सरकारले भनेपछि राष्ट्र बैंकले गरेको थियो सिक्कामा गुम्बाको चित्र राख्ने निर्णय, चुच्चे नक्सा के हुन्छ ?

210
Shares

काठमाडौं । गत असार ३२ गते बसेको बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठकले १ र २ रुपैयाँ दरका सिक्काहरूको डिजाइन परिमार्जन गरी टकमरी (मिन्टिङ) गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गर्‍यो ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले १ र २ रुपैयाँ दरका सिक्काको डिजाइन परिमार्जन गर्ने निर्णय गर्दै स्वीकृतिका लागि नेपाल सरकार समक्ष पठाएको थियो ।

राष्ट्र बैंकले डिजाइन परिवर्तन गर्ने निर्णय गर्दै स्वीकृतिका लागि पठाएपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो।

नेपाल राष्ट्र बैंक ऐनअनुसार नोट र सिक्काको डिजाइन परिमार्जन गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ । ऐनको दफा ५२ को उपदफा (४) मा भनिएको छ, ‘राष्ट्र बैंकले आवश्यकता अनुसार विभिन्न दरका बैंक नोट निष्कासन गर्नेछ । यसरी बैंक नोट निष्कासन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, बैंक नोट छपाइ गर्ने वस्तु तथा अन्य पदार्थ समितिले निर्णय गरे बमोजिम हुनेछ।’

सिक्काको मूल्य, नाप, तौल, शुद्धता र डिजाइन परिमार्जन गर्दा पनि नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था ऐनले गरेको छ । सोही ऐनको दफा ५२ को उपदफा (७) मा भनिएको छ, ‘राष्ट्र बैंकले नेपाल सरकारको स्वीकृति लिई जुनसुकै मूल्य, नाप, तौल, शुद्धता, डिजाइन र धातु वा मिश्रित धातुको सिक्का चलनचल्तीका निमित्त वा विशेष अवसरमा टक्सारमा टकमरी गराई चलनचल्तीमा ल्याउन सक्नेछ । तर, एकपटक स्वीकृति लिई टकमरी गराइसकेको सिक्कालाई पुनः टकमरी गराउनुपर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्ने छैन ।’

सोही व्यवस्थाका आधारमा राष्ट्र बैंकले नोट तथा सिक्काको डिजाइन परिमार्जन गर्दा नेपाल सरकारको स्वीकृति लिने गरेको छ । राष्ट्र बैंकको सिफारिसमा असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले १ र २ रुपैयाँको सिक्काको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको थियो ।

स्रोतका अनुसार सिक्काको डिजाइन परिमार्जन गरी उपल्लो मुस्ताङमा अवस्थित विश्वकै सबैभन्दा पुरानो लो–घेकर गुम्बाको तस्बिर राख्ने निर्णय भएको छ । उक्त गुम्बा ८ औँ शताब्दी (सन् ७६० तिर) निर्माण भएको जनविश्वास छ ।

हाल १ र २ रुपैयाँको सिक्काको अग्र भागमा नेपालको नक्सा तथा १ रुपैयाँको सिक्काको पछिल्लो भागमा सगरमाथा र २ रुपैयाँको सिक्काको पछिल्लो भागमा जानकी मन्दिरको चित्र रहँदै आएको छ ।

अब नयाँ डिजाइनमा लो–घेकर गुम्बाको तस्बिर राख्ने निर्णय राष्ट्र बैंक सञ्चालक समितिले गरेको र सोही निर्णयलाई नेपाल सरकारले स्वीकृति दिएको राष्ट्र बैंक उच्च स्रोतले क्लिकमान्डुलाई बतायो ।

नेपाल सरकारको निर्देशनअनुसार नै डिजाइन परिमार्जन गरी लो–घेकर गुम्बाको चित्र राख्ने निर्णय भएको स्रोतको दाबी छ ।

नेपालको नोट तथा सिक्कामा हिन्दू धर्म, परम्परा र सांस्कृतिक तथा प्राकृतिक महत्त्वका चित्रहरू प्रयोग भए पनि बौद्ध परम्परासँग जोडिएको चित्र प्रयोग नभएकाले नेपालकै सबैभन्दा पुरानो मानिएको उक्त गुम्बाको चित्र प्रयोग गर्ने निर्णय भएको स्रोतको दाबी छ ।

बौद्ध परम्परा झल्कने चित्र प्रयोग गर्दा बुद्धको जन्मस्थल लुम्बिनी, बौद्धसहितका अन्य स्थान हुँदा हुँदै सोही गुम्बा नै किन भन्ने प्रश्नमा भने सरकारकै निर्देशनअनुसार निर्णय भएको राष्ट्र बैंकका उच्च अधिकारीहरूको दाबी छ ।

