हामी स्विट्जरल्याण्ड वा युरोपका पहाड र चौरहरूको कुरा गर्छौं, तर बाजुराको बडिमालिका पुग्नुभयो भने त्यो दृश्यले युरोपलाई पनि बिर्साउँछ । त्यो ठाउँ संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने क्षमता राख्छ,’ उनले बडिमालिकाको सुन्दरता र त्यहाँको सम्भावनालाई युरोपका देशहरूसँग तुलना गर्दै भनेका थिए,‘बडिमालिका जस्ता ठाउँहरूको उचित ब्रान्डिङ हुन सकेको छैन । त्यहाँ पुग्न सजिलो सडक वा पूर्वाधार छैन । यदि हामीले यस्ता ठाउँलाई चिन्न र चिनाउन सक्यौं भने नेपालको आर्थिक अवस्था नै परिवर्तन हुन सक्छ ।’

चुनावी कार्यक्रमकै क्रममा उनी ताप्लेजुङको पाथिभरा मन्दिरसमेत पुगेका थिए । पूर्वदेखि पश्चिमसम्मका हिमाली जिल्लाको पर्यटकीय स्थललाई जोड्ने गरी हालसम्म सुविधा सम्पन्न सडक खण्ड नभएकाले प्राकृतिक रुपमा युरोप र स्वीजरल्याण्डभन्दा धनी रहेको नेपालको पर्यटकीय स्थलहरु ओझेलमा परेको उनको कथन थियो ।

बालेनले भौतिक पूर्वाधार र विकासका हिसाबले सुदूरपश्चिम पनि काठमाडौंसँग नजोडिएको बताएका थिए । उनले स्थानीय धेरै सडक तथा विकास आयोजना वर्षौंसम्म अलपत्र परेको उल्लेख गरेका थिए ।

नेपाल आफैंमा धनी रहेको भन्दै उनले बडिमालिका मन्दिर, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्ज जस्ता स्थलहरूको उदाहरण दिएका थिए । नेपालमै प्राकृतिक रुपमा आकर्षित पर्यटकीय स्थलहरु हुँदाहुँदै स्वीजरल्याण्डको कुरा किन गर्ने भनेर प्रतिप्रश्न समेत गरेका थिए ।

सुविधा सम्पन्न पूर्वाधारको अभावमा ओझेलमा परेको हिमाली जिल्लाको पर्यटकीय स्थललाई एउटै सडक खण्डमा जोड्ने गरी सडक निर्माणको पक्षमा उभिएका बालेन्द्र शाह अहिले प्रधानमन्त्री भएका छन् ।

प्रधानमन्त्री भएलगत्तै आएको आगामी आर्थिक वर्षको बजेटमा उनले प्राथमिकतामा राखेर १६ वटा हिमाली जिल्लाको पर्यटकीय तथा धार्मिक स्थललाई जोडेर उनले दुई लेनको नयाँ सडक सञ्जाल ओछ्याउने अवधारणा अघि सारेका छन् ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार १६ वटा हिमाली जिल्लाको पर्यटकीय तथा धार्मिक स्थललाई एक आपसमा जोड्ने गरी पहिलो पटक यो अवधारणा ल्याइएको हो ।

मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार मन्त्रालयको रेड बुकमा रणनैतिक सडक पुलहरुको विस्तृत सम्भाव्यता अध्ययन कार्यक्रमअन्तर्गत अपिनाम्पा (दार्चुला) – साइपाल (बझाङ) – बडिमालिका (बाजुरा) – सलीसल्ला (हुम्ला) – दोमुख (मुगु) – गमगढी (मुगु) – रारा (मुगु) – घुचिलेक (जुम्ला) – जुम्ला –गुठिचौर (जुम्ला) – जुफाल (डोल्पा) – दुनै (डोल्पा) – तिन्जे (डोल्पा) – कागबेनी (मुस्ताङ) – मुक्तिनाथ (मुस्ताङ) – थोरंगला (मनाङ) – चामे (मनाङ) – सानागाउ (गोरखा) – धुन्चे रसुवा – लाङटाङ (रसुवा) – हेलम्बु (सिन्धुपाल्चोक) – मेलम्ची (सिन्धुपाल्चोक) – चौतारा (सिन्धुपाल्चोक) – बाह्रविसे (सिन्धुपाल्चोक) – कालिन्चोक (दोलखा) – जिरी (दोलखा) – लुक्ला (सोलुखुम्बु) – नुम (संखुवासभा) – पाथिभरा (ताप्लेजुङ) जोड्ने गरी दुई लेनको सडक निर्माण गर्ने योजना अघि बढाइएको छ ।

