
काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (ईभी) मा लगाउँदै आएको कर प्रणालीमा परिवर्तन गरेको छ। पहिले मोटरको पिक पावर (किलोवाट) का आधारमा कर निर्धारण हुने गरेकोमा अब गाडीको मूल्यका आधारमा कर लाग्ने नयाँ व्यवस्था लागू गरिएको हो । यो नयाँ व्यवस्थाले विद्युतीय गाडीको मूल्यमा उल्लेख्य वृद्धि नहुने देखिएको छ ।
विगतमा, सरकारले विद्युतीय गाडीको मोटर क्षमता (किलोवाट) अनुसार भन्सार, अन्तःशुल्क, सडक दस्तुर र मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदै आएको थियो । ५० किलोवाटसम्मका गाडीमा ५ प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा ३०० किलोवाटभन्दा माथिका गाडीमा ५० प्रतिशतसम्म अन्तःशुल्क थियो भने त्यसअघि १५ देखि ८० प्रतिशतसम्म भन्सार महसुल लाग्दथ्यो । जसअनुसार ईभीमा न्यूनतम ४१.४५ प्रतिशतदेखि २१० प्रतिशतसम्म कर लाग्दथ्यो ।
नयाँ बजेटमार्फत सरकारले अन्तःशुल्कलाई पूर्ण रूपमा खारेज गरी त्यसको सट्टा ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ कर कार्यान्वयनमा ल्याएको छ । अब सबै विद्युतीय गाडीमा भन्सार महसुल २० प्रतिशत लाग्नेछ भने मूल्यका आधारमा विभिन्न दरमा स्वच्छ पूर्वाधार लगानी शुल्क निर्धारण गरिएको छ । यसका अतिरिक्त, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत सडक निर्माण दस्तुरलाई भने यथावत राखिएको छ ।
नयाँ व्यवस्थाअनुसार ईभीमा कुल ४४ प्रतिशतदेखि २१७ प्रतिशतसम्म कर लाग्ने भएको छ । जसअनुसार २० लाख रूपैयाँ इन्भ्वाइस मूल्य रहेका कारमा ४४ प्रतिशत कर लाग्दछ । यसैगरी विवादित २०-३० लाख मूल्य रहेका ईभीमा ६८ प्रतिशत कर लाग्ने अर्थ मन्त्रालयको दाबी छ । यद्यपि आर्थिक विधेयकमा यससम्बन्धि फरक व्यवस्था छ ।
३० देखि ४० लाख रूपैयाँ इन्भ्वाइस मूल्य भएका कारमा ८८ प्रतिशत, ४० देखि ५० लाख रूपैयाँका ईभीमा १६३ प्रतिशत र ५० लाख रूपैयाँ भन्दा बढीका ईभीमा २१७ प्रतिशत कर लाग्ने भएको छ ।
नयाँ कर प्रणालीले विशेषगरी कम मूल्य तर बढी किलोवाट भएका विद्युतीय गाडीलाई राहत मिल्ने भएको छ । उदाहरणका लागि पुरानो व्यवस्थामा ५० देखि १०० किलोवाट क्षमताको गाडी (जसको मूल्य सामान्यतया २० देखि ४० लाखको बीचमा पर्न सक्छ) मा कुल करभार ६१% थियो ।


अन्तःशुल्कको खारेजी र भन्सार दरमा भएको समायोजनले समग्रमा मूल्यमा ठूलो फेरबदल नआउने देखिन्छ ।
पुरानो किलोवाटमा आधारित र नयाँ मूल्यमा आधारित दुईवटा कर प्रणाली र गाडीहरूको इन्भ्वाइस मूल्यलाई तुलना गर्दा केही गाडीको मूल्य घट्ने र केहीको बढ्ने देखिन्छ ।
खासगरी ३० लाखभन्दा कम इन्भोइस मूल्य भएका र धेरै किलोवाट भएका गाडीहरू (जस्तै जेको, जिलीका केही मोडल) सस्तो हुन सक्छन् । यसैगरी १५-२५ लाख इन्भोइस मूल्य भएका साना गाडीको मूल्यमा सामान्य मात्र वृद्धि हुनेछ ।
