बजेटले धनीलाई हेर्‍यो, साना किसान र गरिबलाई छोएनः अर्थविद् डा. रमेश पौडेल


काठमाडौं । अर्थविद् डा. रमेश पौडेलले यसपालिको बजेटले मध्यम र उपल्लो वर्गलाई पोसेको तर निम्न वर्गलाई चिन्तित बनाएको बताएका छन् । उनले बजेटको कर नीति र अनुदान प्रणालीले गरिब जनतालाई न्याय गर्न नसकेको दाबी गरे ।

उनले चिनियाँ दार्शनिक ग्वान जोङको उखान सुनाउँदै भने, ‘एक वर्षको योजनाका लागि अन्न रोपिन्छ, १० वर्षको योजनाका लागि रुख रोपिन्छ, तर १०० वर्षको योजनाका लागि मान्छे बनाइन्छ ।’ बजेटले मान्छे बनाउने वा नागरिकको दीर्घकालीन हित गर्ने खालको दूरदृष्टि राख्न नसकेको उनले बताए ।

पौडेलले च्याट जीपीटी र जेमिनी जस्ता एआईको प्रयोग गरेर बजेटको विश्लेषण गर्दा पनि उसले बजेटबाट मध्यम र माथिल्लो वर्ग खुसी भएको जवाफ दिएको बताए ।

एआईको जवाद उदृत गर्दै उनले भने, ‘आयकरको थ्रेसहोल्ड १० लाख बनाउनु र उच्च करको स्ल्याब ३९ बाट घटाएर २९ प्रतिशतमा झार्नुले धनी वर्गलाई फाइदा पुगेको तर निम्न वर्गलाई कुनै राहत दिएन ।’

बजेटले २ करोडभन्दा बढी लगानी गर्ने कृषकलाई मात्र अनुदान दिने कुरा ल्याउनु गलत भएको पौडेलले बताए । ‘हाम्रो देशमा साना किसान धेरै छन्, तर बजेटले २ करोड लगानी गर्ने ठालुलाई मात्र हेर्‍यो,’ उनले भने । जीविकोपार्जनका लागि खेती गर्ने साना किसानलाई बजेटले पूरै उपेक्षा गरेको उनको आरोप छ ।

सरकारले बिजुलीमा ५० युनिटसम्म छुट दिएकोमा असन्तुष्टि जनाउँदै उनले यसलाई १०० युनिट बनाउनुपर्ने बताए । यसो गर्दा मात्र न्यून आम्दानी भएका धेरै परिवारले राहत पाउने उनको तर्क छ ।

त्यस्तै, शिक्षामा लगाइएको करबारे बोल्दै उनले महँगो शुल्क लिने स्कुल र सस्तो शुल्क लिने स्कुललाई एउटै बास्केटमा राख्न नहुने बताए । ५ हजारभन्दा बढी शुल्क लिने स्कुललाई मात्र करको दायरामा ल्याएको भए न्यायपूर्ण हुने उनले औँल्याए ।

अहिलेको स्वास्थ्य बिमा प्रणाली निकै कमजोर र झन्झटिलो भएको उनले बताए । ‘बिमा गरेपछि दिनभरि लाइन कुर्नुपर्ने अवस्था छ, यस्तोमा कसले बिमा गर्छ?’ उनले प्रश्न गरे । धेरै टुक्रे कार्यक्रममा पैसा छर्नुभन्दा एउटा निश्चित प्याकेज बनाएर स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।