सुलभले दीपकलाई फसाएका हुन् कि मिलिजुली हिमालयन रिको रकम दुरुपयोग गरियो ? यस्तो छ नालीबेली

609
Shares

अघिल्लो भागबाट क्रमश…

काठमाडौं । बहुचर्चित र विवादमा तानिइरहने व्यवसायी दीपक भट्ट चालु आर्थिक वर्षदेखि मात्र सेयरको दोस्रो बजारमा प्रवेश गरेका हुन् । उनले खरिद गरेको पहिलो स्क्रिप्ट नै नेपाल पुनर्बिमा कम्पनी (नेपाल रिइन्स्योरेन्स कम्पनी) हो ।

भट्टलाई नेपाल रिको सेयर किन्न लगाउने व्यक्ति हुन्, उनका साझेदारसमेत रहेका विश्वासपात्र सुलभ अग्रवाल । 

त्यही नेपाल रिको सेयर किनेकै कारण भट्ट अहिले सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागको अनुसन्धानमा तानिएका छन् । गत साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भट्टलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जिम्मा लगाएको छ । विभागले ललितपुर प्रहरी परिसरको कस्टडीमा राखेर उनीमाथि अनुसन्धान गरिरहेको छ ।

कांग्रेस, एमाले र माओवादीको सरकार हुँदा शक्तिको चरम उपयोग गरेका भट्ट गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिवेशमा शक्तिहीन भएका छन् । अझ गत फागुन २१ गतेको निर्वाचनको परिणामले उनलाई पूर्णत शक्तिहीन बनाइदिएको छ ।

कुनै समय सत्ता ढाल्न र बनाउन सक्नै हैसियत राख्ने भट्ट अहिले आफैं पक्राउ परेपछि दाह्रा र नंग्रा फुकालेर चिडियाखानामा राखेको बाघ बन्नु परेको छ । त्यो पनि आफ्ना अति नै विश्वाशपात्र सुलभले भनेर सेयर किनेकै कारण ।

रमाइलो कुरा त के छ भने प्रहरी हिरासतमा रहेका भट्टले आफूलाई सुलभ अग्रवाल र ब्रोकरले मिलेर फसाएको बयान दिएका छन् । पहिलो संस्करणमा क्लिकमान्डुमा समाचार सम्प्रेषण भइसकेको छ ।

भट्टको यो बयानले कर्पोरेट जगतमा हंगामा मच्चायो । प्रहरीले पनि अनुसन्धान मोड्यो । सुलभ पक्राउ परिसकेका छन् । सुलभको बयान लिइसकिएको भए पनि उनले के बयान दिए भनेर अहिलेसम्म स्रोतहरुले क्लिकमान्डुलाई भनेका छैनन् ।

भट्टले दिएको बयानका विषयमा भने स्रोतहरुले क्लिकमान्डुलाई जानकारी दिएका छन् ।

बयानका क्रममा भट्टले भनेका छन्, ‘५ जना साथीहरु मिलेर ५०–५० करोड रुपैयाँ उठाएर साढे २ अर्ब रुपैयाँको पुल फन्ड बनाउने, सो रकम भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५)लाई दिने, भृकुटीले उनीहरुको नाममा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर किनिदिने, चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउन नेपाल रिले हकप्रद सेयर जारी गर्नैपर्ने स्थितिमा सरकारले लगानी गर्न नसकेको सेयर लिलाममा गएपछि सस्तोमा किन्ने । हकप्रद जारी गरेपछि नेपाल रिको सेयर मूल्य बढ्छ नै, त्यसपछि बाहिरिने । यसो गर्दा मनग्ये नाफा हुन्छ भन्ने योजना सुलभले सुनाए ।’

‘आफूलाई अरु कसैले फसायो’ भन्ने भट्टले जवाफ अनुसन्धान गर्नेहरुलाई हजम भइरहेको थिएन । र हुने पनि कुरा भएन । किनभने, केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डलाई मिलाएर आफूले जे चाह्यो त्यही काम गराउन सक्ने हैसियत भएका भट्टलाई एउटा मामुली व्यवसायीले फसायो भन्दा सहजै पत्याउन सक्ने विषय पनि भएन ।

