
म राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम ऐतिहासिक अधिवेशनको मेरो तर्फबाट र हाम्रो पार्टी नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण सफलताको कामना व्यक्त गर्दछु। पार्टी गठन भएको करिब ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन प्राप्त गर्नुभएको छ, यो लोभलाग्दो छ। म यसको मुक्तकण्ठले प्रशंसा गर्दछु।
संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति आदरणीय रवि लामिछाने, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ र तपाईंहरूले जुन साथ दिनुभएको छ, तपाईंहरू सबै बधाईको पात्र हुनुहुन्छ। तपाईंहरू सबैलाई हार्दिक बधाई ज्ञापन गर्छु ।
यो अधिवेशनबाट नेतृत्व चयन कसरी गर्ने भन्ने बारेमा तपाईंहरूले निदो गरिसक्नुभयो भन्ने हामीले छापाहरूमा पढ्यौँ। रविजीले फेरि सभापतिको रूपमा जिम्मेवारी लिने र बालेनजी वरिष्ठ नेताको रूपमा रहने भन्ने हामीले छापाहरूमा पढ्यौँ। तपाईंहरू दुवैजनालाई फेरि यसका निम्ति शुभकामना छ। तपाईंहरूले मिलेर सबै कुरा टुङ्ग्याउँदै हुनुहुन्छ, तपाईंहरूले हामीलाई अप्ठ्यारो पनि पार्ने हुनुभयो ।
डेमोक्रेसी, रुल अफ ल, इन्क्लुजन, सोसल जस्टिस, यी केवल संविधानमा सजाउनका निम्ति राखिएका विषयहरू मात्र रहेनन्। नेपाली सोसाइटीको डीएनए मा यी सबै कुराहरू राम्रोसँग घोलिएका छन् ।
म विश्वास गर्छु राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनले समाजका यी आधारभूत मूल्यहरूमा आफ्नो दृष्टिकोणलाई स्पष्ट बनाउँछ मात्र होइन, मन, वचन र कर्मले यी मूल्यहरूलाई लिएर अगाडि बढ्ने कुराको प्रण पनि गर्छ भन्ने विश्वास पनि व्यक्त गर्छु र मेरो शुभकामना पनि व्यक्त गर्दछु ।
नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो जनमत असाधारण छ। यसमा दुई मत छैन। इतिहासमा तीन-चार पटक, एक पटक यस्तै खालको जनमत, बाँकी रहेको समयमा यस्तै-यस्तै खालको जनमत करिब तीन-चार पटक नेपालका राजनीतिक दलहरूले प्राप्त गरे। तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो। किन पर्यो ?
एउटा, जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो, त्यो राजनीतिक दलको नेताहरूको अहङ्कारको बीचमा टकराव भयो, व्यक्तिहरूको बीचमा टकराव भयो, जसको कारणले दुर्घटना भयो ।
अर्को, जनमत प्राप्त गरिसकेपछाडि जनमतलाई यसरी बुझियो कि यो जनमतले मलाई शक्ति दियो, त्यो शक्तिको सीमा हुन्छ भनेर बुझिएन । त्यसले सत्ताको उन्मादमा हामीलाई चढायो, जसले गर्दा हामी अप्रजातान्त्रिक व्यवहार गर्न थाल्यौँ, जसको कारणले गर्दा जनमत दुर्घटनामा पर्यो ।
म कामना गर्छु राष्ट्रिय स्वतन्त्र पार्टीले यी दुवै अवस्थाको सामना गर्न नपरोस् । र म शुभेच्छा पनि व्यक्त गर्छु। तपाईंलाई लाग्न सक्छ कांग्रेसको एउटा सदस्य आएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना किन दिँदै छ ? तर यसको दुइटा कारण छ ।
पहिलो कारण, इतिहासले हामीलाई यो पनि बताएको छ, जुन-जुन बेला जनमत प्राप्त गरेका पार्टीहरू दुर्घटनामा परे, आफूलाई सम्हाल्न सकेनन्, त्यो बेलामा पहिलो सिकार त्यो पार्टी भयो, तर त्यो पार्टी मात्र भएन, सँगै रहेका अरू पार्टीहरू पनि त्यसको सिकार बने। प्रणाली बन्यो, डेमोक्रेसी बन्यो, सबैभन्दा बढी नेपाली नागरिकहरू बने । हाम्रो अधिकार कुण्ठित भयो, हाम्रो वर्षौँ खेर गयो, हाम्रो जेनेरेसन टु जेनेरेसन हाम्रो खेर गयो ।
