
एजेन्सी । जमैका विरुद्धको विश्वकप छनोट खेलको अन्तिम समयमा क्युरसाओ आफ्नो पहिलो विश्वकपबाट ९० मिनेट मात्र टाढा हुँदा रेफ्रीले पेनाल्टीको संकेत गरे ।
गोलकीपर इलोय रुमले उनीतिर फर्केर भने, ‘तपाईंले पेनाल्टी दिए पनि केही फरक पर्दैन । म जसरी पनि यसलाई बचाउनेछु ।’ रेफ्रीले उनलाई पागललाई जस्तै गरी हेरे । भीएआरले उक्त निर्णय उल्टाइदियो । उनले आफू सही थिएँ कि थिइनँ भनेर जाँच्नु परेन ।
उनी त्यस्तै प्रकारका व्यक्ति हुन् । शनिबार राति क्यान्सास सिटीको गोलपोस्टमा उनी उभिए र इक्वेडर विरुद्ध १५ पटक सेभ गरे ।
सन् १९६६ देखि सेभलाई आधिकारिक तथ्यांकको रूपमा राख्न थालिएपछि कुनै पनि गोलकीपरले निर्धारित समयभित्र विश्वकपको एउटै खेलमा गरेको यो सबैभन्दा धेरै सेभ हो ।
यो सन् १९७८ मा पेरुका लागि रामोन क्विरोगाले गरेका १३ सेभभन्दा बढी हो । यो सन् २०१४ मा बेल्जियम विरुद्ध टिम हावर्डले गरेको कुल संख्यासँग बराबर हो यद्यपि हावर्डलाई त्यहाँसम्म पुग्न अतिरिक्त समय आवश्यक परेको थियो ।
रुमले १ लाख ५० हजार जनसंख्या भएको राष्ट्रको प्रतिनिधित्व गर्दै ९० मिनेटभित्रै यो गरे ।
इक्वेडरले २८ पटक प्रहार गरेको थियो । क्युरसाओले एक अंक हासिल गर्यो । यो उनीहरूको विश्वकप इतिहासमै पहिलो अंक हो ।
इलोयका बुवा लेस्ली क्युरसाओका हुन् र उनले नेदरल्यान्ड्सको निजमेगेनमा जन्मेका इलोय सानै छँदादेखि नै उनलाई डच एन्टिल्सको सो टापुका बारेमा बताउँदै आएका थिए । त्यहाँ ओर्लंदाको त्यो न्यानो महसुसका बारेमा । परिवार अझै त्यहीँ छ ।
लेस्लीले रेम्को बिसेन्टिनी नामका एक व्यक्तिलाई चिन्थे । बिसेन्टिनी अन्ततः क्युरसाओ फुटबलका मसिहा बने ।
प्याट्रिक क्लुइभर्टले सन् २०१५ मा क्युरसाओेको प्रशिक्षक रहँदा रुम जुनियरलाई व्यक्तिगत रूपमा फोन गरेका थिए । सो टापु सन् २०११ देखि मात्र फिफाको सदस्य बनेको थियो । त्यहाँ कुनै संरचना थिएन, कुनै जग थिएन र केही कुराको पनि कुनै रेकर्ड थिएन ।
रुम नेदरल्यान्ड्सको यू–२० टोलीमा थिए तर सिनियर टोलीबाट बोलावट आइरहेको थिएन । उनले हुन्छ भने । ‘त्यतिबेला राष्ट्रियता परिवर्तन गर्ने म नै पहिलो खेलाडी थिएँ । र त्यसपछि अरू धेरै खेलाडीहरू आउन थाले ।’
उनी वास्तवमा टोलीको भर्तीकर्ता बने । उनले साथीहरूलाई फोन गरे । कस्तो महसुस हुन्छ भनेर बताए । उनले उनीहरूलाई यस्तो कुरामा विश्वास दिलाए जसको त्यतिबेलासम्म कुनै प्रमाण थिएन ।
उनका मायामी एफसीका सहकर्मी जुर्गेन लोकाडियालाई यो हुनुभन्दा चार वर्ष अगाडि नै विश्वकपको योजना सुनाइएको याद छ ।
‘मलाई त धत्तेरिका, यो त सम्भव नै छैन जस्तो लागेको थियो ।’ रुमले प्रयास जारी राखे । ‘उनी विश्वस्त थिए,’ लोकाडियाले भने, ‘र जब तपाईं कुनै कुरामा विश्वास गर्नुहुन्छ, त्यो ऊर्जा अरूमा पनि सर्छ । र उनले यसमा विश्वास गरे ।’
