खर्ब बढी कर्जा सीमा लिएको शंकर समूहको ८० अर्ब ऋण, नेतृत्व हिरासतमा, दबाबमा बैंकिङ क्षेत्र


काठमाडौं । पब्लिक लिमिटेड कम्पनीको रकम दुरुपयोग गरी सेयर कारोबार गरेको भन्दै व्यवसायी दीपक भट्ट गत साता पक्राउ परे । भट्टमाथि अनुसन्धान हुँदै गर्दा व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिए पनि आइतबार बयानपछि छोडेको छ । शंकरलालका छोरा सुलभलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ अर्का छोरा साहिल अग्रवालमाथि सोही कसुरमा अनुसन्धान गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को संयुक्त अप्रेसन देखिए पनि कुन सम्बद्ध कसुरअन्तर्गत अनुसन्धान भइरहेको भन्ने खुलेको छैन । दीपक भट्टमाथि अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराउँदा बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्न प्रहरीले मागदाबी गरेको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले विभिन्न बिमा कम्पनी र तिनको सहायक कम्पनीको रकम दुरुपयोग गरी भट्टले नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद गरेको विषयमा अनुसन्धान गरी रायसहितको प्रतिवेदन उपलब्ध गराउन फागुन अन्तिम साता बिमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।

प्राधिकरण र सेबोनले आवश्यक अध्ययन गरी रायसहितको प्रतिवेदन पठाइसकेका छन् । नेपाल पुनर्बिमा कम्पनी लगायतका विभिन्न कम्पनीहरूको सेयर खरिद गर्नका लागि हिमालयन रि–इन्स्योरेन्स र यससँग आबद्ध अन्य संस्थाहरूको ३ अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ १७ पैसा बराबरको रकम दुरुपयोग गरेको विषयमा आवश्यक छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न सम्पत्ति शुद्धीकरण विभागले नेपाल बिमा प्राधिकरणलाई फागुन २८ गते पत्राचार गरेको थियो ।

विभागको पत्रमा उल्लेख भएअनुसार भट्टले हिमालयन रि–इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६०, हिमालयन सेक्युरिटिजबाट २ करोड २१ लाख ९७ हजार १४४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सका सहायक कम्पनीबाट ३७ करोड र हिमालयन लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ। यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ पनि अपचलन गरेको उल्लेख छ ।

देशकै ठूलो व्यावसायिक समूहका प्रमुख व्यक्तिहरू पक्राउ पर्दा बैंकहरूबाट खर्बभन्दा माथि ऋण स्वीकृत भएका व्यवसायहरूको के हुन्छ भन्ने चासो पनि बढेको देखिन्छ ।

९० वर्षअगाडि नेपालमा व्यापार सुरु गरेको शंकर ग्रुप देशकै ठूलामध्येको एक व्यावसायिक समूह हो । बिमा, स्टिल, सिमेन्ट, अटोमोबाइल, खाद्यान्न, एफएमसीजी, धागो, होटल, हाइड्रोपावर लगायतका क्षेत्रमा शंकर ग्रुपको लगानी रहेको देखिन्छ ।

विभिन्न क्षेत्रमा करिब ४० भन्दा बढी कम्पनी सञ्चालन गरे पनि मुख्यतया करिब डेढ दर्जन ठूला कम्पनीमा १८ वटा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब रुपैयाँभन्दा बढी कर्जा सीमा स्वीकृत भएको देखिन्छ ।

राष्ट्र बैंक स्रोतका अनुसार शंकर ग्रुपको मुख्य लगानी रहेका १३ वटा कम्पनीको १ खर्बभन्दा बढीको कर्जा स्वीकृत भएको छ । ‘एक दर्जनभन्दा बढी कम्पनीमा १ खर्बभन्दा बढीको कर्जा स्वीकृत भएको देखिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘जसमध्ये १८ वटा बैंकबाट करिब ८० अर्ब कर्जा प्रयोग भएको देखिएको छ ।’

शंकर समूहको अध्यक्षमा शंकरलाल अग्रवाल भए पनि शंकर समूहका कम्पनीको सेयर लगत हेर्दा उनका दुई छोरा सुलभ अग्रवाल र साहिल अग्रवालको नाममा व्यवसाय ट्रान्सफर भइसकेको देखिन्छ ।

शंकर समूहअन्तर्गत दुई समूह छन् । जसमा जगदम्बा होल्डिङ्सको नेतृत्व सुलभ अग्रवालले र जगदम्बा ग्रुपको नेतृत्व साहिल अग्रवालले गरिरहेको देखिन्छ । यी दुईजनाले नै शंकर समूहको व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

बैंकहरूले न्यूनतम ८० करोडदेखि बढीमा ८ अर्ब रुपैयाँसम्म कर्जा दिएको देखिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । शंकर समूहको वेबसाइटमा हेर्दा मुख्य गरी जगदम्बा स्टिल, सौर्य सिमेन्ट, ऋद्धिसिद्धि सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, जगदम्बा सिमेन्ट, जगदम्बा इन्टरप्राइजेज, जगदम्बा मोटर्स, हिल्टन होटल, बलेफी, अपर बलेफी र मोदी इनर्जी गरी तीन हाइड्रोपावरमा पनि लगानी रहेको छ । त्यस्तै जगदम्बा अटो ग्रुप, जगदम्बा हायर पर्चेज, जगदम्बा मोबाइल्स, जगदम्बा स्पिनिङ मिल्स, जगदम्बा सिन्थेटिक्स, जगदम्बा फ्लोर एण्ड एग्रो, जगदम्बा ओभरसिज, जगदम्बा एल्को वेभ, जगदम्बा अटो इन्जिनियरिङ, जगदम्बा कन्स्ट्रक्सन लगायतका कम्पनीहरू सञ्चालन गरिरहेका छन् ।

