दीपक भट्टलाई शंकर ग्रुपको साढे ७१ करोड रुपैयाँ ऋण, छैन साझेदारी

973
Shares

काठमाडौं । व्यवसायी दीपक भट्ट र व्यावसायिक घरान शंकर ग्रुपबीच मोटो रकम कारोबार भएको पाइएको छ । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टलाई शंकर ग्रुपले पटक पटक गरेर ७१ करोड ६० लाख रुपैयाँ ऋण दिएको खुलेको हो ।

सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागले भट्ट र शंकर ग्रुपका कार्यकारी निर्देशक सुलभ अग्रवाललाई २ महिनाअघि पक्राउ गरेर हिरासतमा लिई अनुसन्धान गरिरहेको छ । भट्टलाई गत चैत १९ गते र अग्रवाललाई चैत २१ गते पक्राउ गरिएको थियो । उनीहरु दुबै जना हाल पनि प्रहरी हिरासतमै छन् ।

हिमालयन रि इन्योरेन्स लगायत विभिन्न इस्योरेन्स कम्पनीको अर्बौं रकम दुरुपयोग गरी सेयर बजारमा लगानी गरेको अभियोगमा भट्ट र अग्रवालसहित दर्जनौंमाथि अनुसन्धान भइरहेको छ । सीआईबीले बिमा सम्बन्धी कसुरमा भट्ट र अग्रवालसहित ४० जनालाई अर्बौं बिगो दाबी गर्दै मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ । तर, सरकारी वकिल कार्यालयले भने अहिलेसम्म अभियोजन गरेको छैन ।

व्यवसायी भट्टको सम्पत्तिको स्रोत खोज्ने क्रममा शंकर ग्रुपबाट पटक-पटक गरेर मोटो रकम ऋण लिएको पाइएको हो ।

‘अनुसन्धानका क्रममा दीपक भट्टले शंकर ग्रुपबाट बैंकिङ च्यानल नै प्रयोग गरेर करोडौं ऋण लिएको पाइएको छ’ अनुसन्धानमा संलग्न एक अधिकारीले क्लिकमान्डुसँग भने, ‘यसको वास्तविकता के हो भनेर पनि छानविन गरिरहेका छौं ।’

दीपक भट्टलाई ७१ करोड ६० लाख रुपैयाँ ऋण दिएको शंकर ग्रुपका अधिकारीहरु पनि स्वीकार गर्छन् ।

‘करिब ८/१० पटक गरेर हाम्रो समूहबाट दीपक भट्टलाई ७१ करोड ६० लाख रुपैयाँ बैंकिङ च्यानल प्रयोग गरेर ऋण दिइएको छ’ शंकर ग्रुप स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘त्यसका सबै कागजात हामीसँग सुरक्षित छन् । भट्टजी हिरासतमुक्त हुने वित्तिकै उक्त ऋण फिर्ता माग्ने तयारी गरिरहेका छौं ।’

२०७९ सालमा जगदम्बा स्टीलको खाताबाट दीपक भट्टलाई ४५ करोड रुपैयाँ भुक्तानी भएको विषयमा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले रिपोर्ट गरेको थियो । यति ठूलो रकम व्यक्तिगत खातामा भुक्तानी भएको पाइएपछि राष्ट्र बैंक र सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागले अनुसन्धान गरेका थिए ।

जगदम्बा स्टीलले बैंकबाट ऋण लिएको रकम भट्टलाई दिएको थियो । उक्त रकम पनि भट्टले ऋणकै रुपमा चलाएका थिए । स्रोतका अनुसार २ वर्षपछि भट्टले उक्त ऋणको सावाँव्याज सहित चुक्ता गरिसकेका छन् । त्यसअघि र पछि गरेर ७१ करोड ६० लाख रुपैयाँ शंकर ग्रुपले भट्टलाई ऋण दिएको हो ।

भट्टले शंकर ग्रुपबाट ऋण लिएर विभिन्न कम्पनीमा लगानी विस्तार गरेको भेटिएपछि उनीमाथि सम्पत्ति शुद्वीकरणको कसुर पुष्टि गर्न नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो र सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागका अधिकारीहरुलाई हम्मेहम्मे परेको छ ।

‘सम्पत्तिको स्रोत नै ऋण लिएको देखिएपछि हामी अलमलमा परेका छौं, शंकर ग्रुपका अधिकारीहरुले एकै व्यक्तिलाई किन यति ठूलो ऋण दिए भन्ने शंका उब्जिएको छ,’ अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘हामीले त्यसबारे पनि नजिकबाट नियालीरहेका छौं ।’

यद्यपि वार्षिक खर्ब हाराहारीको कारोबार गर्ने शंकर ग्रुपका लागि ७० करोड रुपैयाँ खासै ठूलो रकम भने होइन ।

‘जालो फनफनी घुमेको छ, ऋण लिने र दिने विषयलाई कानूनले अबैध भन्दैन’ स्रोतले भन्यो, ‘कारोबारको औचित्य पुष्टि गर्न हामीलाई पनि चुनौति थपिएको छ ।’

हिरासतमा रहेका सुलभले दीपक भट्टसँग आफ्नो कुनै पनि रकम लेनदेन नभएको बयान दिएका छन् । तर उनले आफ्नो परिवारका सदस्यहरुको भने लेनदेन बाँकी रहेको स्वीकार गरेका छन् ।

