विज्ञ अर्थमन्त्री खतिवडाको साढे २ वर्ष, पारिवारिक मोह र करको सकस



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदबाट अवकास पाएपछि डा. युवराज खतिवडा केपी शर्मा ओलीको रोजाइमा परिसकेका थिए ।

२०७२ सालमा ओली पहिलो पटक प्रधानमन्त्री बन्दा ओलीले खतिवडालाई अर्थमन्त्री बनाउने थिए । संविधानले सांसद रहेको व्यक्ति मात्र मन्त्री बन्न पाउने व्यवस्था गरेको कारण खतिवडा योजना आयोगको उपाध्यक्ष बने ।

त्यसको २ वर्षपछि ओली दोस्रो पटक प्रधानमन्त्री बने । २०७२ सालको जस्तो कमजोर होइन, करिब दुईतिहाई मत सहित जितेर आएको बलियो प्रधानमन्त्री ।

ओलीले अर्थमन्त्रीको जिम्मेवारी आफूलाई वर्षौदेखि साथ दिएका नेतालाई नदिएर उही खतिवडालाई नै बनाए ।

ओलीले खतिवडालाई अर्थमन्त्री बनाएर अर्थव्यवस्था पुरानो माक्र्सवादी तरिकाबाट नचल्ने सन्देश दिएका थिए । बलियो नियमन राज्यको भूमिका सहितको बजार अर्थव्यवस्थाका पक्षपाती खतिवडाको नियुक्तिलाई समाजले स्वीकार गरेको थियो ।

ओलीले ठूला नेता पाखा लगाउँदा देशले पायो साढे २ वर्षपछि अर्थतन्त्र बुझेको अर्थमन्त्री

राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा पुगेका खतिवडाको भाग्यले नै कार्यकाल २ वर्ष हुन पुगेको थियो । फागुनमा कार्यकाल सकिएका खतिवडालाई ओलीले अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए ।

संविधान अनुसार अब खतिवडा साढे २ वर्षसम्म मन्त्री बन्न मिल्दैन । संविधानले संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री बनेमा उसले ६ महिनाभित्रमा संघीय संसद्को सदस्य हुनुपर्ने व्यवस्था गरेको थियो ।

६ महिनाभित्रमा सदस्य नबनेमा प्रतिनिधिसभाको बाँकी कार्यकाल भर सो व्यक्ति मन्त्री बन्न सक्ने संविधानमा उल्लेख छ । सोही व्यवस्था अनुसार अब खतिवडा मन्त्री प्रतिनिधिसभाको अर्को निर्वाचन नहुँदासम्म मन्त्री बन्ने छैनन् ।

अर्थमन्त्रालयमा अर्थतन्त्र नै बुझेको व्यक्ति हुनुपर्छ भन्ने बुझाइ थियो । खतिवडा अगाडि तीनवटा अर्थमन्त्री अर्थतन्त्रका जानकार थिएनन् ।

खतिवडाले अर्थमन्त्रीको शुरुवात राम्रो गर्लान भन्ने थियो । तर, पारिवारिक मोह उनले अर्थमन्त्री हुनासाथ देखाए । राष्ट्र बैंकमा कार्यरत उनका छोरीज्वाँई डा रामशरण खरेललाई बिराटनगरबाट अर्थमन्त्रालयमा काजमा ल्याए ।

नैतिकतालाई सबैभन्दा ठूलो मान्ने खतिवडाको पहिलो गम्भीर विचलन त्यही नै थियो । राष्ट्र बैंकमा गभर्नर हुँदा निर्देशक तहका कर्मचारीलाई पठाउने गरिएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा खतिवडाले ज्वाँईलाई पठाएका थिए ।

अर्थमन्त्रालयमा काज गएका खरेलले ससुराको शक्तिको यसरी दुरुपयोग गरेका थिए । उनको प्रस्तुती छायाँ अर्थमन्त्रीको जस्तै थियो ।

अर्थमन्त्री हुनेवित्तिकै गभर्नरलाई खतिवडाको पत्रः मेरा ज्वाइलाई आजैदेखि मन्त्रालय पठाउनु

अर्थमन्त्री बनेपछि खतिवडाले चैत १६ गते देशको आर्थिक स्थितीको बारेमा श्वेतपत्र जारी गरे । जसमा खतिवडाले अहिलेसम्म भएका उपलब्धी नै नभएको जस्तो देखाउनका लागि तथ्यांकको आफू अनुकुल प्रयोग गरेका थिए ।

३० पृष्ठ लामो र ८९ बुँदाको श्वेतपत्रलाई अहिले आएर विश्लेषण गर्ने हो भने उनी असफल नै भएको देखिन्छ ।

उनले बजेट विश्वसनीयतामाथि नै प्रश्न चिन्ह श्वेतपत्रमार्फत उठाएका थिए । ३ वटा बजेट ल्याएका खतिवडाले न बजेट विश्वसनीय बनाउन सके न इतिहासले नै उनको बजेटलाई सम्झने पनि देखिएको छैन । आर्थिक वर्षको अन्तिममा रकमान्तर, पहुँचवालाको क्षेत्रमा बढी बजेट तथा बजेट नै कार्यान्वयन गर्न नसकेको हुँदा उनको अर्थमन्त्रीको कार्यकाललाई सफल मान्नुपर्ने कुनै कारण नै छैन ।

