‘बेलायतलाई मध्यस्थता गर्न बोलाएका होइनौं, हामीसँग प्रमाण छ- छिमेकीसँग कुरा गरेर मिलाउँछौं’


नमस्ते! नमस्ते! नमस्ते! नबोलूँ भन्छु, बोल्ने दिन आइहाल्छ ।

ऐतिहासिक राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिको रूपमा आउनुभएका पूर्व प्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्ष दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्रीगणहरू, सांसदज्यूहरू तथा उपस्थित सम्पूर्ण देशप्रेमी, राष्ट्रिय स्वतन्त्र पार्टी प्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु ।

कुरा कताबाट सुरु गरौँ त ? आज खासमा चाहिँ यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने भन्ने हो ।

हाम्रो पार्टी जुन एउटा सानो महत्वाकांक्षा, सानो इच्छा, सानो देश बनाउने हुटहुटीले सुरु भएको पार्टी, आज महाधिवेशनको पहिलो दिनसम्म आउँदाखेरि यो पार्टी, यो आन्दोलनको रूपमा भएको पार्टी, भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने, स्थापित गर्ने दिनमा आउँदाखेरि हामीले धेरैजसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ ।

आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनुभएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ । चिन्ता पनि लिनुभएको छ । सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन ब्रेक हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ । त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछन् । तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस-वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन । र हाम्रो गाडी अनियन्त्रित पनि छैन । वातावरण पनि मिलेर गएको छ । त्यसैले हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ, त्यसको लागि धेरै-धेरै धन्यवाद पनि दिन चाहन्छु । चिन्ता लिनु राम्रो कुरा हो ।

जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ । हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको हो । र खोला एकचोटी सिधा बाटो, आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ । यो हावा जस्तो कहिले लेफ्ट, राइट, उत्तर, दक्षिण, पूर्व, पश्चिम बग्दैन । त्यसैले चिन्ता लिनुहुनेहरूलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु । यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला ।

मेरो एकजना अनन्य मित्र, उहाँ अहिले हुनुहुन्न, उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई मैले म्युजिक गर्दाखेरि— ‘बालेन, स्पटलाइटमा आउन सहज हुन्छ तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ ।’

https://www.facebook.com/reel/1701730041031982

त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेतागणले पनि लिनुभएको छ । त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, दुई तिहाइ आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ । तर यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने, हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनताले ल्याएको हो । र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ । हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन, हाम्रो सूर्य नेताप्रति मात्र चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ । त्यसैले यो जनता सधैँ अगाडि नै रहन्छ ।

र आज पार्टीको विषयमा विशेषगरी कुरा राख्नुपर्छ भनेरै, हाम्रो पार्टीको चिन्तन कस्तो हो? लेफ्ट हो, राइट हो, सेन्टर हो ? धेरै चिन्ता लिइराख्नु पर्दैन । हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने, काम गर्ने पार्टी हो । हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो ।

हामी प्रतिशोध साध्ने, पुरानो-पुरानो कुरा लिएर निहुँ खोज्दै बस्ने होइन । निहुँ खोज्नुपरे अगाडि बढ्दै गर्दा निहुँ खोजिन्छ । कस्तो केसमा मात्रै भन्दाखेरि विगतका दिनमा कुनै फटाईं भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निर निहुँ खोज्न जरुरी हुन्छ । त्यहाँ निहुँ खोज्छौँ हामी । र त्यो निहुँ खोज्दै गर्दाखेरि अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी ५ घण्टा मात्रै होइन ५ वर्ष गर्छौँ । ५ वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ । त्यसमा चिन्ता लिइराख्नु पर्दैन । हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ । नियम भन्दा बाहिर जाँदैनौँ ।

हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू, मिडिया हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला । त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन । चिन्ता कुनै विषयमा लिनु पर्दैन ।

सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो । सीमाको विषयमा हामीले बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषयमा कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ । आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो । ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ । हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ । र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हौँ । हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ । हामी हाम्रा छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ । हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ । त्यो कुरा गरिएको हो । यसमा आशंका मान्नु पर्दैन । मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन ।

र विशेषगरी पार्टीको कुरा गर्दाखेरि पार्टीको महाधिवेशन चल्दै छ आज, भोलि, पर्सि । भोलि चुनाव होला । र पार्टीको महाधिवेशनमा पहिलेदेखि एउटा हाम्रो संस्कार चाहिँ कता-कता बिग्रिएको थियो पहिला- गुट बनाउने, उपगुट बनाउने । एउटा कुरा तपाईँहरूलाई यहाँ हुनुहुन्छ होला, महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, यहाँ केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला । तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने, एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन । त्यसैले समूह बनाउने पछाडि नलाग्नुहोला । त्यस्तो बीउ अहिले नै नरोप्नु कि त्यो बीउ भोलि रुख बनेर बीचबाट फाँड्नुपरोस् । त्यसैले यस्तो बीउ रोप्ने काम, यस्तो रुख पलाउने कामहरू हामी चाहिँ नगरौँ । हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ ।

र एउटा कुरा के भन्न चाहन्छु भने, हामी नयाँ पार्टी हौँ, नयाँ सोचले गर्दा हो । हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने- सुशासन ल्याउँछु भनेको छ, सुशासनको लागि एजेन्डा बोकेको छ, सुकुम्बासी समस्या हटाउँछु भनेको छ । हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ । अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।

र भोलि, पर्सि हुने चुनाव भयो अथवा केही भयो, चुनावमा कसैलाई सीसीम बन्न मन लाग्छ, कसैलाई पदाधिकारी । बन्नुभयो ठिकै छ, बन्नुभएन भने पनि चिन्ता किन लिनु पर्दैन भन्दाखेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो । र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दाखेरि हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सीसीम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो । भोलि तपाईँले सीसीम जित्नुभएन, म सीसीम भएको भए यो गर्थें भन्ने छ भने आउनुस् भन्नुस् पार्टीलाई भन्नुस् । भोलि तपाईँ सांसद हुन सक्नुभएको छैन, म सांसद भएको भए यो काम गर्थें भनेर लिएर आउनुस् । तपाईँलाई जे जे गर्न मन लाग्छ यो पार्टीले गर्छ, यो सरकारले गर्छ । र हाम्रो पार्टीका पदाधिकारीहरूलाई, सरकार र पदाधिकारीहरू, सीसीमहरू विभिन्न जिल्लाबाट आउनुभएको छ, उहाँहरूसँग कनेक्ट भएर उहाँहरू र सरकार एउटै हो भन्ने उहाँहरूलाई चाहिँ अनुभूति गराउन अझै पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु ।

अझै बोलूँ? के गरौँ? ठिकै छ । अब नबोलूँ भन्दा बोल्ने दिन आइहाल्छ भनेको जस्तै, ठिकै छ अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापतिज्यूको रहेको नै छ । र एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईँहरूलाई भन्दाखेरि पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो, पार्टीलाई एक बनाउनुपर्छ । आज, भोलि, पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ र त्यो पछाडि ५ वर्ष देशको बारेमा सोचौँ । धेरै-धेरै धन्यवाद ।

(रास्वपाको अधिवेशनमा प्रधानमन्त्री बालेन शाहले व्यक्त गरेको विचार)