यो असफलता अब नेपालले व्यहोर्नु हुँदैन। त्यसकारणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो सफलता स्थिरताका निम्ति सही ढङ्गले अगाडि बढोस् भन्ने नेपाली कांग्रेस पार्टीको तर्फबाट म मनैदेखि शुभकामना व्यक्त गर्दछु ।
दोस्रो कारण, नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौँ । तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ। तर हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौँ, बन्छौँ पनि एक दिन, तर तपाईंहरूलाई सानो बनाएर होइन, तपाईंहरूको खुट्टा काटेर होइन। मन, वचन र कर्मले इमानदारीतापूर्वक काम गरेर हामी अग्लो बन्न चाहन्छौँ । हामी सफा हुन चाहन्छौँ, तर तपाईंहरूलाई फोहोर देखाएर होइन। हामी आफ्नो पार्टी भित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ ।
हामी तपाईंहरूको दुश्मन होइन। हामी संसद्मा प्रतिपक्ष छौँ, तपाईंहरू सत्ता पक्ष हुनुहुन्छ। जहाँ प्रश्न उठाउनुपर्ने हो औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउँछौँ । जहाँ थप्पडी बजाउनुपर्ने हो त्यहाँ थप्पडी बजाउँछौँ । नीति तथा कार्यक्रम पारित गर्ने बेलामा सम्माननीय प्रधानमन्त्रीज्यू आउनुभएन, मज्जाले औँला ठड्यायौँ । तर याद गर्नुभयो ? त्यही दिन राष्ट्रिय सभामा एकजना पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद हुनुहुन्नथ्यो। राष्ट्रिय सभामा अलमल थियो, यो त्यही नेपाली कांग्रेस हो जसले भन्यो भर्खर आएको सरकारको नीति कार्यक्रम बिना व्यवधान पारित हुनुपर्छ । प्रतिनिधि सभामा औँला उठायौँ, राष्ट्रिय सभामा थप्पडी बजाएर त्यही नीति र कार्यक्रम पारित गर्यौँ ।
हामी प्रतिपक्ष हौँ, जहाँ औँला उठाउनुपर्ने औँला उठाउँछौँ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बाँध्नुपर्छ खुट्टा भाँच्नुपर्छ भन्यो भने औँला उठाउँछौँ । तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा कांग्रेसको जतिसुकै ठुलो नेता होस् नेताको बा होस् सरकारको पक्षमा उभिन्छौँ, दोहोरोसँग थप्पडी बजाउँछौँ । देशको सिमाना मिचियो भनेर देशले सिमाना मिचियो भन्दै गर्दा औँला उठायौँ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले यो नेपाल देशले कुनै पनि देशको सिमाना मिचेको छैन, मिच्न पनि दिन्नौँ, हामी कसैको मिच्दा पनि मिच्दैनौँ भनेर बोलेको दिन जोडदारसँग रास्वपाभन्दा पनि ठुलो स्वरले हामी थप्पडी बजाउँछौँ, हामी प्रतिपक्ष हौँ हामी प्रतिद्वन्द्वी होइन ।
सम्माननीय प्रधानमन्त्रीज्यू, आदरणीय पार्टी सभापतिज्यू, आदरणीय साथीहरू, म छोटकरीमा दुइटा कुरा भनेर बिदा हुन्छु। मैले बाल कांग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको हो । आज म नेपाली कांग्रेस पार्टीको महामन्त्री छु। पार्टी कार्यालयमा जाँदै गर्दा कहिलेकाहीँ एक्लै सम्झन्छु, जननायक बिपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हाल्ने अवसर मजस्तो एउटा सामान्य नागरिकका लागि ठुलो कुरा हो। म गौरव गर्छु। पुराना कुराहरू सम्झेर रोमाञ्चित पनि हुन्छु। तर गएको १०-१२ वर्षमा, गएको १०-१२ वर्षमा मेरो पार्टीसमेत संलग्न भएर गरेका कतिपय कामहरूका सन्दर्भमा मेरो शिर निउराउँछु पनि। म ग्लानीको बोध पनि गर्छु र म आत्म-आलोचित पनि हुन्छु ।
