पिपुल्स इनर्जीको ६६ लाख कित्ता शेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त

56
Shares

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको साधारण शेयरको प्रत्याभूति (अण्डरराइटिङ) का लागि ज्योति क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६६ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कुल ६६ करोड रुपैयाँ बराबरको यो शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने सम्बन्धमा सोमबार दुई संस्थाबीच औपचारिक सम्झौता भएको छ ।

ज्योति क्यापिटलको रजिष्टर्ड कार्यालयमा आयोजित एक समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जीका तर्फबाट महाप्रबन्धक जनार्दन अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ ।

‘हरेक ग्राहकको सम्पन्नताको सहयात्री’ बन्ने लक्ष्य बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति र शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।