दश वर्षसम्म उनले हरेक क्याम्पका लागि एट्लान्टिक महासागर पार गरे । त्यसपछि छनोट खेलको अन्तिम चरणमा उनी कुनै क्लब बिना नै यो गरिरहेका थिए । भिटेसे टाट पल्टिएको थियो । सर्कल ब्रुजको छोटो समयको बसाइ सकिएको थियो । कुनै सम्झौता थिएन, कुनै साप्ताहिक खेलहरू थिएनन् ।
उनले एक्लै प्रशिक्षण गरे, जिमका लागि व्यक्तिगत प्रशिक्षक, मैदानका लागि गोलकीपर प्रशिक्षक र बीच–बीचमा पेडेल खेले । ‘यसमा रिफ्लेक्स र कार्डियो दुवै हुन्छ,’ उनले भने, ‘म ती सबै कुरा सँगै गर्ने प्रयास गर्छु र यसले मलाई मद्दत गर्छ ।’
विश्वकप अघि उनको अन्तिम क्लब खेल डिसेम्बर २०२४ मा भएको बेल्जियन कपको खेल थियो । त्यो जमैका विरुद्धको छनोट खेलभन्दा झण्डै एक वर्ष अगाडि थियो । ‘मलाई केमा ध्यान केन्द्रित गर्ने भन्ने थाहा थियो,’ उनले भने, ‘मलाई थाहा थियो, हाम्रो अर्को खेल छ ।’
नोभेम्बर २०२५ मा भएको जमैका विरुद्धको छनोट खेल गोलरहित रह्यो । निकै भद्रगोलपूर्ण अन्तिम समय बल पोलमा लाग्दा जमैका १० खेलाडीमा सीमित हुँदा त्यसपछिको पेनाल्टी, भीएआर जाँच र अन्तिम ह्विसलसम्म रुमले गोल हुन दिएनन् ।
‘हामीले जे ग¥यौं, त्यसको गहिराइलाई तपाईंले वास्तवमा महसुस गर्न सक्नुहुन्न । के सोच्ने भन्ने नै थाहा हुँदैन । धेरै कुराहरू भए ।’
एक महिनापछि उनले मायामी एफसीसँग सम्झौता गरे । यो अमेरिकी फुटबलको दोस्रो श्रेणीको क्लब थियो । उनी ३६ वर्षका थिए ।
त्यसपछि जर्मनीसँगको खेल । ७–१ को हार । तैपनि रुमले आठपटक बचाउ गरे ।
त्यसपछि शनिबार । क्यान्सास सिटी । रंगशाला लगभग पूरै पहेंलो रंगले भरिएको थियो । इक्वेडरका फ्यानहरूले गर्दा मैदान एउटै रंगको देखिन्थ्यो । नीलो रंगका दुईवटा साना समूहहरू । कुरासाओका ।
सुरुवाती मिनटहरूमा एन्डर भ्यालेन्सियाका लागि गोल गर्ने मौका खुला थियो । रुमले देब्रेतिर अनुमान लगाए, त्यहाँ पुगे र बललाई फर्काइदिए । मोइसेस काइसेडोले अर्को प्रहार गरे । भ्यालेन्सियाले कर्नरबाट प्रहार गरेको हेड गोलपोस्टभन्दा बाहिर गयो । रुमले पहिले नै त्यसको दिशा तय गरिसकेका थिए ।
९० मिनेटसम्म खेल यसरी नै चलिरह्यो । एकपछि अर्को बचाउ । र अझै धेरै । खेल समाप्त हुँदा इक्वेडरका गोलकीपर मैदान पार गर्दै आएर उनलाई अँगालो हाले ।
पन्ध्र सेभ । एउटा कीर्तिमान । एक अंक । करिब २५ सय माइल टाढा खुसी मनाइरहेको एउटा राष्ट्र ।
लेस्ली रुमले यो सबै सम्भव हुनुभन्दा धेरै वर्ष अघिदेखि नै आफ्नो छोरालाई सो टापुको बारेमा बताउँदै आएका थिए । क्यान्सास सिटी, छनोट खेल, पेनाल्टी र उनले अवाक भएर हेरिरहेका रेफ्रीलाई भनेको त्यो वाक्यभन्दा धेरै पहिले, ‘तपाईंले पेनाल्टी दिए पनि केही फरक पर्दैन । म जसरी पनि यसलाई बचाउनेछु ।’
उनले गरेर देखाए ।






प्रतिक्रिया