यद्यपि भट्टले दिएको जवाफलाई अनुसन्धानकर्ताहरुले मिहिन ढंगले संश्लेषण गरिरहेका छन् ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार गत असारतिर व्यावसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ग्रुपका परामर्शदाता दीपक भट्टसामू एउटा गज्जबको बिजनेस प्रपोजल ल्याएका रहेछन् ।

प्रायः सबैलाई ‘दाइ’ भनेर सम्बोधन गर्ने सुलभ दीपकलाई भन्छन्, ‘दाइ, हामीले एउटा पुल फन्ड बनाउन खोजिरहेका छौं । तपाईं कतै जानु परेन, केही गर्नुपर्दैन । ५ जना मिलेर ५०–५० करोड रुपैयाँ संकलन गर्छौं । ४ जना मैले खोजिसकेको छु । म पाचौं भएँ । तपाईंले पैसा हाल्नुपर्दैन । त्यो पुल फन्डको २ अर्ब ५० करोड रुपैयाँ ब्रोकरलाई दिऔं । त्यो ब्रोकरमा तपाईंको टीएमएस खाता खोलौं । ब्रोकरले तपाईंलाई कारोबार गर्न क्रेडिट दिन्छ । ब्रोकरले नेपाल रिइन्स्योरेन्सको सेयर तपाईंको नाममा किनिदिन्छ । यसको सेटलमेन्ट वार्षिक रुपमा गरौंला । हकप्रद सेयर ल्याउनुपर्ने भएकाले नेपाल रिको मूल्य त पक्का बढ्छ । नेपाल रिको मूल्य बढेपछि ब्रोकरले बेचिदिन्छ । त्यसमाथि नेपाल रिमा सरकारको ४४ प्रतिशत लगानी छ । हकप्रदमा करिब साढे ४ अर्ब रुपैयाँ सरकारले हाल्दैन । हामी त्यसमा पनि केही सेयर सस्तोमा (४ देखि ५ सय रुपैयाँ प्रतिकित्ता) किनौंला । त्यसको पनि मूल्य बढिहाल्छ । भाउ बढेपछि ब्रोकरले बेचिदिइहाल्छ । नाफैनाफा । नाफा बाँडेर लिउँला ।’

नेपाल रि इन्स्योरेन्स विदेशी बजारमा जानका लागि पनि २०० मिलियन डलर बराबरको पुँजी हुनुपर्ने र नेपाल बिमा प्राधिकरणले पनि पुनर्बिमा कम्पनीको हकमा २० अर्ब पुँजी पुर्‍याउनुपर्ने व्यवस्था छ । त्यसो हुँदा नेपाल रिको हकप्रद आउने पक्का थियो । साथै, सरकार आफैंले साढे ४ अर्ब रुपैयाँ थप लगानी पुनर्बिमा कम्पनीमा गर्छ कि गर्दैन भन्ने मुख्य प्रश्न थियो, त्यतिबेला । सरकारले लगानी नगरे त्यो सेयर पनि आफैंले किनेर थप नाफा गर्ने योजना बनेको थियो ।

सहमति जुटेपछि भट्टलाई उधारो दिने र वार्षिक रुपमा राफसाफ गर्ने गरी २०८२ साउन  २ गते मा ५५ नम्बर ब्रोकर कम्पनीसँग सम्झौता पनि भयो ।

सुलभको योजनाअनुसार ५ मध्ये तत्कालीन हिमालयन रिका अध्यक्षसमेत रहेका शेखर गोल्छाले भृकुटी स्टक ब्रोकरको खातामा ५२ करोड ५० लाख र रोहित गुप्ताले ४७ करोड ५० लाख गरी कुल १ अर्ब रुपैयाँ हाले ।

