दीपक भट्टको बयान: सुलभ र ब्रोकरले मलाई जालसाजी गरेर फसाए… !

6.7k
Shares

काठमाडौं । तपाईंलाई थाहा हुन वा नहुन पनि सक्छ कि सेयर ब्रोकरलाई टीएमएस खाता चलाउन दिने, उसैले सेयर किनिदिने र नाफा भएपछि बेचिदिने अनि नाफा भएको रकम सम्बन्धित व्यक्ति वा कम्पनीलाई दिने, त्यसबापत केही पैसा ब्रोकर आफैँले राख्ने प्रचलन नौलो होइन ।

खासगरी विश्वासको भरमा यस्तो परम्परा चल्दै आएको छ ।

प्राकृतिक व्यक्ति हुन् वा कानुनी व्यक्ति (कम्पनी), सेयर कारोबार ब्रोकरमार्फत नै गर्नुपर्ने व्यवस्था छ ।

सेयर खरिद-बिक्री गर्न टीएमएस खाता ब्रोकरकहाँ खोल्नुपर्छ । टीएमएस खाताका लागि सेयर कारोबार गर्ने व्यक्ति (कम्पनी वा प्राकृतिक व्यक्ति) ले ब्रोकरलाई आफ्नो सबै व्यक्तिगत विवरण दिनुपर्छ । धितोपत्र बोर्डबाट लाइसेन्स लिएको हुनाले सेयर ब्रोकर व्यावसायिक संस्था हुन् । बोर्डबाट ब्रोकरको लाइसेन्स पाउने ब्रोकर हाल ९० वटा छन् ।

व्यक्ति आफैंले कुन सेयर कहिले बढ्छ, कहिले घट्छ हेरेर बस्न सम्भव नहुन सक्छ । कम्पनीको हकमा पनि किन्ने-बेच्ने काम दलाल (ब्रोकर) ले नै गरिदिने भएपछि छुट्टै डेडिकेटेड व्यक्ति राख्नु परिरहेन ।

भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) लाई पनि यसअघिसम्म धेरैले यसरी नै विश्वास गरिरहेका थिए । हिमालयन रिइन्स्योरेन्स, हिमालयन सेक्युरिटिज, नेपाल माइक्रो लाइफ, हिमालयन लाइफको हिमालयन लार्ज क्याप फन्ड लगायत केही प्रतिष्ठित कम्पनी र व्यक्तिले भृकुटीलाई आफ्नो टीएमएस चलाउन दिएका थिए ।

ती कम्पनी र व्यक्तिले भृकुटीको खातामा रकम हालिदिन्थे । त्यो रकमबाट भृकुटीले सेयर किनिदिन्थ्यो र मूल्य बढेका बेला बेचिदिन्थ्यो । भृकुटीले नाफा भएको रकम उनै व्यक्ति र कम्पनीलाई दिन्थ्यो ।

यो सबै गतिविधि विश्वासको भरमा चलिरहेको थियो । तर, यो विश्वासको व्यापार लामो समय चलेन ।

हिमालयन रिइन्स्योरेन्सले भृकुटीको खातामा २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ पैसा हालिदिँदा पनि भृकुटीले हिमालयन रिका लागि सेयर किनिदिएन ।

हिमालयन रिकै सहायक कम्पनी हिमालयन सेक्युरिटिजले पनि भृकुटीलाई २२ करोड २० लाख रुपैयाँ दिएको थियो । यसैगरी हिमालयन लाइफको एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड १५ लाख, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १८ लाख रुपैयाँ गरी कुल ३ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ भृकुटीले पाइसकेको थियो ।

तर यति धेरै रुपैयाँ पाइसकेको भृकुटीले उल्लेखित रकम दिने कम्पनीका लागि सेयर किनिदिएन । सोही समयमा अर्कै एक व्यक्तिले भृकुटीमार्फत २ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर खरिद अर्डर हालेका थिए । अर्डर म्याच भएपछि ती व्यक्तिले माग गरेअनुसार सेयर पाए । तर उनीसँग भृकुटीले पैसा मागेन ।