‘राष्ट्र बैंकले सिफारिस गर्ने र त्यसलाई सरकारले स्वीकृति दिने कानुनी व्यवस्था रहेको छ,’ उच्च स्रोतले भन्यो, ‘तर उक्त गुम्बा राख्ने गरि डिजाइन पठाउनु भनेपछि त्यसअनुसार राष्ट्र बैंक सञ्चालक समितिले निर्णय गरेर पठाएको हो ।’

सिक्काको डिजाइन मात्र नभई तौल र टकमरीमा प्रयोग हुने धातुसमेत परिमार्जन गर्न लागिएको स्रोतले बतायो ।

विगतमा पनि सिक्का तथा नोटको डिजाइन समय–समयमा परिमार्जन हुँदै आएको र अहिले पनि त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने तर्क राष्ट्र बैंकले गरेको छ ।

अहिले २ रुपैयाँ दरको सिक्का टकमरी गर्दा लाग्ने लागतभन्दा १ रुपैयाँको सिक्का टकमरी गर्दा लाग्ने लागत बढी रहेको स्रोतले बतायो ।

हाल १ र २ रुपैयाँका दुवै सिक्का पहेँलो रङमा टकमरी हुँदै आएका छन् । अब १ रुपैयाँको सिक्का टकमरी गर्दा प्रयोग हुने धातुसमेत परिवर्तन हुने र १ रुपैयाँ दरको सिक्का नयाँ रङको हुने राष्ट्र बैंकले जनाएको छ ।

१ रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउन लागेको भन्दै आलोचना भएपछि भने सरकारले लो–घेकर गुम्बासहित नक्सा पनि राखेर डिजाइन परिवर्तन गरि पुन: सिफारिस गर्न भन्दै फिर्ता पठाएको स्रोतको दाबी छ ।

किन विवादित बन्यो लो–घेकर गुम्बाको चित्र अंकित गर्ने विषय ?

घार गुम्बा समेत भनिने लो–घेकर गुम्बा विश्वकै सबैभन्दा पुरानो गुम्बा मानिन्छ । यसको स्थापना ८ औँ शताब्दीमा गुरु पद्मसम्भव (गुरु रिन्पोछे) ले गरेका थिए । किम्बन्दती अनुसार तिब्बतको ‘साम्ये गुम्बा’ बनाउनु अघि गुरु रिन्पोछेले यहाँको राक्षसलाई मारेर यो गुम्बा बनाएका थिए।

सरकारले उक्त गुम्बाको चित्र सिक्कामा अंकित गर्ने निर्णय सार्वजनिक भएपछि त्यसबारे चर्चा र आलोचना भइरहेको छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता भीम रावलले बालेन नेतृत्वको सरकारले एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटिएको नेपालको नक्सा हटाएर अमेरिकी सहयोगमा बनेको गुम्बाको चित्र राख्ने निर्णय गरेको भन्दै सामाजिक सञ्जालमार्फत आलोचना गरेका थिए ।

उक्त गुम्बाको चित्र राख्न सरकारले राष्ट्र बैंकलाई निर्देशन दिएको भन्ने कुरा बाहिर आएको भन्दै उनले यो राष्ट्रघाती कदम भएको भन्दै आलोचना गरेका थिए ।

तिब्बती बौद्ध इतिहासमा घार गुम्बा तिब्बती बौद्ध धर्मको सबैभन्दा पुरानो न्यिङमा सम्प्रदायसँग सम्बन्धित छ । किम्बदन्ती अनुसार, एक शक्तिशाली राक्षसनीले तिब्बतमा साम्ये गुम्बा बनाउन दिइरहेकी थिइनन् । गुरु रिन्पोछेले उक्त राक्षसनीलाई हराएर उसको मुटु भएको ठाउँमा यो ‘लो घ्याकर’ गुम्बा बनाएका हुन्। गुम्बाका भित्ताहरूमा रहेका रातो रङलाई ती राक्षसनीको रगतको प्रतीक मानिन्छ।

लो घ्याकर गुम्बा अमेरिकी सहयोगमा पुनर्निर्माण भएको हो । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेपछि अमेरिकी दूतावास मार्फत ३ करोडभन्दा बढी नेपाली रुपैयाँ आर्थिक सहयोगमा मर्मत गरिएको थियो ।

तर, छिमेकी मुलुक चीनले भने तिब्बती सीमा नजिकको मुस्ताङ लगायतका हिमाली क्षेत्रमा अमेरिकी सहयोगमाथि आपत्ति जनाउँदै आएको छ ।

चीनले सिमाना नजिक अमेरिकी उपस्थिति बढ्नु वा अमेरिकाले त्यहाँका धार्मिक/सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष लगानी गर्नुले तिब्बत विरोधी गतिविधिलाई प्रोत्साहन गर्ने भन्दै आपत्ति जनाउँदै आएको हो ।