कोभिडको कारण आफुले सुधार ल्याउन नसकेको घोषणा खतिवडाले आफ्नो कार्यकालको मूल्यांकनमा गर्न सक्छन् । तर, २ वर्षे कार्यकाल फागुनमा सकिँदा नै अर्थव्यवस्था राम्रो गतिमा हिँडेको थिएन ।

विश्वकप, मेस्सी र अर्थमन्त्री खतिवडा

खतिवडालाई अब कोभिडको कारण आयात कम भएको हुँदा आयात घटेको तथा व्यापारघाटा घटेको र शोधानान्तर बचत गरेको भन्ने तथ्यांक प्रस्तुत गर्ने सुविधा दिएको छ ।
तथ्यांकलाई आफू अनुकुल प्रयोग गर्न माहिर खतिवडाले यसलाई पक्कै पनि प्रयोग गर्लान् ।

राष्ट्र बैंकमा क्याडर खतिवडाले अर्थमन्त्रीको बन्दा पनि गभर्नरको मोह नै त्याग्न सकेनन् । राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री पद फरक हो । जुन उनले बुझ्न नै सकेनन् ।

अर्थमन्त्री भएको केहीदिनमा बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्ताको क्रममा उनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दिए । जसको असर उनको मन्त्रीको कार्यकालभर नै पर्यो ।

अर्थमन्त्री खतिवडाको ‘इन्टिग्रिटी’माथि गंभीर प्रश्न

उनी हट्ने हल्ला चल्दा बजार बढ्ने र रहने भएपछि बजार घट्न थाल्यो । सेयर बजारका अधिकांश लगानीकर्ताले उनको कार्यकाल सकिए हुन्थ्यो भन्ने नै कामना नै गरे ।

खतिवडामाथि लाग्ने आरोप भनेको उनले अरुले भनेका कुरा सुन्दैनन् र मैले मात्र बुझेको छु भन्ने थियो । तर, यो पटकको बजेटपछि उनको इमान्दारिताको प्रतिष्ठामाथि प्रश्न चिन्ह उठ्यो ।

बजेटमार्फत् चकलेटमा घटाएको भन्सार र विद्युतीय सवारी साधानमा बढाएको विषयमा उनले बारम्बार नै संसद्मा बयान नै थिए । उनले आफ्नो इमान्दारितामाथि प्रश्न उठाउन नभनेपनि आम जनतामा पढेका र बुझेका खतिवडा पनि उस्नै हुन् भन्ने भावना विकसित भयो ।

अर्थमन्त्रीको दबाबमा राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखको सरुवा

खतिवडाको मन्त्रीको रुपमा साढे २ वर्षको कार्यकालमा ओली सरकारले ल्याउने ३ वटा बजेट ल्याए । ३ वटा बजेट हेर्दा खतिवडालाई पूर्वअर्थमन्त्रीको रुपमा मात्र नाम लेखाए भन्दा केही फरक पर्दैन ।

अर्थमन्त्रीका रुपमा सुवर्ण शमसेर, महेश आचार्य, रामशरण महत, भरतमोहन अधिकारी, बाबुराम भट्टराई र सुरेन्द्र पाण्डे सम्झन लायक मानिन्छन् । यी बाहेकका अर्थमन्त्रीहरु सिंहदरबारमा फोटो झुण्ड्याउने बाहेकका सम्झन लायक काम गर्न सकेको देखिन्न । यही दोस्रो वर्गमा पर्नेछन् खतिवडा पनि ।

हाम्रा योद्दा अर्थमन्त्रीः न कान सुन्छन्, न आँखा देख्छन्, न त कुरा नै बुझ्छन्

शुरुवातमा सबै विज्ञ भन्दै वाहवाही गरेका उनको कार्यकाल सकिँदासम्म आलोचकहरु समग्र विज्ञतामाथि नै प्रश्न उठाउन थालिसकेका छन् । लामो समय राजनीति गरेर आएकाहरु हुँदाहुँदै अरुलाई उछिन्दै खतिवडा विज्ञ अर्थमन्त्रीका रुपमा मन्त्री बनेका थिए । नियुक्ती भएयता उनको विज्ञता कसैले पनि महसुस गर्न पाएनन् । बरु विभिन्न क्षेत्रमा बढाएको करका कारण कार्यकाल भरी नै चर्को आलोचना खेप्न बाध्य भए ।

योद्धा अर्थमन्त्रीलाई खुल्लापत्र

ती हुँदा हुँदैपनि उनको कार्यकालमा केही राम्रो कामको शुरुवात भएको छ । व्यवसायीहरुले आलोचना गरेपनि उनले बजेटमार्फत् तलबमा अनिवार्य स्थायी लेखा नम्बर(प्यान) चाहिने व्यवस्था गरे । यो नै उनको कार्यकालको सम्झना योग्य काम हो ।

अन्तिममा भन्नुपर्दा गभर्नरका रुपमा उनको कार्यकाल जति सम्झन लायक थियो त्यती अर्थमन्त्रीको कार्यकाल सम्झन लायक छैन ।


क्लिकमान्डु