एक व्यक्तिले उधारोमा सेयर किनिरहेको जानकारी यतिबेलासम्म न त नियामक निकाय नेपाल धितोपत्र बोर्डले थाहा पायो, न त बजार सञ्चालक नेप्सेले । ‘ती व्यक्तिले किनेको सेयर बापतको पैसा भृकुटीले माथि उल्लेखित अन्य कम्पनीले दिएको पैसाबाट म्यानेज गरेर तिरिरहेको रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

सेयर कारोबारमा ब्रोकर-ब्रोकरबीच खुद कारोबारमा हिसाब हुन्छ । भृकुटी स्टकको हकमा उसले कुनै अर्को ब्रोकरलाई दिनुपर्ने र लिनुपर्ने बीचको अन्तर मात्र लेनदेन हुन्छ । आन्तरिक हिसाबकिताब भृकुटीले आफैँ मिलाउनुपर्छ । भृकुटीले २ अर्ब ९० करोड रुपैयाँको सेयर किन्ने व्यक्तिसँग एक रुपैयाँ पनि नलिएको तर अर्को ब्रोकरलाई खुरुखुरु अर्कै कम्पनीले दिएको पैसाबाट भुक्तानी दिएको विषय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्म पुग्यो ।

अनुसन्धानका क्रममा फेला पर्यो- ‘व्यवसायी दीपक भट्टले भृकुटी स्टक ब्रोकिङमार्फत १९ लाख कित्ताभन्दा बढी सेयर खरिद गरेका रहेछन्, जसबापत उनले एक रुपैयाँ पनि भुक्तानी ब्रोकरलाई दिएका रहेनछन् ।’

त्यसपछि विभागले भट्टलाई यो विषय के कसो हो भनेर फागुन २६ गते चिठी काट्यो । २७ गते भट्टका निकटस्थले विभागको पत्र बुझे। विभागमा उपस्थित हुन ७ दिनको समय दिइएको थियो । २८ गते विभागले नेपाल बिमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डलाई माथि उल्लेखित कम्पनीको रकम दीपक भट्टको नाममा सेयर खरिद गर्न दुरुपयोग भएको विषयमा अनुसन्धान गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न पत्राचार गर्‍यो । साथै भृकुटीको भूमिकामाथि पनि अनुसन्धान गर्न बोर्डलाई पत्राचार भयो ।

चैत ३ गते भट्टले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुगेर बयान दिएका थिए । २ अर्ब ९० करोड रुपैयाँ बराबरको करिब २० लाख कित्ता सेयर, त्यो पनि एउटै कम्पनी (नेपाल रिइन्स्योरेन्स कम्पनी) को र एउटै व्यक्तिको नाममा, त्यो पनि उधारोमा कसरी आयो? अनुसन्धानकर्ताको मथिङ्गल हल्लियो ।

त्यसमाथि पनि हिमालयन रि, एचएलआई लार्ज क्याप फन्ड, नेपाल माइक्रो लगायतले सेयर किन्न भृकुटीलाई दिएको पैसा दीपक भट्टको नाममा सेयर किन्न प्रयोग भएको हो ? भन्ने निष्कर्ष निकाल्न गाह्रो भयो । न त भट्टले सेयर खरिद गर्न न्यूनतम २५ प्रतिशत कोल्याटरल लोड गरेका छन्, न त सेयर किनेको पैसा भृकुटी स्टक ब्रोकिङलाई दिएका नै छन् । त्यसो भए भट्टको खातामा कुन आधारमा सेयर गयो त ?