हालको सडक खण्ड वन वे कच्चि छ । कतै ट्रयाक खोलिएको छ भने कतै ट्रयाक खोल्न बाँकी छ । आगामी आर्थिक वर्षमा यसलाई अध्ययन गरी उच्च हिमाली भेगका पर्यटकीय र धार्मिक स्थललाई एउटै सडक खण्डमा गाभ्ने गरी दुई लेनमा विस्तार गर्ने लक्ष्य राखिएको पोखरेलले जानकारी दिए ।

‘पूर्व–पश्चिमका १६ वटा हिमाली जिल्लाको पर्यटकीय र धार्मिक स्थललाई जोड्ने गरी दुई लेनको सडक पूर्वाधार निर्माण गर्ने उद्देश्यले अध्ययन गर्नको लागि आगामी आर्थिक वर्षको बजेटमार्फत बजेट बिनियोजन भएको छ,’ पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले भने,‘यो नयाँ पूर्वाधार योजना हो, यो योजना कार्यान्वयनमा आयो भने उक्त क्षेत्रको पर्यटकीय स्थलको विकास हुनुका साथै ठूलो परिमाणमा आर्थिक गतिविधीसमेत सञ्चालनमा आउन सक्छ ।’

यो सडक खण्ड निर्माण गर्नको लागि आगामी आर्थिक वर्षमा अध्ययन गर्न सरकारले ४ करोड १९ लाख ५२ हजार रुपैयाँ बिनियोजन गरेको छ ।

के छ विद्यमान अवस्था ?

अपिनाम्पा (दार्चुला) देखि पाथिभरा (ताप्लेजुङ) सम्मको रुट नेपालको ‘हिमाली लोकमार्ग’ (हिमालयन हाइवे) को अवधारणासँग मिल्दोजुल्दो छ । यो नेपालको सुदूरपश्चिमदेखि पूर्वसम्मका हिमाली जिल्लाहरूलाई जोड्ने एउटा महत्वाकांक्षी योजना भएको मन्त्रालयको भनाई छ ।

यद्यपि, वास्तविकतामा यी सबै ठाउँहरू अहिले एउटै सडक सञ्जालले जोडिएका छैनन् । धेरै खण्डहरूमा अझै पनि सडक पुग्न सकेको छैन भने कतिपय ठाउँमा ट्रेकिङ रुट मात्र छन् ।

सुदूरपश्चिम खण्ड (दार्चुला – बझाङ – बाजुरा) खण्डमा सिधा सडक सम्पर्क छैन । यो क्षेत्र अत्यन्तै विकट छ । हाल यो क्षेत्रमा केवल पदमार्ग (ट्रेकिङ ट्रेल) मात्र छ । यस्तै बडिमालिका (बाजुरा) मा पनि सडक पुगेको छैन । बडिमालिका जान बाजुराको सदरमुकाम मार्तडीबाट हिँडेर जानुपर्छ । बाजुराको मार्तडीसम्म भने सडक पुगेको छ ।

यस्तै कर्णाली खण्ड (हुम्ला – मुगु – जुम्ला – डोल्पा) खण्ड अर्थात ‘कर्णाली कोरिडोर’ अन्तर्गत सलीसल्लासम्म सडक पु¥याउने काम भइरहेको छ । गमगढी (मुगु) सम्म नाग्म–गमगढी सडकले छोएको छ, तर यो कच्ची र र निक्कै कठिन पूर्ण बाटो छ । त्यस्तै रारा (मुगु) – जुम्लासम्म कच्ची सडक छ ।