सुशासन तपाईंहरूको मन्त्र छ, तपाईंहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईंहरूले आफ्नै दल भित्र पनि प्रश्न गर्न छोड्नु हुँदैन । हामीले हाम्रा दलका नेताहरूलाई भगवान् बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ, तपाईंहरूले नगर्नुहोला
गएको १०-१२ वर्ष हामीले केवल एउटा कुरा हेर्यौँ: निर्वाचन जित्नै पर्ने, त्यो निर्वाचनबाट सरकारमा पुग्नै पर्ने, सरकारमा पुगेर शक्ति चाहिने, शक्ति केको लागि चाहिने भन्दा घरको लागि चाहिने, परिवारका लागि चाहिने, आफ्ना लागि चाहिने । यो गल्ती गएकै हो, यो गल्ती भएकै हो । र यसका निम्ति गठबन्धनको राजनीतिमा लाग्यौँ, यसका निम्ति भागबन्डाको राजनीतिमा लाग्यौँ। सफा गर्ने कोसिस गर्यौँ हामीले, सकेनौँ । भदौ २३ र २४ गते एउटा ठुलो झट्का लाग्यो। थुप्रै युवाहरूले शहादत प्राप्त गरे। हामीले पनि महसुस गर्यौँ, अब अवेर गरेर हुँदैन । अब सानो-सानो धक्का दिएर हुँदैन । आफ्नै पार्टी भित्र लड्यौँ, विद्रोह गर्यौँ। बाहिर सफा गर्नु भन्दा पहिला आफ्नै घर सफा गर्नुपर्छ भन्ने ठान्यौँ ।
सभापतिज्यू र साथीहरू, बाहिर लड्न सजिलो हुँदो रहेछ, आफ्नो घर भित्र लड्न गाह्रो हुँदो रहेछ। किनकि त्यहाँ नाता पर्छ, त्यहाँ सम्बन्ध हुन्छ, त्यहाँ माया हुन्छ, त्यहाँ सम्मान हुन्छ । तर हामी लड्यौँ । म यही अनुभवको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ ।
सुशासन तपाईंहरूको मन्त्र छ, तपाईंहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईंहरूले आफ्नै दल भित्र पनि प्रश्न गर्न छोड्नु हुँदैन । हामीले हाम्रा दलका नेताहरूलाई भगवान् बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ, तपाईंहरूले नगर्नुहोला । गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला । हामीले ढिलो गर्यौँ, त्यसैले सजाय पनि पायौँ। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नुपर्थ्यो, सकेनौँ । हामीले ढिलो गर्यौँ। त्यसबाट पनि सिक्नुहोला। तपाईंहरू प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईंले राख्नुपर्छ भन्ने ठान्दछु ।
अन्त्यमा, आज म चितवन आउँदै गर्दा मैले जताततै निलो भएको देखेँ। सहरभरि निलो छ, गजब छ । यो चितवनले डिजर्भ गर्छ, चितवनको हक हो यो । राष्ट्रिय स्वतन्त्र पार्टीको पनि हक हो यो। तपाईंहरू भोलि ४००० चानचुन प्रतिनिधिहरू बसेर यो निलो झण्डा मुनि बसेर नेपालको भविष्यको बारेमा छलफल गर्नुहुन्छ। तपाईंहरू त्यही गर्न जुट्नुभएको छ, तपाईंहरूलाई फेरि पनि शुभकामना छ ।
तपाईंहरू विगतमा धेरै फर्कनु पर्दैन । हामीसँग लामो विगत छ । विगतका केही प्रेरणा र सबल पक्षहरू पनि हामीसँग छन्, विगतका केही ब्यागेजहरू पनि हामीहरूसँग छन् । हामी त्यसबाट भागेर हुँदैन, त्यसबाट सिक्दै सच्याउँदै जानुपर्छ। तपाईंलाई अगाडि बढ्न सजिलो छ, मेरो तपाईंलाई शुभकामना छ ।
