ओलीले ठूला नेता पाखा लगाउँदा देशले पायो साढे २ वर्षपछि अर्थतन्त्र बुझेको अर्थमन्त्री




काठमाडौं । २०६६ सालको चैतमा डा. युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएर जाँदा देश घाटामा थियो । उनको गभर्नर पद सकिने बेला देशको शोधानान्तर उच्च नाफामा गएको थियो । देशबाट भित्रने र बाहिरिने रकमको अन्तर शोधान्तर घाटामा थियो बैंकिङ प्रणालीमा समस्या थियो ।

डा. खतिवडाले सुन, गाडीलगायतका बिलाशी बस्तुहरुको आयातमा कडाइ गर्ने नीति अबलम्बन गरेपछि त्यसले देशको भुक्तानी सन्तुलनलाई बचतमा ल्याएको थियो ।

२०७४ सालमा डा. खतिवडा अर्थमन्त्री बनेर आउँदा पनि देशको आर्थिक अवस्था फरक छैन । पुस मसान्तसम्ममा शोधानान्तर घाटा साढे ६ खर्ब रुपैयाँ नाघेको छ । बैंक तथा वित्तीय संस्थामा खतिवडा गभर्नर बनेर आउँदा शुसासनको समस्या थियो । अहिले शुसासनको समस्या नदेखिएपनि बैंकहरु ऋण दिन नसक्ने अवस्थामा छन् ।

सोमाबार सबैभन्दा बढी सस्पेन्स अर्थमन्त्रालयलाई लिएर थियो । मन्त्रीपरिषद् बिस्तार सोमबार हुने कुरा तय थियो । आइतबार सर्बोच्च अदालतले केपी ओली सरकारले गरेको राष्ट्रियसभा सिफारिस गरेकालाई सपथ नखुवाउन अन्तरिम आदेश दियो । ओली सरकारले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पूर्वगभर्नर डा. खतिवडा सहित बिमला पौडेल र रामनारायण बिडारीको नाम राष्ट्रियसभामा सिफारिस गरेको थियो ।

खतिवडाको सिफारिससँगै अर्थमन्त्रीको जिम्मा खतिवडाले पाउने अनुमान सबैको थियो । तर, आइतबार सर्बोच्चको अन्तरिम आदेशले खतिवडा अर्थमन्त्री नबन्ने बुझाई धेरैले गरे । दिनभर धेरै संचारमाध्यममा इश्वर पोखरेल अर्थमन्त्री बन्न लागेको खबर आए ।

तर, सपथग्रहणको समय नजिक आउन लागेपछि खतिवडालाई अर्थमन्त्रालय दिने सार्वजनिक भयो ।

खतिवडाले अर्थमन्त्री बन्न पार्टीका सबै बरिष्ठलाई पछाडि पारे । स्वय महासचिव इश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीपनि अर्थमन्त्रीका आकाक्षीं थिए । जसमा पोखरेल रक्षामन्त्री बने ।

तर, पार्टी अध्यक्ष समेत रहेका ओलीको इच्छा अर्थमन्त्रालयको जिम्मा अर्थतन्त्र बुझेका व्यक्तिलाई बनाउने भएपछि पार्टीका बरिष्ठ नेता पनि पाखा लागे ।

अर्थतन्त्रको अवस्था कस्तो छ त्यसमा खतिवडा आफै धेरै नै जानकार छन् ।

खतिवडाको लागि घरजग्गा र सेयर बजारका लगानीकर्ता प्रियकर होइनन् । उनी गभर्नर बनेर आउनु अगाडि विजयनाथ भट्टराई गभर्नर भएका समयमा घरजग्गा कर्जामा सिलिङ लागिसकेको थियो । यो नीतिलाई खतिवडाले कडाईका साथ कार्यान्वयन गरे भने सेयर कर्जामा जाने ऋणमा पनि कडाई गरे ।

काठमाडौं केन्द्रीत बैंकलाई उपत्यका बाहिर दुरदराजमा लैजान खतिवडाको नीतिले नै काम गरेको थियो । उत्पादन सहित तोकिएको क्षेत्रमा बैंकहरुलाई कर्जा दिन लगाउने तथा बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर तथा एक्वीजेशन नीति खतिवडाकै पालामा आएको थियो ।

खतिवडा राष्ट्रियसभामा गएपछि सेयर बजारमा खतिवडाको फोबिया देखिएको छ । जुन सोमबारको कारोबारले पनि पुष्टी गरिदियो । बजार खुल्नासाथ इश्वर पोखरेल अर्थमन्त्री बन्ने समाचार आएपछि बजार बन्द हुने बेला खतिवडा हुने कुरा आयो । बजार अन्तिममा १५.७८ अंकले घटेर बन्द भयो । यद्यपी सेयर बजार घट्ने र बढ्ने अरुपनि कारण छन् ।