अर्कोतर्फ जुम्लादेखि डोल्पा जोड्ने सडक निर्माणाधीन अवसथमा छ भने अहिले जुम्लाबाट दान सागुसम्म सडक छ, तर डोल्पाको जुफाल÷दुनै पुग्न मुगु वा जाजरकोट भएर जानुपर्ने बाध्यता छ । भेरी कोरिडोरले डोल्पाको दुनैलाई जोडेको छ । दुनै – तिन्जे (माथिल्लो डोल्पा) खण्डमा सडक छैन । यो क्षेत्रमा चीनको सिमानासँग जोड्ने सडक खन्ने काम भइरहे पनि तिन्जे पुग्न निकै कठिन छ ।

उता गण्डकी र धौलागिरी खण्ड (मुस्ताङ – मनाङ – गोरखा) खण्डको तिन्जे (डोल्पा) – कागबेनी (मुस्ताङ) खण्डमा कुनै पनि प्रकारको सडक छैनन् । यो उच्च हिमाली पदमार्ग हो जहाँ ५ हजार मिटरभन्दा माथिका पासहरू पार गर्नुपर्छ । अर्कोतर्फ कागबेनी – मुक्तिनाथ खण्डमा अहिले पक्की सडक छ र यातायात सुविधा पनि सहज छन् ।

दुई हिमाल वा पहाडबीचको बाटो अर्थात दुईवटा अग्ला पहाड वा हिमालका चुचुराहरूबीचको सबैभन्दा होचो भाग, जहाँबाट मानिसहरू वा सवारी साधनले हिमाल पार गरेर अर्कोतर्फ जान सक्छन्, त्यसैलाई ‘पास’ भनिन्छ । पासलाई नेपाली भाषामा ‘भञ्ज्याङ’, ‘देउराली’ वा हिमाली भाषामा ‘ला’ पनि भन्ने चलन छ ।

मुक्तिनाथ – थोरंगला (मनाङ) – चामे (मनाङ) खण्डमा थोरंगला पास (५,४१६ मिटर) मा सडक बनाउन भौगोलिक रूपमा असम्भव जस्तै छ । यो विश्वप्रसिद्ध अन्नपूर्ण सर्किट ट्रेकिङ रुट हो । मनाङको चामेदेखि बेसीशहरसम्म भने कच्ची सडक छ ।

चामे – सानागाउँ (गोरखा) खण्डमा चामेबाट गोरखाको सानागाउँ (मनास्लु क्षेत्र) जान लार्के पास पार गर्नुपर्छ । यहाँ पनि सडक छैन, केवल ट्रेकिङ रुट मात्रै छ । यस्तै बागमती खण्ड (रसुवा – सिन्धुपाल्चोक – दोलखा) खण्डमा लाङटाङः धुन्चेसम्म सडक छ, तर लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पदमार्ग मात्र छ । लाङटाङ – हेलम्बु (सिन्धुपाल्चोक) खण्डमा ‘गन्जा–ला पास’ पर्छ । यहाँ सडक छैन ।

यसैगरी हेलम्बु – मेलम्ची – चौतारा – बाह्रविसे खण्ड ग्रामीण सडक सञ्जालले जोडिएका छन् । मेलम्चीदेखि चौतारा र बाह्रविसे जान काठमाडौं–कोदारी राजमार्ग वा मध्यपहाडी लोकमार्गको प्रयोग गर्नुपर्छ । उता बाह्रविसे – कालिन्चोक – जिरी (दोलखा) खण्डको बाह्रविसेबाट चरिकोट हुँदै कालिन्चोक र जिरीसम्म सडक सुविधा छ । अहिलेको अवस्थामा यो खण्ड तुलनात्मक रूपमा सुगम मानिएको छ ।

त्यस्तै पूर्वी क्षेत्र (सोलुखुम्बु – संखुवासभा – ताप्लेजुङ) खण्डमा जिरीबाट लुक्लासम्म सिधा सडक छैनन् । सडक अहिले सोलुखुम्बुको थामडाँडासम्म पुगेको छ, लुक्ला पुग्न अझै केही समय लाग्नेछ । लुक्ला – नुम (संखुवासभा) खण्डमा ठूला हिमाल र मकालु बरुण राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सडक छैन । नुम (संखुवासभा) सम्म भने खाँदबारीबाट अरुण कोरिडोर सडक पुगेको छ ।