मैले तपाईंहरूबाट धेरै कुरा सिक्ने हो, म सिक्छु, मेरो पार्टीले पनि सिक्छ। हामी सिक्न चाहन्छौँ। तर एउटा कुरा तपाईंलाई अनुरोध गर्छु: तपाईंहरूले विगतलाई इन्कार गर्दै गर्दा जब यो निलो झण्डा मुनि बसेर चितवनमा तपाईं विगत खराब भन्नुहुन्छ, कृपया एकै पटक ३५ वर्षमा केही पनि भएन भनेर नभन्निदिनुहोला। कृपया पञ्चायतका ३० वर्षका सङ्घर्षका कथाहरूलाई अन्डरमाइन पनि नगर्दिदिनुहोला ।
जहाँ विधि मिचिन्छ त्यहाँ तपाईंले कांग्रेसलाई प्रश्न गर्दै गरेको पाउनुहुन्छ । किनकि तपाईंको धर्म तपाईंले निर्वाह गर्ने हो, हाम्रो धर्म हामीले निर्वाह गर्ने हो
तपाईं जुन ठाउँमा उभिनुभएको छ नि, त्यही मुनि करिब ५० जना मानिसहरूको लास गाडिएको छ। २०१८ सालमा पञ्चायतको सरकारले काटेर गाडेको छ त्यही मुनि बस्नु उभिनुभएको छ । तपाईंले भोलि कार्यक्रम गर्ने ठाउँ पनि, त्यहाँ भित्र पनि थुप्रै साथीहरू गाडिएका छन् । ती सबैले कांग्रेसको चारतारे झण्डा उठाएका थिए, जय नेपाल भनेका थिए । तर आफ्नो लागि होइन, आफ्नो परिवारका लागि होइन । टाउको काटियो, रेटियो, तर तिनले बोलेको त्यो कुरा तपाईंको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो। आज निलो झण्डा फहराउन तपाईंले पाउनुभएको छ, एक पटक झण्डा फहराउँदै गर्दा भुईँमा हेर्नुहोला, चितवनको भुईँमा पनि हेर्नुहोला, त्यहाँ अलिअलि रातो छ । त्यो रातो थुप्रै ती सहिदका रगतहरूले लगाएको रातो थियो।
त्यसलाई तपाईंले बिर्सन पाउनुहुन्न। हामी कसैले बिर्सन पाउँदैनौँ । न जेन्जी आन्दोलनमा शहादत दिएकाहरूलाई बिर्सन पाउँछौँ, न नेपालका ती आन्दोलनका बलिदानहरूलाई बिर्सन पाउँछौँ । त्यही डेमोक्रेसीलाई हामीले मन्त्र बनाएर अब हामीले सुशासन दिने हो, अब हामीले डेलिभरी दिने हो । शिक्षामा राम्रो गर्ने हो, स्वास्थ्यमा राम्रो गर्ने हो, सबैतिर राम्रो गर्ने हो। हाम्रो कोही पनि दुश्मन छैन म फेरि अन्त्यमा दोहोर्याउँछु । गरिबी हाम्रो दुश्मन हो, अज्ञानता हाम्रो दुश्मन हो, विभेद हाम्रो दुश्मन हो, अक्षमता हाम्रो दुश्मन हो ।
यी सबैका विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टी लड्दै गर्दा नेपाली कांग्रेस पार्टीलाई तपाईंले तपाईंको साथमा उभिएको पाउनुहुन्छ। जहाँ विधि मिचिन्छ त्यहाँ तपाईंले कांग्रेसलाई प्रश्न गर्दै गरेको पाउनुहुन्छ । किनकि तपाईंको धर्म तपाईंले निर्वाह गर्ने हो, हाम्रो धर्म हामीले निर्वाह गर्ने हो । आफ्नो-आफ्नो धर्म हामीले निर्वाह गर्यौँ भने मलाई विश्वास छ नेपालको राजनीति लामो समयको आरोह-अवरोह पछि एक ठाउँमा आएर थामिएको छ । यो संविधानलाई हामी जोगाउँछौँ, व्यवस्थालाई हामी जोगाउँछौँ, र अवस्थालाई फेर्छौँ भन्ने कुराको जुन उद्घोष हामीले गर्यौँ, कोही हामी आफ्नो दल भित्र लड्यौँ कोही बाहिर लड्यौँ, तर हामी सबै मिलेर सफलता प्राप्त गर्छौँ भन्ने विश्वास राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनलाई नेपाली कांग्रेस पार्टीको तर्फबाट हृदयबाटै हृदयबाटै फेरि एक पटक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै रविजी, बालेनजी र सिङ्गो टिमलाई हृदयबाटै बधाई प्रकट गर्दै शुभेच्छा दिँदै मेरा आफ्नो भनाई टुङ्ग्याउन चाहन्छु । धन्यवाद !
(राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा कांग्रेस सभापति गगन थापाले व्यक्त गरेको विचार )






प्रतिक्रिया