सीआईबीसँगको बयानमा अग्रवालले भनेका छन्, ‘ जगदम्बा स्टिल्स मेरो कम्पनी होइन । दीपक भट्टसँग मेरो हाल रकम लेनदेन छैन । मेरो परिवारका सदस्यहरूको केही लेनदेन बाँकी छ ।

भट्टसँग आर्थिक कारोबार भए पनि कुनै पनि आयोजनामा साझेदारी नभएको शंकर ग्रुपका अधिकारीहरु बताउँछन् ।

‘दीपक भट्टसँग हाम्रो व्यक्तिगत आर्थिक कारोबार छ, हाम्रो परिवारले भट्टलाई दिनु छैन तर करोडौं रुपैयाँ लिनु छ,’ शंकर ग्रुपका एक पारिवारिक सदस्यले क्लिकमान्डुसँग भने, ‘बजारमा भट्ट र शंकर ग्रुपबीच व्यापारिक साझेदारी भएको हल्ला छ, त्यो पूर्णरुपमा झुटो हो ।’

कोरोना महामारीका समयदेखि शंकर ग्रुप र भट्टबीच सम्बन्ध कसिएको थियो । खासगरी सुलभ र दीपकको जोडी राम्रैसँग जमेको थियो । उनीहरुमाथि सत्तालाई हातमा लिएर बजार कब्जा गर्न खोजेको आरोप पनि लाग्दै आएको छ ।

तर यसरी जमेको जोडी अहिले भने टुटेको छ । उनीहरु एकले अर्कालाई दोसारोपण गरिरहेका छन् ।

भटट्ले आफ्नो टीएमएस भृकुटी स्टक ब्रोकर र सुलभ अग्रवालले दुरुपयोग गरी अर्बौंको सेयर किनेर जालसाजी गरेको आरोप लगाएका छन् भने सुलभले उक्त आरोपलाई ठाडै अस्वीकार गर्दै भट्ट र उनका कर्मचारीले आफ्नो कार्यालमा आएर फ्रि वाईपाई प्रयोग गरी कारोबार गरेको हुनाले आफ्नो कार्यालयको आइपी एड्रेस देखिएको बताएका छन् ।

भट्टले सीआईबीसँगको बयानमा भनेका छन्, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयानका क्रममा मात्रै मेरो नाममा रहेको खाता प्रयोग गरी कारोबार भएको जानकारी पाएको हुँ । उक्त कारोबार कसले र कसरी गरेको हो भन्ने विषयमा सम्बन्धित ब्रोकरसहित विस्तृत छानबिन गरी कारबाही गरिपाऊँ । मेरो संलग्नता नभएकाले रकम दुरुपयोगबारे मलाई कुनै जानकारी छैन । मैले कुनै सेयर कारोबार गरेको छैन । भृकुटी ब्रोकर कम्पनीमार्फत मेरो नाम प्रयोग गरी कारोबार गरिएको रहेछ । सेयर खरिदका लागि आवश्यक सहमति, निर्देशन तथा अनिवार्य २५ प्रतिशत कोल्याटरलसमेत मैले उपलब्ध गराएको छैन । टीएमएस पनि मैले सञ्चालन गरेको होइन, अन्यत्रैबाट चलाइएको जानकारी अनुसन्धानका क्रममा पाएको हुँ । ब्रोकरसँग मेरो कुनै आर्थिक लेनदेनसमेत भएको छैन, त्यसैले म उक्त कारोबारको लाभग्राही पनि होइन । बरु मेरो टीएमएस खातामा सेयरको मूल्य वृद्धि गरी डम्प गरिएको देखिन्छ । अनुसन्धानका क्रममा एउटै आईपी एड्रेसबाट मेरो तथा मसँग सम्बन्धित कम्पनीहरूको टीएमएस सञ्चालन भएको जानकारी प्राप्त भएकाले वास्तविक प्रयोगकर्ता, वास्तविक धनी र उनीहरूको मनसायबारे विस्तृत अनुसन्धान गरियोस् । मैले ब्रोकरको सल्लाहअनुसार सम्झौता गरेको भए पनि कारोबारसम्बन्धी कानुनी प्रक्रिया र जिम्मेवारीबारे जानकारी राख्ने दायित्व ब्रोकरकै हो । त्यसैले मैले अन्य कानुनी उपचारको प्रक्रिया नगरेको हो ।’

तर भट्टको आरोपलाई अग्रवालले ठाडै अस्वीकार गरेका छन् । सीआईबीसँको बयानमा अग्रवालले भनेका छन्, ‘ मैले अन्य कसैको टीएमएस युजरनेम र पासवर्डसमेत प्राप्त गरी आफूअनुकूल कारोबार गर्ने-गराउने गरेको छैन । मेरो अफिसमा को–के व्यक्ति आएर उक्त कारोबार गरेका हुन्, मलाई जानकारी भएन । आईपी प्रयोग सम्बन्धमा मेरो कार्यालयमा फ्रि वाईफाई भएकाले उक्त कार्यालयका कर्मचारीहरू र दीपक भट्ट वा उनका स्टाफहरूले प्रयोग गरेको हुनसक्दछ । दीपक भट्टबाट भएका कारोबार सम्बन्धमा भट्ट वा उनका कर्मचारीहरूसमेत मेरो कार्यालयमा आउने-जाने भएकाले मेरो कार्यालयको आईपी एड्रेस प्रयोग भएको हुनसक्छ । यसमा मेरो कुनै भूमिका छैन ।’