व्यापारमा संघर्ष गरिरहेको पिज्जा हट बिक्रीमा, मूल्य २.७ अर्ब डलर


एजेन्सी । समस्यामा रहेको पिज्जा हट रेस्टुरेन्ट चेनलाई यसको माउ कम्पनी यम ब्रान्ड्सले २.७ अर्ब डलरमा बिक्री गर्ने भएको छ ।

यम ब्रान्ड्सले गत फेब्रुअरीमा आफूले पिज्जा हट बिक्री गर्नेबारे विचार गरिरहेको र अमेरिकामा रहेका २५० वटा रेस्टुरेन्टहरू बन्द गर्ने तयारीमा रहेको बताएको थियो । यो पिज्जा चेन पुराना आउटलेटहरू र बढ्दो प्रतिस्पर्धाका कारण समस्यामा परेको छ ।

पिज्जा हटको स्थापना सन् १९५८ मा अमेरिकाको क्यान्सासस्थित विचिटामा भएको थियो । पेप्सिकोले सन् १९७७ मा यसलाई खरिद गरेको थियो । तर, उसले सन् १९९७ मा आफ्नो रेस्टुरेन्ट विभागलाई अलग गर्यो र त्यो पछि यम ब्रान्ड्स बन्यो ।

निजी इक्विटी फर्म लङरेन्ज क्यापिटलले मुख्यभूमि चीनको व्यवसाय बाहेक पिज्जा हटलाई करिब १.५ अर्ब डलरमा खरिद गर्न लागेको कम्पनीले मंगलबार जानकारी दिएको छ । मुख्यभूमि चीनको पिज्जा हट व्यवसाय भने यम चाइना होल्डिङ्स इंकले करिब १.२ अर्ब डलरमा खरिद गर्नेछ ।

‘लङरेन्ज र यम चाइनाको मातहतमा पिज्जा हट भविष्यको वृद्धिका लागि राम्रो अवस्थामा रहनेछ किनकि यसको स्वामित्वले रेस्टुरेन्ट उद्योगमा गहिरो विज्ञता ल्याउनेछ,’ यम ब्रान्ड्सका सीईओ क्रिस टर्नरले एक विज्ञप्तिमा भने ।

केएफसी र ट्याको बेल जस्ता अन्य ब्रान्डहरू पनि रहेको यम ब्रान्ड्सले स्टोरहरूमा बिक्री घट्दै गएपछि नोभेम्बरदेखि नै पिज्जा हटको विकल्प खोज्न रणनीतिक समीक्षा सुरु गरेको थियो ।

ग्लोबलडेटाका प्रबन्ध निर्देशक निल साउन्डर्सले एक विज्ञप्तिमा भने, ‘पिज्जा हट लामो समयदेखि यमको पोर्टफोलियोमा एक कमजोर कडीको रूपमा रहेको थियो । ब्रान्डलाई सुधार गर्ने र कमजोर प्रदर्शन गरिरहेका शाखाहरू बन्द गर्ने प्रयासका बावजुद यस विभागलाई पुनः वृद्धिको बाटोमा लैजानका लागि आवश्यक लगानी र धैर्य यम ब्रान्ड्ससँग नभएको स्पष्ट भएको छ ।’

पिज्जा हट बिक्री गरेर यम ब्रान्ड्सले अब राम्रो बिक्री भइरहेका आफ्ना अन्य ब्रान्डहरूमा बढी ध्यान केन्द्रित गर्न सक्ने उनले थपे ।

अमेरिकाको केन्टकीस्थित लुइसभिलमा मुख्यालय रहेको यम ब्रान्ड्सले दुवै कारोबार तेस्रो त्रैमासिकसम्ममा सम्पन्न हुने अपेक्षा गरेको छ । बजार खुल्नुअघि कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको थियो ।