
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टले सेयर खरिद गर्न दिएको खरिद आदेशको डिजिटल फुटप्रिन्टको खोजी थालेको छ । भट्टले अनुसन्धानका क्रममा सेयर खरिद गर्ने टीएमएस खाता आफूले नचलाउने बताएपछि कहाँबाट खरिद हुँदो रहेछ भन्ने खोजी थालिएको हो ।
स्रोतका अनुसार भट्टले आफ्नो टीएमएस खाता आफूले नचलाउने र सेयर खरिद गरेको थाहै नभएको बयान दिएपछि कहाँबाट सेयर खरिद हुन्छ भन्ने पत्ता लगाउन खरिद आदेश दिएको कम्प्युटरको आईपी ठेगाना नै ट्रयाक गरेर अनुसन्धान अघि बढाइएको हो । अनुसन्धानका क्रममा गैरिधारा आसपासका क्षेत्रबाट टीएमएस चलेको पाइएको छ ।
अनुसन्धानका क्रममा भट्टले ब्रोकर नं. ५५ अर्थात् भृकुटी स्टक ब्रोकरमार्फत् १९ लाख कित्ता सेयर खरिद गरेको पाइएको थियो । तर, सो सेयर भट्टले आफ्नो टीएमएस खाता प्रयोग गरेर अरुले नै खरिद गरिदिएको बयान दिएको स्रोत अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।
भट्टले आफूले सेयर खरिद नगरेको र अरूले नै आफूलाई फसाएको दाबी गर्दै आएका छन्। भट्टको बयानअनुसार प्रहरीले उनको टिएमएस एकाउन्ट कुन कम्प्युटर वा नेटवर्कबाट चलाइएको थियो भन्ने पत्ता लगाउन प्राविधिक अनुसन्धान थालेको हो ।
स्रोतका अनुसार राजधानीका विभिन्न स्थानबाट भट्टको टीएमएस लगइन भएको अनुसन्धानका क्रममा पाइएको छ । साथै एउटै ठेगानाबाट २-३ वटा फरक-फरक टीएमएस आईडीहरू लगइन भएको छ भने एउटै आईडी फरक फरक आईपी एड्रेस वा कम्प्युटरबाट समेत लगइन भएको पाइएको छ ।
तर महत्त्वपूर्ण कुरा हरेक सेयर कारोबारको विवरण भट्टले नियमितरूपमा पाइरहेका थिए। भृकुटी स्टक ब्रोकरमा खोलिएको टीएमएस खाताको ग्राहक जानकारी विवरण (केवाईसी)मा उनको व्यक्तिगत मोबाइल नम्बर र इमेल आईडी राखिएको छ । जसअनुसार हरेक खरिद अर्डरको जानकारी भट्टले पाई नै रहेको अनुसन्धानका क्रममा खुलेको छ ।
‘भट्टले आफ्नो खाता अरू कसैले चलाएर सेयर किनिरहेको बयान दिए पनि हरेक कारोबार नोटिफिकेसन उनले प्राप्त गरिरहेको देखिन्छ । जसले अनुसन्धान प्रक्रियालाई थप जटिल बनाइरहेको छ ।’ स्रोतले भन्यो ।
सम्पत्ति शुद्धीकरण विषयमा अनुसन्धान गर्न विभागले व्यवसायी भट्टलाई पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यापारी दीपक भट्टलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टलाई गत बिहीबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनलाई विभागको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३० दिन समय माग गरे पनि अदालतले अनुसन्धानका लागि १० दिन समय दिएको हो ।
भट्टले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) का विभिन्न खण्डहरूद्वारा निषेधित कार्य गरेको अभियोगमा अनुसन्धान भइरहेको छ।










प्रतिक्रिया