५ मध्ये ३ व्यवसायी (शेखर गोल्छा, अमित मोर र रोहित गुप्ता) हिमालयन रिकै सञ्चालक भएका नाताले उनीहरुको नाममा सेयर किन्न मिलेन । सुलभका भाई साहिल पनि हिमालयन लाइफको सञ्चालक भएका नाताले उनको नाममा सेयर खरिद भएन । यसरी ५० करोड रुपैयाँ पैसा हाल्ने अर्का एक व्यवसायी (राजबहादुर शाह) र दीपक भट्टको नाममा सेयर किन्ने कागजी योजना यथार्थमा उत्रियो ।

स्रोत भन्छ, ‘भट्टले आफूले अहिलेसम्म सेयर नकिनेको भएर अरुमार्फत् नै किन्न आग्रह गरेको तर पछि सुलभले कन्भिन्स गरेको बयान दिएका छन् ।’

अनुसन्धानका क्रममा भट्टले भनेका छन्, ‘३०–४० करोड रुपैयाँ सेयर मेरो नाममा किन्ला भन्ने अनुमान थियो । मैले त टीएमएसको आईडी पासवर्ड नै उसैलाई दिएको थिएँ । के कति किन्थ्यो सुलभलाई नै थाहा छ । निकै पछिमात्र थाहा भयो कि मेरा नाममा २ अर्ब ९० करोड रुपैयाँको सेयर किनिसकेको रहेछ ।’

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार भट्टले ‘आफ्नो नाममा सेयर किनको विषय थाहा पाइनँ’ भन्न कानुनी रुपमा कुनै पनि हालतमा मिल्दैन । किनकी हरेक खरिदको जानकारी ब्रोकरले खाताबाहकले भरेको केवाईसीमा उल्लेखित मोबाइल नम्बर र इमेलमा पठाई नै रहेको छ । केवाइसीमा भट्टकै मोबाइल नम्बर र इमेल एड्रेस छ ।

‘आफूलाई सबै जानकारी भइरहेको अवस्थामा भट्टले कसरी मलाई थाहा छैन भन्न मिल्छ ?’ अनुसन्धानमा संलग्न अधिकारीहरु प्रश्न गर्छन् ।

यस विषयमा भट्ट निकटस्थको जिकिर भने फरक छ, ‘दीपक सरलाई एसएमएस त आउँथ्यो, तर उहाँले कहिल्यै हेर्नु भएन । सुलभले गरिरहेको छ, ठिकै गरिरहेको होला भन्ने विश्वास उहाँमा थियो । त्यही विश्वासले यस्तो अवस्था आयो ।’

भट्ट निकट स्रोतहरुका अनुसार उनी सुलभलाई यति विश्वास गर्थे कि अरुले सुलभको आलोचना गरेको सुन्नसमेत सक्दैनथे । 

भट्टले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषानारायण श्रेष्ठलाई भनेर मिलाउने भन्दै केही हाइड्रोपावर व्यवसायीसँग आईपीओ छिट्टै निकाल्न सुलभले हिल्टन होटलमा बोलाएर १० प्रतिशत कमिशन मागेका थिए । सुलभको यो कर्तुतका बारेमा उनी निकटस्थहरुले भट्टलाई नसुनाएका पनि होइनन् । तर भट्टले सुलभले यस्तो काम गर्नै सक्दैन भन्दै बचाउ गरेको उनी निकटस्थहरु बताउँछन् ।

‘सुलभप्रति भट्टको अन्धभक्त विश्वासभाव थियो त्यसैले टीएमएसको आइडी र पासर्व दिएका हुन सक्छन्’ स्रोतले भन्यो ।

भट्टले बयानका क्रममा भृकुटीसँग साउन २ को सम्झौताअनुसार आफूले उधारोमा सेयर किनेको सत्य भएको भन्दै उधारो तिर्न बाँकी रहेको स्वीकार गरेका छन् । बयानका क्रममा उनले भनेका छन्, ‘सुलभले ४०–५० करोडको सेयर मेरो नाममा किन्छु भनेको थियो, तर २९० करोड रुपैयाँको किनिदिएछ । यो परिमाणको सेयर किन्न मेरो अनुमति थिएन ।’

