
एजेन्सी । गुगलले आधिकारिक रूपमा आफ्नो नयाँ अपरेटिङ सिस्टम ‘एन्ड्रोइड १७’ सार्वजनिक गरेको छ ।
यस पटकको अपडेटमा गुगलले विशेष गरी मल्टिटास्किङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित ‘जेमिनाई’का नयाँ सुविधाहरूलाई प्राथमिकता दिएको छ ।
प्रयोगकर्ताको सहजता र कार्यक्षमता वृद्धि गर्ने उद्देश्यका साथ ल्याइएको यो नयाँ संस्करणले स्मार्टफोन अनुभवलाई थप आधुनिक, स्मार्ट र उत्पादनमुखी बनाउने अपेक्षा गरिएको छ ।
एन्ड्रोइड १७ को सबैभन्दा ठूलो विशेषता यसमा थपिएको ‘डेस्कटप विन्डोइङ’सुविधा हो । यसले गर्दा अब प्रयोगकर्ताले स्मार्टफोन वा ट्याब्लेटमा कम्प्युटरमा जस्तै ‘फ्री-फर्म विन्डो’ मा एपहरू चलाउन सक्नेछन् ।
प्रयोगकर्ताले एपको साइज आफैँ सानो-ठूलो बनाउन, स्क्रिनमा जहाँ पनि सार्न र एकैसाथ धेरै एपहरूमा काम गर्न सक्नेछन् । परिष्कृत ‘स्प्लिट-स्क्रिन’ सुविधाहरूले गर्दा विशेष गरी ठूला स्क्रिन भएका ट्याब्लेट र फोल्डिङ फोन प्रयोगकर्ताहरूलाई व्यावसायिक कामहरू गर्न पहिलेभन्दा निकै छिटो र प्रभावकारी हुनेछ ।
यस अपडेटको अर्को मुख्य आकर्षण भनेको गुगलको एआई टुल ‘जेमिनाई’ को अभूतपूर्व विस्तार हो ।
‘जेमिनाई न्यानो’ मार्फत अब धेरैजसो एआई कार्यहरू इन्टरनेट बिना नै डिभाइसभित्रै सम्पन्न हुनेछन् । यसले गर्दा प्रयोगकर्ताको डेटा क्लाउडमा नपठाईकनै एआईले छिटो काम गर्नेछ र गोपनीयता अझ सुरक्षित रहनेछ ।
जेमिनाईले प्रयोगकर्ताको बानी बुझेर सन्दर्भ अनुसारको स्मार्ट सुझावहरू दिने, इमेल वा मेसेजको मस्यौदा तयार पारिदिने र फोटो तथा भिडियो सम्पादनमा व्यावसायिकस्तरको नतिजा निकाल्न मद्दत गर्नेछ ।
सुरक्षा र कार्यक्षमताका हिसाबले पनि एन्ड्रोइड १७ लाई थप मजबुत बनाइएको छ । यसमा नयाँ ‘स्याटेलाइट कनेक्टिभिटी’ सुविधा थपिएको छ, जसले मोबाइल नेटवर्क नभएको दुर्गम ठाउँमा पनि आपतकालीन सन्देश पठाउन सहयोग पुर्याउनेछ ।
साथै, एआईमा आधारित ब्याट्री व्यवस्थापन प्रणालीले डिभाइसको ऊर्जा खपतलाई कम गरी ब्याट्रीको आयुलाई लम्ब्याउने बताइएको छ ।
गुगलका अनुसार, नयाँ सफ्टवेयर सुरूमा पिक्सेल उपकरणहरूमा उपलब्ध हुनेछ र बिस्तारै अन्य एन्ड्रोइड स्मार्टफोन ब्रान्डहरूमा पनि यसको अपडेट पठाइनेछ ।








प्रतिक्रिया