‘ती कम्पनीको पैसा भट्टको नाममा सेयर किन्न दुरुपयोग भयो’ भन्ने तथ्य स्थापित गर्न अनुसन्धानमा संलग्न व्यक्तिहरूलाई हम्मेहम्मे पर्यो । भृकुटीको खाता केलाउँदा दीपक भट्टको नाममा रिसिभेबल्स (प्राप्त गर्न बाँकी रकम) २ अर्ब ९० करोड र हिमालयन रि लगायत कम्पनीको नाममा ३ अर्ब ८१ करोड रुपैयाँ पेयबल्स (दिन बाँकी रकम) देखियो ।

यो संयोग स्याल कराउनु र कुखुरो हराउनु एकैपल्ट भए जस्तो मात्र हो कि चोभार पुगेपछि बागमती नदीको पानी कुन बागमतीको र कुन विष्णुमतिको हो भनेर छुट्याउन नसकिए जस्तो हो? अनुसन्धान गर्नेहरू रनभुल्लमा परे ।

अनुसन्धानमा संलग्न अधिकारीहरूले ती कम्पनीहरूमा भट्ट निकट व्यक्तिहरू संलग्न रहेको र भट्टकै नाममा सेयर खरिद भएको देखेर पक्कै पनि रकम दुरुपयोग भएको हो भन्ने शंकाको दृष्टिले हेरे ।

भट्ट हिमालयन रिका व्यक्तिगततर्फका सबैभन्दा ठूलो लगानीकर्ता भएकाले उनले नै यो रकम दुरुपयोग गरेको हुन सक्नेमा अनुसन्धान मोडियो । भृकुटीमा जुनजुन कम्पनीबाट पैसा गएको देखिन्छ, ती कम्पनीमा पनि भट्ट सेयरधनी हुन् ।

त्यसपछि अघि बढ्यो अनुसन्धान । चैत दोस्रो साता बिमा प्राधिकरण र धितोपत्र बोर्डले प्रतिवेदन बुझाए । त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले चैत १५ गते भट्टको पासपोर्ट रोक्का गर्‍यो ।

चैत १८ गते विभागले अनुसन्धान गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई फाइल बुझायो । सीआईबीले भट्टलाई बयानका लागि बोलायो । चैत १९ गते भट्ट साढे १२ बजे नै सीआईबी कार्यालय लाजिम्पाट पुगे । सीआईबीले उनलाई पक्राउ पुर्जी थमायो ।

त्यसपछि भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा पुगे । हाल उनीमाथि १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । विभागले ललितपुर प्रहरीको सहयोगमा उसकै कस्टडीमा हिरासतमा राखेको छ ।

जब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीलाई भट्टले बयान दिए, उधारोमा सेयर किनेको केसले नयाँ मोड लियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरू भन्छन्, ‘दीपक भट्टले आफूलाई सेयर किनबेच गर्ने टीएमएस नै चलाउन नआउने बयान दिएपछि हामी चकित भयौँ । उनले आफूसँग टीएमएसको लगइन आईडी र पासवर्ड नै नभएको बताए । सबै अर्कै एक व्यक्तिलाई विश्वास गरेर उसैलाई कारोबार गर्न दिएको जिकिर गरेपछि अनुसन्धानलाई थप फराकिलो गर्नुपर्ने स्थितिमा पुग्यौँ ।’

अधिकारीहरूले भट्टलाई ‘तपाईंको नाममा यत्रो धेरै सेयर कसले किनिदियो त?’ भनेर प्रतिप्रश्न गरे । भट्टले जवाफ दिए, ‘मेरो नाममा सेयर किन्ने सबै योजना सुलभ अग्रवाल (शंकर ग्रुपका उपाध्यक्ष) को हो, मेरो आईडी पासवर्ड सबै सुलभ र भृकुटी ब्रोकरसँग थियो, उनीहरुले मलाई जालसाजी र धोखाधडी गरेर फसाए ।’

दीपक भट्टले यस्तो बयान दिएपछि प्रहरीले सुलभ अग्रवाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । दीपक भट्टको टीएमएसबाट सेयर खरिद गर्न दिएको खरिद आदेशको डिजिटल फुटप्रिन्टको खोजी थालेको छ ।

(बाँकी अर्को भागमा)