अनुसन्धानको क्रममा भृकुटीको वित्तीय विवरण जाँच गर्दा दीपक भट्टसँग २ अर्ब ९० करोड रुपैयाँ लिन बाँकी भनेर रिसिभेबल्समा राखिएको छ । यस्तै हिमालयन रिइन्स्योरेन्सलाई २ अर्ब ७३ करोड रुपैयाँ दिन बाँकी भनेर पेयेबल्समा राखिएको छ । यस्तै हिमालयन सेक्युरिटी बैंकर, एचएलआई लार्ज क्याप फन्ड, नेपाल माइक्रो इन्स्योरेन्स, पुलमा रकम जम्मा गर्ने २ व्यवसायी समेतको करिब ४ अर्ब रुपैयाँ पेयेबल्समा देखिएको छ ।

यो विषयबारे अनुसन्धान गरिरहेको एक निकायका अधिकारीले क्लिकमान्डुसँग भने, ‘ब्रोकरले भट्टलाई एड्भान्स भनेर रकम दिएको रहेछ । भट्टसँग पैसा नै नलिई सेयर किनिदिएको, कोल्याटरल समेत लोड नगरेको भट्टको खातालाई सेयर खरिद अर्डर दिन मिल्ने बनाएको विषय शंकाष्पद छ ।’ यहाँ कानुनीमात्र नभएर नियतको पनि प्रश्न उठेको उनको भनाइ छ।

भट्टले अदालतमा आफू केही कम्पनीको सेयरधनी भए तापनि सञ्चालक नभएका कारण कम्पनीको काम र आफ्नो कारोबारबीच सम्बन्ध नहुने जवाफ दिएका छन् । ‘सञ्चालकसम्म भएको भए कहाँकहाँ हिसाब छ भन्ने थाहा हुन्थ्यो, सेयरधनीमात्र हुँदा कम्पनीको खाताबारे निर्णय लिने क्षमता पनि रहँदैन,’ भट्टलाई उदृत गर्दै ति अधिकारीले भने । 

‘उदाहरणका लागि भृकुटी ब्रोकरलाई राम भन्नेले पैसा दिएको छ, श्याम भन्नेले भृकुटीमार्फत् नै उधारोमा सेयर किनेको छ । यो केसमा श्यामले किनेको सेयरको पैसा रामले तिरिदियो भन्न मिल्दैन । त्यसैगरी अदालतमा दीपक भट्टले हिमालयन रिको पैसाबाट सेयर किने भनेर तथ्य साबित गर्न सक्ने प्रष्ट आधार छैन तर उनीहरु संगठितरुपमा यो काममा संलग्न भएको कुरा जगजाहेरै छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले क्लिकमान्डुसँग भने, ‘सोही समूहका व्यक्तिहरुले एउटाले बोन्ड किन्ने र अर्कोलाई बिक्री गर्ने गरेको पाइएको छ, त्यहाँ चै कसुर साबित गर्न सक्ने आधार छ ।’

चैत २ गते हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले भट्टलाई फोन गरेर ‘सुलभले भट्ट र हिमालयन रिलाई समस्यामा पारेको’ जानकारी गराएकी थिइन् ।

त्यसपछि भट्टले सुलभलाई सानेपाको किरण भवनस्थित इन्फिनिटी होल्डिङ्सको कार्यालयमा बोलाएर ‘यो के गरेको ?’ भनेर सोधेको उनी निकटस्थ स्रोत बताउँछ ।

सुरुमा त सुलभ एक शब्द पनि बोलेनन् ।

त्यसपछि भट्टले ’के गरेको यस्तो ? २५–४० करोडको भन्थ्यौ, तिमीले त यति धेरै किनेछौ ? मलाई यसै पनि विवादमा तानिन्छ, तिमीले यस्तो गरिदिएपछि त मान्छेको आँखामा परिहाल्छु नि । के गरेको ?’ भनेपछि सुलभले भने, ’हुन्छ दाई म सब हटाउँछु ।’

भट्टले थप गाली गरेपछि सुलभले ’गल्ती भयो दाई, गल्ती भयो दाई, गल्ती भयो दाई, मिस्टेक भयो’ मात्र भनिरहे ।

