३५ हजार सुरु भएको भाटभटेनी कारोबार २० अर्ब, १२ अर्ब ८७ करोड ऋण



काठमाडौं । नेपालको चर्चित भाटभटेनी स्टोरको वार्षिक कारोबार २० अर्ब पुगेको छ । भाटभटेनीले १२ अर्ब ८७ करोड रुपैयाँ ऋणको लागि इक्रा नेपालमा गराएको रेटिङ अनुसार भाटभटेनी डिपार्टमेन्ट स्टोरले सन् २०२१ मा १९ अर्ब ९९ करोड रुपैयाँको कारोबार गरेको छ । सन् २०२० मा भाटभटेनीको कारोबार १९ अर्ब ३६ करोड थियो ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरको ५ वर्षमा कारोबार हरेक वर्ष बढ्दै गएको देखिएको छ । सन् २०१७ मा भाटभटेनी डिपार्टमेन्ट स्टोरले ११ अर्ब १७ करोडको कारोबार गरेको थियो । सन् २०१८ मा १७ अर्ब ९९ करोडको कारोबार थियो ।

भाटभटेनीको अहिले देशभर गरेर २० वटा डिपार्टमेन्ट स्टोर रहेका छन् । देशका विभिन्न स्थानमा ८ वटा स्टोर भाटभटेनीले थप गर्ने तयारीमा रहेको छ ।

भाटभटेनीमा मिनबहादुर गुरुङको ६० प्रतिशत तथा उनकी श्रीमति सावित्री गुरुङ घलेको ४० प्रतिशत हिस्सा रहेको छ ।

यसरी खुलेको थियो स्टोर

मिनबहादुर गुरुङले २०४१ सालमा काठमाडौंको भाटभटेनी मन्दिरमा ३५ हजार रुपैयाँको लगानीमा स्टोर खोलेका थिए । ३५ हजार लगानीमा खुलेको स्टोरले अहिले २० अर्बको वार्षिक कारोबार गर्छ भने ऋणमात्र १२ अर्ब ८७ करोडको लिएको छ । बैंकबाट बढी ऋण लिनेमा ठूला ऋणीमा भाटभटेनी स्टोर समेत पर्छ ।

५० अर्बको कारोबारपछि आइपीओ

भाटभटेनीका संस्थापक गुरुङले ५० अर्बको कारोबारपछि सर्वसाधारणलाई सेयर जारी गर्ने बताएका थिए । उनले लिएको लक्ष्य पूरा गर्नको लागि भाटभटेनीले थप ३० अर्बको कारोबार गर्नुपर्छ ।

‘अहिले हाम्रो कारोबार २० अर्बजति छ,५० अर्ब भएपछि सर्वसाधारणलाई सेयर निष्कासन हुन्छ,’गुरुङले केही समय अगाडि क्लिकमाण्डूसँग भनेका थिए ।

धितोपत्र बोर्डले ‘बुक बिल्डिङ’ प्रणालीबाट सार्वजनिक सेयर निष्कासन गर्न सक्ने व्यवस्था लागू गरेको छ । यस्तो व्यवस्थाले भाटभटेनीजस्ता सुपरमार्केटलाई आइपीओ निष्कासन गर्न सजिलो बनाउँछ ।

काठमाडौं स्टिलमा ३७ प्रतिशत लगानी

भाटभटेनी डिपार्टस्टोरले ३७ प्रतिशत लगानी काठमाडौं स्टिलमा गरेको छ । यसबाहेक मिनबहादुर गुरुङले विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत लगानी गरेका छन् ।


क्लिकमान्डु