
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाह आइतबार चितवन आइपुगेका छन् ।
महाधिवेशनको उद्घाटन र बन्दसत्रमा सहभागी हुन उनी श्रीमती र छोरीसहित चितवन आएका हुन् ।
चितवन बसाईका क्रममा प्रधानमन्त्री शाह कालिका नगरपालिका–९ शक्तिखोरस्थित नवनिर्मित पाँचतारे ‘लटौली स्याङ्चुअरी रिसोर्ट’ मा बस्ने व्यवस्था मिलाइएको छ ।
उद्घाटनका लागि चितवन आएका शाह सपरिवारसहित शक्तिखोरस्थित लटौली रिसोर्टमा पुगेका छन् ।
प्रधानमन्त्रीको टोलीका लागि उक्त रिसोर्ट असार ६ गतेदेखि ११ गतेसम्मका लागि पूर्ण रूपमा बुक गरिएको छ ।
यस्तो छ प्रधानमन्त्री बस्ने रिसोर्ट र खर्च
गत वैशाखदेखि मात्र सञ्चालनमा आएको लटौली रिसोर्टमा कूल १६ वटा कोठा रहेका छन् ।
स्रोतका अनुसार तीमध्ये १३ वटा कोठामा पाहुनाहरू बस्नेछन् भने बाँकी ३ वटा कोठा आवश्यकताअनुसार प्रयोग गरिनेछ ।
रिसोर्टको वेबसाइटका अनुसार यहाँको एउटा सुइट रुमको मूल्य एक रातको झन्डै २२५ डलर (करिब ३३ हजार नेपाली रुपैयाँ) सम्म पर्छ भने सबैभन्दा सस्तो कोठाको मूल्य प्रतिदिन १९ हजार ५ सय रुपैयाँ रहेको छ ।
प्रधानमन्त्रीको टोलीका लागि लटौलीका साथै सोही कम्पनीले सञ्चालन गरेको नजिकैको ‘भ्युरानकोट रिसोर्ट’ का थप १४ वटा कोठा पनि बुक गरिएको छ । महाधिवेशन स्थलबाट झन्डै २० किलोमिटर उत्तर–पूर्वमा अवस्थित यो रिसोर्ट क्षेत्र निकै शान्त र आकर्षक मानिन्छ ।
प्रधानमन्त्रीको सुरक्षाका लागि शनिबारदेखि नै नेपाली सेना र नेपाल प्रहरीको टोली रिसोर्टमा परिचालन गरिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै रिसोर्टको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।
सुरक्षा र गोपनीयता कायम राख्न रिसोर्टका सबै सीसीक्यामेराहरू बन्द गरिएको छ । रिसोर्टमा कार्यरत झन्डै ४५ जना कर्मचारीमध्ये अधिकांशलाई ४ दिनका लागि बिदा दिइएको छ भने किचन र हाउसकिपिङमा गरी सीमित कर्मचारी मात्रै राखिएको छ । कार्यरत कर्मचारीहरूलाई पनि फोटो र भिडियो खिच्न सख्त मनाही गरिएको छ भने कार्यस्थलमा मोबाइल फोन समेत लैजान रोक लगाइएको छ ।
रिसोर्टमा प्रधानमन्त्री बालेन शाहको साथमा गृहमन्त्री सुदन गुरुङ, रास्वपा महामन्त्री भुपदेव शाह, नेता सुनिल लम्साललगायत बालेन पक्षका शीर्ष नेताहरू बस्ने बताइएको छ ।






प्रतिक्रिया