सुलभले भट्टका अगाडि गल्ती स्वीकारेपछि भट्टले यो विषय शंकरलाल अग्रवाल, साहिल अग्रवालसँग पनि गरे । सुलभको कामबाट सबैजना आश्यर्चचकित भए ।

शंकर समूहलाई नजिकबाट नियालेका र व्यावसायिक साझेदारीसमेत गरेका एक व्यवसायीले क्लिकमान्डुसँग भने, ‘थर्मल गन काण्डमा भट्टले उच्च राजनीतिक शक्ति परिचालन गरेर सुलभलाई जोगाएपछि सुलभमा एक प्रकारको ’ओभर कन्फिडेन्स’ देखिन्थ्यो । उसलाई लाग्थ्यो कि भट्ट यति पावरफुल मान्छे हो कि राज्यको कुनै निकायले उसलाई छुँदैन र म पनि जोगिन्छु । जहाँ पनि मलाई दाइले बचाइहाल्छ नि भन्थे सुलभ ।’

भट्ट निकटस्थहरु अहिले ‘भृकुटी ब्रोकर (५५ नम्बर) त सुलभको पूर्ण नियन्त्रणमा रहेको निष्कर्षमा पुगेका छन् ।

स्रोतका अनुसार हिमालयनका कर्मचारीले भृकुटीलाई ३ पटकसम्म एड्भान्स रकम (२ अर्ब ७३ करोड रुपैयाँ) फिर्ता दिन पत्राचार गरेका थिए । यस विषयमा उनीहरुले लगानी समितिका संयोजक साहिल अग्रवाललाई पनि जानकारी गराएका थिए । तर, साहिलले सो विषय बोर्डमा जानकारी नगराएको स्रोत बताउँछ । हिमालयन रिका सञ्चालक तथा लगानी समितिका संयोजक साहिल सुलभका भाइ हुन् ।

यो विषय पेचिलो बनेपछि हिमालयन रिका सञ्चालक समिति अध्यक्ष शेखर गोल्छाले राजीनामा दिइसकेका छन् । उनको राजीनामा स्वीकृत पनि भइसकेको छ भने बाँकी २ सञ्चालकहरु अमित मोर र रोहित गुप्ताले दिएको राजीनामा स्वीकृत हुन बाँकी छ ।

यो विवादमा चर्चामा आएको भृकुटी स्टक ब्रोकर हिमालयन लाइफका पूर्वप्रमुख कार्यकारी अधिकृत मनोज कर्णकी श्रीमती सुधा कर्णको हो । उनको भृकुटीमा ३० प्रतिशत स्वामित्व छ । मनोज कर्ण सुलभ अग्रवालका विश्वासपात्र हुन् । आफू अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सबाट कर्णले जागिर छोड्दा सुलभले कम्पनीकबाट गाडी र ‍‍‍२ करोड रुपैयाँ नगद उपहार दिएका थिए । यस विषयमा नियामक नेपाल बिमा प्राधिकरणले हिमालयन लाइफलाई कारबाही गरिसकेको छ ।

भृकुटीले सुलभ र साहिल लगायतका कामहरु कानुन मिचेर गर्दै आए पनि कारबाहीबाट जोगिँदै आएको थियो । यसपटक भने भृकुटी पनि नियामक नेपाल धितोपत्र बोर्डको कारबाहीमा परिसकेको छ भने सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएको छ। 

भृकुटीको बाँकी सेयर चाचन थर भएका एक व्यवसायीको नाममा छ । हिमालयन लाइफबाट जागिर गएपछि मनोज कर्ण शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सको बिमा डिभिजनका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । स्रोत भन्छ, ‘मनोज त सुलभकै कर्मचारी भइहाले । अर्का व्यक्ति पनि सुलभले जे भन्यो त्यही मान्ने छन् ।’

