
एजेन्सी । इलोन मस्कको कृत्रिम बौद्धिकता (एआई) उपकरण ग्रोक इरानविरुद्धका आक्रमणहरूमा प्रयोग गरिएको अमेरिकी सरकारले खुलासा गरेको छ ।
एएफपीले प्राप्त गरेको जुन १५ को उक्त प्रतिवेदनले ट्रिलियनेयर मस्कको कम्पनी एक्सएआईको स्वामित्वमा रहेको विशाल डेटा सेन्टरमा प्रयोग गरिएका ग्यास टर्बाइनहरूको प्रतिरक्षा गरेको छ । ती हाल वातावरणीय मुद्दाको घेरामा रहेका छन् ।
यस मुद्दाले रक्षा मन्त्रालयको सैन्य कारबाहीलाई सहयोग गर्ने आर्टिफिसियल इन्टेलिजेन्स आविष्कारका लागि हुने बिजुली आपूर्ति बन्द गर्न खोजेर अमेरिकी राष्ट्रिय, आर्थिक र ऊर्जा सुरक्षामा खतरा पैदा गरेको उक्त प्रतिवेदनमा अमेरिकी न्याय मन्त्रालयले तर्क गरेको छ ।
उक्त तर्कलाई पुष्टि गर्न संघीय अभियोजकहरूले पेन्टागनका एआई प्रमुख क्यामरन स्ट्यान्लीको बयान पेश गरेका थिए जसमा उनले शपथ लिँदै ग्रोक पहिले नै प्रोजेक्ट माभेनमा प्रयोग भइरहेको बताएका छन् । यो अमेरिकी सेनाको एआई–सहायता प्राप्त निशाना लगाउने कार्यक्रम हो जुन सुरुमा एन्थ्रोपिकको क्लाउड मोडलद्वारा सञ्चालित थियो ।
उक्त परियोजनाको माभेन स्मार्ट सिस्टम्सले अपरेशन एपिक फ्युरीको क्रममा ९६ घण्टाभित्र २ हजार भिन्न निशानाहरूमा २ हजारभन्दा बढी गोलाबारुद तैनाथ गर्न अमेरिकी सेनालाई सक्षम बनाएको स्ट्यान्लीको बयानमा उल्लेख छ ।
स्ट्यान्लीले मस्कको प्रविधि र ग्रोक गभ मोडलले सम्भव बनाएको उल्लेख्य रूपमा वृद्धि भएको परिचालन दक्षताको प्रशंसा गरे ।
अश्वेत अमेरिकीहरूको अधिकारका लागि काम गर्ने नागरिक अधिकार संस्था एनएएसीपीले क्लिन एयर एक्ट उल्लंघन गर्दै अनुमति बिना दर्जनौं टर्बाइनहरू सञ्चालन गरेको आरोपमा एक्सएआई विरुद्ध मुद्दा दायर गरेको छ ।
उक्त अधिकारवादी समूहले ती टर्बाइनहरूले अश्वेत बाहुल्य रहेका छिमेकी बस्तीहरू प्रदूषित गरिरहेको बताएको छ तर एक्सएआईले भने टर्बाइनहरू अस्थायी र चलायमान भएकाले ती नियमनको दायरामा नपर्ने बताएको छ ।
फेब्रुअरीको अन्त्यमा एन्थ्रोपिकले आफ्ना उपकरणहरू पूर्ण रूपमा स्वचालित आक्रमण वा अमेरिकीहरूको सामूहिक निगरानीका लागि प्रयोग गर्न दिन अस्वीकार गरेपछि सरकारले उक्त कम्पनीसँगको सम्झौता रद्द गरेको थियो ।
त्यसपछि पेन्टागनले एआईको विकास र प्रयोगलाई निरन्तरता दिन एन्थ्रोपिकका प्रतिस्पर्धीहरू गुगल, ओपन एआई र एक्सएआईतर्फ ध्यान केन्द्रित गर्यो ।
गुगलका ६०० भन्दा बढी कर्मचारीहरूले कम्पनीलाई सैन्य प्रयोजनका गोप्य कार्यहरूका लागि एआई उपलब्ध नगराउन माग गरेका थिए । अन्यले एआईका खतराहरूबारे व्यापक चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी सेनाको एआईतर्फको संक्रमणले समय लिइरहेको छ र मार्चमा सरकारले इरानसँगको युद्धमा क्लाउड अझै प्रयोग भइरहेको कुरा स्वीकार गर्नुपरेको थियो ।
राष्ट्रपति डोनल्ड ट्रम्पका निकट सहयोगी मस्कले फेब्रुअरीमा एक्सआईलाई आफ्नो अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्समा गाभेका थिए जसले जुन १२ मा इतिहासकै सबैभन्दा ठूलो आईपीओ जारी गरेको थियो ।








प्रतिक्रिया