
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले वर्तमान सरकार एक्सप्रेस वेमा गुडेको गाडीजस्तो भएको भन्दै गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् ।
आइतबर रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदिप ज्ञावलीको मन्तव्यको जवाफ दिँदै त्यस्तो बताएका हुन् ।
‘सरकार भनेको गुडिरहेको गाडी जस्तो हो । गाडीमा एक्सिलेटर मात्रै हुँदैन, ब्रेक पनि हुन्छ, ब्रेक लगाएर सन्तुलन कायम गर्नुपर्छ भनेर चिन्ता लिनुभएको छ,’ प्रधानमन्त्री शाहले भने, ‘यस्तो चिन्ता लोकल रोडमा हो, कहिले बायाँबाट मान्छे आउँछ, कहिले दायाँबाट गाडी आउँछ । हामी लोकल रोडमा हिँडेको गाडी होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। गन्तव्यमा पुग्नुअघि ब्रेक लगाउन जरुरी हुँदैन ।’
उनले वर्तमान सरकारको गाडी अनियन्त्रित पनि नभएको र वातावरण पनि मिलेर गएको बताए । उनले राष्ट्रिय स्वतन्त्र हाम्रो पार्टी र सरकारप्रति चिन्ता लिएको भन्दै त्यसमा धन्यवाद व्यक्त गरे । एमाले नेता प्रदिप ज्ञवालीले सरकारको गाडी एक्सिलेटर थिचेर मात्रै दौडिएको र त्यसमा सन्तुलन कायम गर्न ब्रेक पनि हुन्छ भन्ने ख्याल गर्नुपर्ने बताएका थिए ।






प्रतिक्रिया