‘यो सबै योजनाका मास्टरमाइन्ड सुलभले जेजे भने ब्रोकरले त्यही त्यही मान्ने देखियो । त्यस आधारमा पनि हिमालयन रिको पैसा दीपकको सेयर किन्न खर्च भएको हो भन्ने आशंका गर्न हामीलाई सजिलो भयो,’ स्रोत भन्छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला बुनिएको यो योजनामा सुलभले दीपक भट्टको शक्तिका भरमा जे पनि गर्न सकिन्छ भन्ने सोच राखेको र त्यसलाई भट्टले सहजै स्वीकार गरेको विश्लेषण गर्न सकिन्छ ।

आईपी ट्रयाकिङमार्फत् डिजिटल फुटप्रिन्टको अनुसन्धान गर्दा भट्टको टीएमएस गैरीधारा नजिकबाट लगइन भएको देखिएको छ । प्रहरी मुख्यालयसँगै जोडिएको गैरीधारामा शंकर ग्रुपको मुख्य कार्यालय छ ।  तर, गैरीधाराबाट सुलभले खरिद अर्डर दिए वा भट्टले आफैं त्यहाँ उपस्थित भएर वा भर्चुअल माध्यमबाट अर्डर दिए भन्ने अनुसन्धानको विषय बनेको छ ।

भट्टले अदालतमा आफूले पुनर्बिमा कम्पनी हिमालय रि को कुनै रकम प्रयोग वा दुरुपयोग नगरेको तथा पुनर्बिमा कम्पनी वा आफ्नो लगानी रहेका अन्य कुनै पनि कम्पनीबाट आफ्नो वा आफ्नो परिवारको एकाघरका व्यक्तिको व्यक्तिगत खातामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एक रुपैयाँ पनि भुक्तानी नभएको दाबी गरेका छन् ।

उनले भृकुटी ब्रोकरसँग उधारो (क्रेडिट) आधारमा सेयर खरिद–बिक्री गर्ने तथा वार्षिक रूपमा हिसाब–किताब मिलान (राफसाफ) गर्ने सहमति गरेको स्वीकार गरेका छन् । तर, सो सहमतिअनुसार नै कारोबार सञ्चालन भएको भन्दै उनले यसमा कुनै गैरकानुनी उद्देश्य वा क्रियाकलाप समावेश नभएको जिकिर गरेका छन् ।

‘मैले सेयर खरिद बिक्रीको लागि रकम जम्मा गर्ने प्रयोजनका लागि मेरो व्यक्तिगत बैंक खाताबाट ब्रोकर कम्पनीमा रकम ट्रान्सफर गरेको छैन र उक्त ब्रोकर कम्पनीबाट मेरो बैंक खातामा रकम जम्मा भएको छैन ।’ भट्टले दिएको बयानको अंश हो यो।

उनले अदालतमा आफू स्वयं पीडित भएको दाबी गर्दै भनेका छन्, ’मैले विश्वास गरेका व्यक्तिहरूबाट म माथि  जालसाजी र धोकाधडी भएको छ ।’

साथै आफूले कारोबार गरेको भृकुटी ब्रोकरमार्फत अन्य कुन–कुन कम्पनीहरूले कारोबार गरेका थिए भन्ने विषय आफ्नो जानकारीको दायराभन्दा बाहिरको कुरा रहेको भन्दै उनले भनेका छन्, ‘म कुनै पनि कम्पनीको सञ्चालक समिति, व्यवस्थापन वा निर्णय प्रक्रियामा संलग्न छैन । साथै, कुनै पनि कम्पनीबाट मैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै रकम प्राप्त गरेको छैन ।’

कुनैबेलाका जीग्री दोस्त दीपक भट्ट र सुलभ अग्रवालबीच अहिले सम्बन्ध नराम्रोसँग चिसिएको छ । सुलभले भट्टलाई दोष दिने र भट्टले सुलभलाई दोष दिएर आफू उम्किन खोजिरहेका छन् । यसले नेपाली समाजमा चर्चित बन्दै गएको कथन ‘मन मिलुञ्जेल लिभिङ टुगेदर, नमिलेपछि बलात्कार’ जस्तै बनेको छ ।

सत्यतथ्य के हो भन्ने यथार्थ कुरा अनुसन्धान गर्ने निकाय र अदालतले आगामी दिनमा भन्ने नै छन् । 

Skip This