क्लिकमान्डुले शंकर समूहका २०२४ देखि २०२६ सम्म कर्जाका लागि क्रेडिट रेटिङ गराएका १७ वटा कम्पनीको कर्जा सीमाको विश्लेषण गर्दा १ खर्ब २१ अर्बभन्दा बढीको कर्जा सीमा रेटिङबाट लिएको देखिन्छ । शंकर समूहका अध्यक्ष र उपाध्यक्षमाथि नै प्रहरीले अनुसन्धान सुरु गरेपछि राष्ट्र बैंकले पनि उक्त समूहको कर्जामाथि सूक्ष्म निगरानी राखेको छ ।

बैंकहरूले कुल ५८ खर्ब ऋण लगानी गरेकोमा शंकर समूहको कर्जा करिब डेढ प्रतिशत हुने देखिन्छ । कतिपय हाइड्रोपावर लगायत अन्य व्यावसायिक साझेदारले लगानी गरेको हुँदा उनीहरूले पनि व्यवस्थापन हेर्न सक्छन्

ठूलो कर्जा प्रवाह भएको व्यावसायिक समूहमाथि अनुसन्धान सुरु हुँदा उक्त समूहसँग जोडिएको व्यवसायको विश्लेषण गर्नु स्वाभाविक भएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

कतिपय व्यवसायमा अन्य साझेदारहरू पनि रहेकोले त्यस्तो व्यवसायमा व्यवस्थापकीय असर नपर्ने र कतिपय कम्पनीकै व्यवस्थापनले सञ्चालन गरिरहेको हुँदा ठूलो पोर्टफोलियो भए पनि समस्या पर्छ भन्ने नरहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ‘धितो सुरक्षण हुने, व्यावसायिक नेतृत्वले पनि व्यवसाय चलाउने र कतिपयमा अन्य साझेदारले व्यवस्थापन हेरिरहेका हुन्छन्,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘एक वा दुई व्यक्ति पक्राउ पर्दैमा सबै व्यवसायको ऋण नै जोखिममा पर्छ भन्ने हुँदैन ।’

बैंकहरूले कुल ५८ खर्ब ऋण लगानी गरेकोमा शंकर समूहको कर्जा करिब डेढ प्रतिशत हुने देखिन्छ । कतिपय हाइड्रोपावर लगायत अन्य व्यावसायिक साझेदारले लगानी गरेको हुँदा उनीहरूले पनि व्यवस्थापन हेर्न सक्छन् ।

अनुसन्धान गर्ने निकायले बैंकिङ कसुर वा कर्जा दुरुपयोगमा अनुसन्धान गरेको वा अन्य कुनै कसुरमा अनुसन्धान गरेको भन्ने यकिन नभएको भन्दै अहिले नै पुरै व्यावसायिक समूह समस्यामा पर्यो भन्ने भाष्य बनाउन नहुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । कुल ऋण धेरै भए पनि १८ वटा बैंकहरूबाट लगानी भएकोले एउटै बैंकलाई जोखिमको भार पनि नरहेको ती अधिकारीले बताए ।

कर्जाका लागि गराएको रेटिङमा कुल व्यवसायमा कति कर्जा सीमा?
१. जगदम्बा स्टिल
कर्जा सीमा : ३३ अर्ब १५ करोड

२. सौर्य सिमेन्ट
कर्जा सीमा : १४ अर्ब ८७ करोड

३. ऋद्धिसिद्धि सिमेन्ट
कर्जा सीमा : ११ अर्ब ९४ करोड

४. शुभश्री जगदम्बा सिमेन्ट (सौरभ ग्रुपसँग पार्टनर रहेको)
कर्जा सीमा : २ अर्ब १५ करोड

५. जगदम्बा सिमेन्ट (सौरभ ग्रुपसँग पार्टनर रहेको)
कर्जा सीमा : १ अर्ब २४ करोड

६. जगदम्बा मोटर्स प्रा.लि.
कर्जा सीमा : ५ अर्ब ९७ करोड

७. जगदम्बा हस्पिटालिटी ग्रुप लि. (हिल्टन होटल)
कर्जा सीमा : ५ अर्ब ३० करोड

८. बलेफी हाइड्रोपावर
कर्जा सीमा : ६ अर्ब ७७ करोड

९. मोदी इनर्जी
कर्जा सीमा : ३ अर्ब ६५ करोड

१०. अपर बलेफी हाइड्रोपावर
कर्जा सीमा : ७ अर्ब २५ करोड

११. जगदम्बा अटो ग्रुप प्रा.लि.
कर्जा सीमा : १ अर्ब ९१ करोड

१२. जगदम्बा हायर पर्चेज
कर्जा सीमा : १ अर्ब ७२ करोड

१३. जगदम्बा मोबाइल्स प्रा.लि.
कर्जा सीमा : ९० करोड

१४. जगदम्बा स्पिनिङ मिल्स
कर्जा सीमा : ३ अर्ब ७२ करोड

१५. जगदम्बा इन्टरप्राइजेज
कर्जा सीमा : १५ अर्ब ८१ करोड

१६. जगदम्बा सिन्थेटिक्स
कर्जा सीमा : ३ अर्ब ५९ करोड

१७. जगदम्बा फ्लोर एण्ड एग्रो
कर्जा सीमा : १ अर्ब ५४ करोड

यसबाहेक जगदम्बा ओभरसिज, जगदम्बा एल्को वेभ लगायतका कम्पनीमा भने कर्जाका लागि क्रेडिट रेटिङ गराएको देखिएन।