स्विट्जरल्यान्डमा अमेरिका र इरानका प्रतिनिधिहरूबीच वार्ता हुँदै


एजेन्सी । इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि गरिएको कमजोर अन्तरिम सम्झौतालाई अगाडि बढाउने उद्देश्यले स्विट्जरल्याण्डमा आइतबारदेखि वार्ता सुरु हुँदैछ ।

यो वार्ता लेबननमा जारी लडाइँ रोक्न इजरायललाई दबाब दिन डोनल्ड ट्रम्प असमर्थ भएको भन्दै विरोधस्वरूप हर्मुज जलयोजक बन्द राख्ने इरानको निर्णय लगायतका विभिन्न कठिनाइहरूले घेरिएको छ ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका उपराष्ट्रपति जेडी भ्यान्सले लेबननको मुद्दालाई पनि कार्यसूचीमा थपिएको बताएका छन् । सुरुमा यो वार्ता जलयोजक खोल्ने, इरानी तेल निर्यातमाथिको अमेरिकी प्रतिबन्ध हटाउने र विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने विषयमा केन्द्रित हुने गरी तय गरिएको थियो ।

महिनौं लामो द्वन्द्व सुरु भएयता दोस्रोपटक इरानी वार्ताकारहरूसँग भेट्न भ्यान्स आइतबार बिहानै बुर्गेनस्टकस्थित कतारी स्वामित्वको स्विट्जरल्यान्डको एक पहाडी रिसोर्टमा आइपुगेका छन् । उनले यसअघि नै इस्लामाबादमा इरानीहरूसँग प्रत्यक्ष वार्ता गरिसकेका छन् ।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका छन् तर उप–तेल मन्त्री र इरानको केन्द्रीय बैंकका गभर्नरको उपस्थितिले इरान प्रतिबन्धहरू हटाउने शर्तहरूमा बढी केन्द्रित हुन चाहेको देखाउँछ ।

गत साता प्रकाशित समझदारी पत्रको पहिलो बुँदामा लेबनन लगायत सबै मोर्चाहरूमा युद्धविरामको आवश्यकता उल्लेख गरिएको छ जहाँ इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच लडाइँ चर्किंदै गएको छ ।

भ्यान्सले भने, ‘मलाई लाग्छ, हामीले आणविक मुद्दा र लेबनन युद्धविरामको मुद्दामा प्रगति गर्नेछौं । मलाई लाग्छ, हामीले ध्यान केन्द्रित गर्नुपर्ने यी दुई ठूला कुरा हुन् ।’ उनले आफू एक वा दुई दिनका लागि मात्र वार्तामा सहभागी हुन सक्ने बताए ।

स्विट्जरल्यान्डको विदेश मन्त्रालयले अमेरिका र इरानी प्रतिनिधिमण्डलका साथै पाकिस्तान र कतारका मध्यस्थकर्ताहरू उक्त विलासी रिसोर्टमा उपस्थित रहेको र आइतबार बिहान अबेरदेखि वार्ता सुरु हुने जनाएको छ ।

हर्मुज जलयोजक बन्द राख्ने इरानी निर्णयको व्यावहारिक प्रभाव परीक्षण हुन बाँकी नै छ तर ट्रम्पले गत साता विश्वमा पर्याप्त प्रशोधित तेल सकिन चार हप्ता मात्र बाँकी रहेको बताएका थिए । उनले इरानी तेल बन्दरगाहहरूमाथिको अमेरिकी नाकाबन्दी हटाएर जलयोजक पुनः खोल्ने सहमति नगरेको भए विश्वव्यापी मन्दी छाउने दाबी गरेका थिए ।

ट्रम्प र भ्यान्सले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि गरेको व्यक्तिगत आक्रमणबाट रुष्ट भएका अमेरिकाका इजरायल समर्थकहरूबाट ट्रम्प चर्को आलोचनाको घेरामा छन् ।

तेहरानमा वार्ताका पक्षधर र अमेरिकालाई विश्वास गर्न नसकिने हुनाले उनीहरूसँग सम्झौता गर्नुको कुनै अर्थ छैन भन्नेहरूबीच तीव्र विवाद भइरहेका बेला इरानी प्रतिनिधिमण्डल स्विट्जरल्यान्ड आइपुगेको हो ।

वार्ताका पुराना आलोचक र इस्लामाबाद गएको प्रतिनिधिमण्डलका सदस्य महमुद नाबाभियानले अहिले भइरहेको वार्ता नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईले सुरुमा स्वीकृत गरेका शर्तहरूभन्दा मौलिक रूपमा फरक रहेको दाबी गरे ।

गत साता खामेनेईले एक पत्र प्रकाशित गर्दै आफू वार्ताको विपक्षमा रहेको तर राष्ट्रपति मसुद पेजेस्कियानको सम्मानका लागि प्रतिरोधको अक्ष (हिजबुल्लाहको सन्दर्भ) को हित सुरक्षित रहँदासम्म वार्तालाई अगाडि बढाउन अनुमति दिएको बताएका थिए ।