देशको अर्थतन्त्र सुधार गर्न र उद्यमशिलताको विकास गर्न कस्ता नीति चाहिन्छन् त्यसमा खतिवडा आफंै जानकार छन् । दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएको तथा राष्ट्र बैंकमा गभर्नर भएको राष्ट्र बैंकमा नै अनुसन्धान विभागमा लामो समय बिताएको हुँदा अर्थतन्त्रका सानादेखि ठूला विषय उनी आफैंलाई जानकारी छ ।

खतिवडाको अर्थमन्त्री इन्ट्रीसँगै देशले करिब साढे २ वर्षपछि अर्थतन्त्र बुझेको अर्थमन्त्री पाएको छ । अर्थशास्त्र पढेर मात्रै अर्थमन्त्री बन्नुपर्ने भनेर कोहीपनि लेखिएको छैन । सुरेन्द्र पाण्डे अर्थशास्त्र नबढेपनि राम्रो ढंगले अर्थमन्त्रालय चलाएर बिदा भएको थिए ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा एसएलसी पास गरेका बिष्णु पौडेललाई अर्थमन्त्री बनाएका ओली यो पटक उनकै अडानको कारण अर्थतन्त्र बुझेको व्यक्तिले अर्थमन्त्रालयको जिम्मा पाएको छ ।

पौडेलपछि प्रचण्ड प्रधानमन्त्री हुँदापनि अर्थतन्त्र नबुझेका कृष्णबहादुर महरा अर्थमन्त्री भए भने त्यसपछि देउवा सरकारको पालामा ज्ञानेन्द्रबहादुर कार्की मन्त्री भए । अर्थतन्त्र नबुझेका अर्थमन्त्री हुँदा कस्तो हुन्छ भन्ने कुरा देशले भोगिसकेको छ ।

ओलीको कोर टिममै बसेर बाम गठबन्धनको घोषणापत्र लेख्नेदेखि ओली सरकारको भावी रणनीतिको विषयमा काम गरेका खतिवडा राष्ट्र बैंकका क्याडर हुन् । उनी राष्ट्र बैंकमा जागिरे भएपनि बामपन्थी निकट थिए । मौद्रिक अर्थशास्त्रमा दिल्ली स्कुल अफ इकोनोमिक्सबाट पिएचडी गरेका खतिवडा कडा नियमन सहितको खुला बजार अर्थतन्त्रका पक्षपाती हुन् ।

अनौपचारिक अर्थतन्त्रको आकार कसरी बढेको छ यसको बारेमा खतिवडा बारम्बार बताउने गर्थे । ओलीले अर्थमन्त्रीको रुपमा सहि समयमा सहि व्यक्तिको छनोट गरेको चर्चा छ । संघियतामा गएको हुँदा स्रोत व्यवस्थापनको गर्न कठिन छ । अर्थतन्त्र पूर्ण रुपमा डामाडोल भएको स्थितीमा ओलीको कोरटिममा खतिवडा मात्र अर्थतन्त्रको वास्तविक अवस्था बुझेका व्यक्ति थिए ।

खतिवडाले गर्ने काम र स्वय प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरुबीच आकाश जमिनको फरक छ । ओलीले प्रधानमन्त्री बन्नु अगाडि सम्पत्ती शुद्धिकरण निवारणको विषयमा कानून विपरित गएर लगानी भित्राउन कालोसेतो हेर्न नहुँने अभिव्यक्ति दिए । खतिवडा आफंै गभर्नर भएको समयमा नेपालले सम्पत्ती शुद्धिकरण निवारणको क्षेत्रका कानूनहरु पास गरेको छ । पछिल्लो समय एमाले आफंैले फस्टाउँदै लगेको ‘क्रोनी क्यापिटलजिम’को खतिवडा विरोधी हुन् ।

खतिवडालाई कार्यकर्ताको दवाव भने आउने छैन । यद्यपी ठूला नेताको दवाव कति थेग्छन् यसले नै उनको कार्यकालको सफलता देखाउने छ । राष्ट्र बैंकमा ५ वर्षे सफल गभर्नर बनेर बिताएका खतिवडा अर्थमन्त्री कार्यकाल कसरी देखाउँछन् त्यो आगामी दिनले नै देखाउने छ ।

संविधानले संघीय संसदको सदस्य भएको व्यक्तिलाई मात्र मन्त्री बनाउन सकिने ब्यवस्था गरेको छ । मन्त्री बन्दा संघीय संसद्को सदस्य नभएपनि ६ महिनाभित्र सदस्य बन्नुपर्ने व्यवस्था संविधानमा छ । ६ महिनाभित्रमा संघीय संसद्को सदस्य नबनेमा खतिवडाको अर्थमन्त्री पद भने खारेज हुने छ ।


पुष्प दुलाल