यता ४० लाखभन्दा माथि इन्भ्वाइस मूल्य भएका गाडीहरू (टेस्ला, बीएमडब्लू र अडि लगायत) निकै महँगो हुनेछन् ।
सरकारको नयाँ नीतिले शक्तिशाली तर सस्तो गाडीलाई प्रोत्साहन र विलासी गाडीलाई निरुत्साहित गरेको छ ।
मूल्य घट्न सक्ने गाडीहरू
नयाँ व्यवस्थाले जेको, जिलीलगायत गाडीहरूलाई फाइदा पुर्याउँछ ।
मोटर पिक पावर १३५ किलोवाट रहेको जेको सिक्स र मोटर पिक पावर १६० किलोवाट रहेको जिली ग्यालेक्सीमा साबिकको व्यवस्थाअनुसार ८१.२८% कर लाग्दथ्यो । अब (अर्थको दाबीअनुसार) ६७.७२% कर लाग्नेछ । अर्थात् यो कारमा कर भार करिब १३.५% ले घट्ने देखिन्छ, जसले गर्दा गाडीको मूल्य केही सस्तो हुन सक्छ ।
यसैगरी जेको जेफाइभ, बीवाईडी एट्टो टु, लिपमोटर र प्रोटोनका कारको पनि मूल्य घट्ने देखिन्छ ।
मूल्यमा खासै ठूलो वृद्धि नहुने गाडीहरू
सस्तो मूल्यका र कम किलोवाटका गाडीहरूको करमा सामान्य वृद्धि भए पनि बजार मूल्यमा ठूलो प्रभाव नपर्ने देखिन्छ । मोटर पिक पावर ४८ किवा रहेको टाटा टियागो, बीवाईडीको एट्टो वानमा कुल ४१.४५% कर लाग्थ्यो । अब भने ४३.९९% कर लाग्नेछ । अर्थात् करमा करिब २.५% को सामान्य वृद्धि मात्र हुनाले गाडीको बिक्री मूल्य पनि सामान्य दरले बढ्न सक्छ ।
यीबाहेक टाटा टिगोर, टाटा एस, ओमोडा फाइभ, महिन्द्रा ट्रियो, फर्थिङ, नामी, दीपाल, बीवाईडी सिलायन, ईभीइजी र जिनपेङको ईको मूल्य पनि झिनो अन्तरले बढ्नेछ ।
मूल्य बढ्ने गाडीहरू
२५ लाख भन्दा माथि इन्भोइस मूल्य भएका र १०० किलोवाट मुनिका गाडीको मूल्य केही बढ्न सक्छ । बीवाईडी एट्टो थ्रीमा ६०.९४% कर लाग्ने गरेकामा अब ६७.७२% प्रतिशत कर लाग्छ । यद्यपि यो दर आर्थिक विधेयक र अर्थ मन्त्रालयको दाबी अनुसार फरकफरक हुन सक्छ ।
यसैगरी ९९ किलोवाट पिकपावर रहेको महिन्द्रा बीईसिक्समा ६०.९४% कर लाग्ने गरेकामा अब ८८.०६% प्रतिशत कर लाग्नेछ ।
यसको अर्थ बीवाईडीको कर ७ प्रतिशत र महिन्द्राको २७% ले बढ्नेछ । बढेको यी करको दरले मूल्य उल्लेख्य बढाउन सक्छ ।
मूल्य अत्याधिक बढ्ने गाडीहरू
४० लाख भन्दा माथि इन्भोइस मूल्य भएका गाडीहरूको मूल्य निकै महँगो हुनेछ । टेस्लाको कारमा यसअघि ८१.२८% प्रतिशत कर लाग्ने गरेकामा अब १६२.६४% प्रतिशत लाग्ने देखिन्छ । यो कारमा कर भार ८१% भन्दा धेरैले बढ्ने देखिन्छ । यो गाडीको मूल्य निकै नै बढ्नेछ ।
यसैगरी बीएमडब्लूको ईभीमा पनि ८१.२८% कर लाग्ने गरेकामा अब २१६.८८% कर लाग्नेछ । यो कारमा कर भार १३५% सम्मले बढ्नेछ ।
यसरी टेस्ला, बिएमडब्लू, अडी दीपालको ट्रान्सफर्मर ईभी लगायत गाडीमा नयाँ व्यवस्थाले सबैभन्दा बढी भार थपेको छ ।





प्रतिक्रिया