गाडीमा एक्सिलेटरसँगै ब्रेक हुन्छ, रास्वपाले हेक्का गरोस्: ज्ञवाली


चितवन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन् ।

आइतबरबाट चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ दलका रूपमा रास्वपाले छोटो समयमा हासिल गरेको उपलब्धिलाई सङ्गठित र व्यवस्थित गर्नुपर्ने बताए ।

ज्ञवालीले राष्ट्रिय राजनीतिमा रास्वपा कहाँनेर उभिनेछ भन्ने प्रश्न सबैको रहेको बताए ।

उनले भने, ‘रास्वपाले कस्तो नीति, सिद्धान्त र कार्यदिशा लिन्छ भन्ने सबैको प्रश्नको विषय बनेको छ ।’

गरीखाने वर्गलाई पनि राज्य चाहिन्छ भन्ने रास्वपाले कार्यदिशा तय गरोस् भन्ने शुभकामना पनि उनले दिएका छन् ।

ज्ञवालीले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गरे । उनले गाडीमा एक्सिलेटरसँगै ब्रेक राखिएको र दुवैको महत्त्वपूर्ण भूमिका हुने बताए ।

‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिन्छ। यदि एक्सिलेटर मात्र थिचियो र ब्रेक थिचिएन भने दुर्घटना हुनसक्छ। रास्वपाले पनि आफ्नो गतिसँगै सन्तुलन (ब्रेक) को ख्याल गरोस्।’