म विरुद्धको मुद्दा रेस्टुरेन्ट किन्दाको नभई ४ लाख ५० हजारको चेकको हो: सेफ साह


काठमाडौं । मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार साहले आफूविरुद्धको मुद्दा २ करोड २५ लाख रुपैयाँको रेस्टुरेन्ट खरिद विवाद नभई ४ लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित रहेको बताएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा उनलाई शुक्रबार जनकपुरबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार गौरीधारास्थित रेस्टुरेन्ट खरिद गर्दा सहमति अनुसारको रकम नतिरेको र केही चेक सटही नभएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

साहले पक्राउ प्रक्रिया, सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र आफूलाई ‘फ्रेम’ गरिएको भन्दै असन्तुष्टि जनाउँदै भिडियो क्लिपलाई लिएर आपत्ति जनाएका छन् ।

उनले करिब तीन घण्टाको छलफलको क्रममा अर्को पक्षले दुर्व्यवहार गरेको र आफूमाथि थुकेको आरोप लगाउँदै आफ्नो आक्रोश देखिएको केही सेकेन्ड मात्र काटेर सार्वजनिक गरिएको दाबी गरे ।