सरकारी टेलिभिजनमा नाबाभियानको प्रस्तुतिलाई बीचमै काटियो र उनीविरुद्ध कानुनी कारबाही गरिने घोषणा गरियो । रिपोर्ट अनुसार, सरकारी प्रसारक इरिबका एक वरिष्ठ अधिकारीले राजीनामा दिने भएका छन् । आफ्नो प्रस्तुतिमा नाबाभियानले सर्वोच्च नेताले प्रस्तावित वार्ताको दायरा सीमित गर्न तीनपटक पत्र पठाएको दाबी गरेका थिए ।

उनले दाबी गरेअनुसार, इस्लामाबाद वार्ताको सन्दर्भमा खामेनेईले एउटा पत्रमा लेखेका थिए, ‘वार्तामा जे हासिल भयो, त्यो गर्नुपर्ने भनिएको कुरा र वार्ताको वैधानिकताका लागि राखिएको शर्तभन्दा पूर्ण रूपमा फरक छ ।’

हर्मुज जलयोजकको व्यवस्थापनका बारेमा चर्चा गर्दै नाबाभियानले भने, ‘क्रान्तिका नेताले हर्मुज जलयोजकको व्यवस्थापनमा इरानको एकाधिकार, आवतजावत गर्ने जहाजहरूबाट महसुल संकलन, शत्रु जहाजहरूमा प्रतिबन्ध र उक्त महसुलबाट प्राप्त राजस्व जनता, सहिदका परिवार र पूर्व लडाकुहरूलाई विनियोजन गर्ने कुरामा जोड दिनुभएको छ ।’

इरानी वार्ताकारहरूले सर्वोच्च नेताले तोकेका दिशानिर्देशहरूलाई बेवास्ता गरिरहेका हुन सक्छन् भन्ने दाबी इरानभित्र निकै गम्भीर आरोप मानिनेछ ।

पेजेस्कियानले स्थितिलाई शान्त पार्ने प्रयास गर्दै भने, ‘इरान र अमेरिकाबीच हस्ताक्षर भएको समझदारी पत्रका सबै प्रावधानहरू हाम्रो पक्षमा छन् र यो संवाद तथा वार्ताका उपलब्धिहरू स्पष्ट हुनेछन् ।’

पेजेस्कियानले अमेरिकी राष्ट्रपतिको बोली १८० डिग्रीले परिवर्तन भएको बताए । ‘ट्रम्पले हामीलाई धेरै कुरा गर्न निषेध गरेका थिए । उनले आफ्नो हालैको भाषणमा ती सबै कुरालाई जनता र राष्ट्रको अधिकारका रूपमा स्विकारेका छन् । कतारमा रहेको हाम्रो ६ अर्ब डलर फिर्ता हुनेछ ।’

नेतन्याहू यो वार्ताबाट असन्तुष्ट हुने पहिलो व्यक्ति भएको कुरा औंल्याउँदै उनले थपे, ‘यो संवाद र वार्ताका उपलब्धिहरू प्रकट हुनेछन् । समझदारी पत्रका सबै प्रावधानहरू हाम्रो हितमा छन् ।’

अमेरिकाको एकमात्र माग भनेको ‘हामीसँग आणविक बम नहोस् भन्ने हो । यो त्यस्तो कुरा हो जुन दिवंगत नेताले धेरैपटक भनिसक्नुभएको छः ‘हामी आणविक बम चाहँदैनौं ।’ संयुक्त राज्य अमेरिकाले यो लेख र हस्ताक्षर गर भन्यो र हामीले हस्ताक्षर गर्याैं ।

तर, तेहरानबाट आशंकाहरू कायमै छन् । खामेनेईका सैन्य सल्लाहकार मोहसेन रेजाईले एक्समा लेखेका छन्, ‘शत्रुले आफूलाई वाचा तोड्नेको रूपमा देखाएको छ ।’ उनले थपे, ‘सजग रहनुपर्छ । कुनै पनि प्रकारको आशावादलाई शत्रुले दुरुपयोग गर्नेछ ।’

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्समा सर्वोच्च नेताका प्रतिनिधि हुज्जतुल इस्लाम सादेगीले भने, ‘अहंकार (अमेरिका) सँगको हाम्रो शत्रुता कहिल्यै समाप्त हुने छैन । हामी मेलमिलापका लागि नभई आफ्नो अधिकार प्राप्त गर्न वार्ता गरिरहेका छौं ।’

वाशिङटनले शुक्रबार ढिलो गरी लेबननमा पुनः युद्धविरामको घोषणा गरेको थियो तर भोलिपल्टै इजरायली सेना र हिजबुल्लाह लडाकुहरूबीच पुनः झडप भयो । त्यसमा दुवै पक्षले एकअर्कालाई युद्धविराम तोडेको आरोप लगाए ।

अमेरिकाले सम्झौता उल्लंघनको हवाला दिँदै इरानको केन्द्रीय सैन्य कमान्डले हर्मुज जलयोजक जहाज आवतजावतका लागि बन्द गरिएको बताएको छ ।