हटकेक बनेको गभर्नर नियुक्तिः राष्ट्र बैंकका कमान्डरको कति हुन्छ तलब भत्ता ?

8.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा को नियुक्त हुन्छन् भन्ने अहिले सर्वत्र चासोको विषय हो । सबैभन्दा आकर्षक राजनीतिक नियुक्तिमार्फत् प्राप्त हुने अन्य सुविधा सम्मानसम्म र गभर्नरको भुमिकाका रूपमा निर्वाह गर्नुपर्ने दायित्व एकातर्फ राख्दा गभर्नरले पाउने आर्थिक लाभ पनि आकर्षण बढाउने र सर्वसाधारणमाझ चर्चाको विषय बन्ने अर्को कुरा हो ।

गभर्नर पद चैत २४ गतेदेखि रिक्त छ । राजनीतिक भागबण्डाअनुसार गभर्नर पद नेपाली कांग्रेसको पोल्टामा परिसकेको छ । अबको केही दिनमै राष्ट्र बैंकले नेतृत्व पाउने पक्का छ ।

त्यसो भए यो आकर्षक पदमा आसीन हुने कोही व्यक्तिले कति कमाउँछन् भन्ने चर्चा गरौं ।

कानुनी व्यवस्थाअनुसार गभर्नरको मासिक तलब १ लाख ३६ हजार रूपैयाँ हुन्छ । त्यसमा मासिक ६३ हजार ६० रूपैयाँ केन्द्रीय बैंक भत्ता थप हुन्छ । साथै ९ हजार ६ सय रूपैयाँ खाजा खर्च र ७ हजार ४५० रूपैयाँ इन्टरनेट खर्च पनि गभर्नरले पाउँछन् ।

साथै गभर्नरलाई सवारी, इन्धन, मर्मत, पत्रपत्रिका, चालक र मेडिकल सुविधासमेत हुन्छ । यसैगरी प्रति सञ्चालक समिति वैठक ९ हजार रूपैयाँ र व्यवस्थापन समिति बैठकको छुट्टै भत्ता पनि पाउँछन् गभर्नरले ।

गत आर्थिक वर्ष अर्थात् आव २०८०/८१ मा गभर्नर महाप्रसाद अधिकारीले कुल ६४ लाख ६२ हजार रुपैयाँ बराबरको तलब, भत्ता तथा अन्य सुविधा लिएका थिए । जसमध्ये १६ लाख ३२ हजार रूपैयाँ मासिक १ लाख ३६ हजार तलबबाट लिएका हुन् भने करिब ४५ लाख रुपैयाँ बराबरको अन्य भत्ता तथा सुविधा र ३ लाख ३३ हजार बोर्ड मिटिङबाट लिएका थिए ।

अधिकारीले आव २०७९/८० मा ६१ लाख रूपैयाँबराबरको तलब भत्ता लिएका थिए ।

सेवानिवृत्त भएका गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति ५ वर्षमा ५९ लाख ४८ हजार रुपैयाँले बढेको थियो ।

तसर्थ, राष्ट्र बैंकका भावि गभर्नरले पनि महाप्रसादको झैं सेवा सुविधा पाउनेछन् ।

आर्थिक लाभबाहेक पनि गभर्नर पद निकै आकर्षक मानिन्छ । मुलुकको केन्द्रीय बैंकको रुपमा काम कारबाही गर्ने नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको निष्कासन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा काम गर्दछ । राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार पनि हो ।

प्रधानमन्त्री, अर्थमन्त्रीलयात उच्च पदस्थ व्यक्तिहरुसँग नियमित छलफल, बजेट निर्माणदेखि मौद्रिक नीति तर्जुमासम्मको कार्यमा गभर्नर प्रत्यक्ष संलग्न हुन्छन् । यसैगरी देशविदेश भ्रमण, मौद्रिक निकाय तथा केन्द्रीय बैंक प्रमुखको रुपमा मिल्ने सम्मान र पहुँचजस्ता कारण राष्ट्र बैंकको गभर्नर सरकारको सबैभन्दा आकर्षक नियुक्तिमध्ये एक हो ।

अर्थतन्त्रको एउटा सग्लो पाटो सम्हालेर बस्ने, नीतिगत हेरफेरमार्फत् आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने र नियामकीय सुधारमार्फत् वित्तीय क्षेत्रसँगै अर्थतन्त्रमा टेवा पुर्‍याउन मिल्ने भएकाले पनि गभर्नर पद सबैको चासो हुनु स्वाभाविक पनि हो। गभर्नरलाई प्राप्त हुने त्योभन्दा पनि ठूलो अवसर हो, देशको नोटमा हस्ताक्षर गर्न पाउनु ।

पछिल्लो समय गभर्नर पदमा आफू समर्थित व्यक्ति पुर्याउन राजीनित दल र स्वार्थसमूह निकै सक्रिय छन् । सत्ता समीकरकणबाट आफू बाहिरिँदा पनि स्थायीरुपमा अर्थतन्त्रको एउटा बागडोर सम्हाल्ने भएकाले राज्यका नीति, संरचना र सम्भावित व्यवस्था हेरफेरमा गभर्नर पद फेरो बन्न पुग्छ । पछिल्लो समय गभर्नर पद राजनीतिक यात्राको नयाँ पाइला बनेको छ भने सत्तामा विपक्षी दल हुँदा पनि बार्गेन गर्न सक्ने बलियो आधार बनेको छ । यी र यस्तै कारण पनि केन्द्रिय बैंकको गभर्नर पदको चासो बढेको हो ।