नुम – पाथिभरा (ताप्लेजुङ) खण्डमा संखुवासभा र ताप्लेजुङ जोड्ने सिधा हिमाली सडक छैनन् । पाथिभरा जान ताप्लेजुङको सदरमुकाम फुङलिङ हुँदै माथिल्लो फेदीसम्म सडक पुगेको छ ।

पूर्वाधार विज्ञहरुका अनुसार यो रुट पूर्ण रूपमा सडकले जोडिन अझै वर्षौं लाग्न सक्छ । उच्च हिमाली क्षेत्रको भूगोल र वातावरणीय संवेदनशीलताका कारण सडक निर्माण निकै चुनौतीपूर्ण छ ।

उत्तर दक्षिण पर्यटकीय राजमार्ग चार लेनको बन्ने, ६ राजमार्ग अध्ययन गर्न १६ करोड बजेट छुट्टयाइयो

सरकारले आगामी आर्थिक वर्षमा उत्तर–दक्षिण पर्यटकीय राजमार्गलाई प्राथमिकतामा राखेर चार लेनमा बिस्तार गर्ने योजना अघि बढाएको छ ।

पूर्वाधार विकास मन्त्रालयको रेड बुकअनुसार उत्तर–दक्षिण पर्यटकीय राजमार्गअन्तर्गत ६ वटा राजमार्गलाई हालको सडकबाट स्तरोन्नती गरी चारलेनमा बिस्तार गर्न आवश्यक पर्ने अध्ययनका लागि आगामी आर्थिक वर्षमा प्राथमिकतामा राखेर १६ करोड ३४ लाख ५० हजार रुपैयाँ छुट्टयाइएको हो ।

रेड बुकमा उल्लेख भएअनुसार उत्तर–दक्षिण पर्यटकीय राजमार्गको पहिलो खण्डअन्तर्गत रानी–बिराटनगर–इटहरी–धरान–भेडेटार–धनकुट्टा–हिले –लेगुवा–खाँदवारी–नुम–फाक्सिन्दा दोभान–गोला–बरुण–हुङहुङ–किमाथांकाको हालको सडक सञ्जाललाई चार लेनमा बिस्तार गर्न अध्ययन गरिनेछ । यसको लागि २ करोड ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

यस्तै दोश्रो खण्डअन्तर्गत बीरगञ्ज–पथलैंया–निजगढ–फास्टट्रयाक–काठमाडौं–टोखा–छहरे–त्रिशुली–स्याफ्रुबेशी–रसुवागढीको हालको सडक सञ्जाललाई पनि चार लेनमा बिस्तार गर्न अध्ययन गरिनेछ । यसका लाग पनि २ करोड २४ लाख रुपैयाँ बिनियोजन भएको छ ।

तेश्रो खण्डअन्तर्गत भैरहवा–बुटवल–पाल्पा–पोखरा–बेनी–जोमसोम–कोरला सडक सञ्जाललाई पनि चार लेनमा बिस्तार गर्न आवश्यक पर्ने अध्ययनको लागि २ करोड २४ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै चौथो खण्डअन्तर्गत कोइलाबास –लमही–घोराही–होलेरी–घर्तिगाउ–थवाङ्ग–महत–दुमै–काक्री–तकसेरा–दिर्जुम–हुकाम–मैकोट–शहरतारा–डोल्पाको हालको सडक सञ्जाललाई पनि चार लेनमा विस्तार गर्न आवश्यक पर्ने अध्ययनको लागि २ करोड ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

उत्तर–दक्षिण पर्यटकीय राजमार्गको पाँचौ खण्डअन्तर्गत जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–सलीसल्ला–हिल्सा–सिमकोटको बिद्यमान सडक सञ्जाल पनि चार लेनमा बिस्तार हुने भएको छ ।

यसको लागि पनि २ करोड ८० लाख र छैठौं खण्डअन्तर्गत गौरीफन्टा –मोहनापुल – अत्तरिया – सिलगढी – साफे – मार्तडी–सुतापाटन –बडिमालिकाको बिद्यमान सडक सञ्जाल पनि चार लेनमा बिस्तार हुनेछ । यसको लागि आवश्यक पर्ने अध्ययनको लागि ३ करोड ४६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।