विश्वकपबाट फिफालाई १५ अर्ब डलरको कीर्तिमानी आम्दानी

749
Shares

एजेन्सी । फिफाले जारी विश्वकपबाट १५ अर्ब डलरको कीर्तिमानी आम्दानी घोषणा गर्ने भएको छ । यो प्रतियोगिता सुरु हुनुअघि राखिएको लक्ष्यभन्दा निकै बढी हो ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार सदस्य संघहरूलाई आयमा भएको यस वृद्धिको बारेमा जानकारी गराएका थिए । सुरुमा फिफाले ११ अर्ब डलर आम्दानी हुने प्रक्षेपण गरेको थियो ।

स्रोतका अनुसार, हस्पिटालिटी र टिकटिङ, विशेषगरी अत्यधिक महँगो सेकेन्डरी मार्केट (पुनः बिक्री गरिने बजार) मार्फत भएको कारोबारले यो आम्दानी बढाउन ठूलो भूमिका खेलेको छ । फिफाले सेकेन्डरी मार्केटमा खरिदकर्ताबाट १५ प्रतिशत र विक्रेताबाट अर्को १५ प्रतिशत कमिसन लिने गर्छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग इन्फान्टिनोको स्वार्थका लागि गरिएको सम्झौताले फुटबलको सबैभन्दा ठूलो मञ्चलाई कलंकित बनाएको छ । फिफाको यो विस्तारित आम्दानीबाट विभिन्न देशका फुटबल संघहरूले पनि आर्थिक लाभ प्राप्त गर्ने सम्भावना छ यद्यपि यसको अन्तिम खाका तयार हुन बाँकी छ ।

अमेरिका, क्यानडा र मेक्सिकोमा विवादै विवादमा बितेको एक महिनापछि यो वित्तीय सफलता इन्फान्टिनोका लागि ठूलो राहत बनेको छ । यसले उनको ओहोदालाई थप बलियो बनाउने देखिन्छ ।

अन्तिम १६ को खेलमा पाराग्वेविरुद्ध अमेरिकी स्ट्राइकर फोलारिन बालोगनलाई दिइएको रातो कार्ड फिफाले फिर्ता लिएपछि व्यापक आक्रोश उत्पन्न भएको थियो । फिफाले ट्रम्पको दबाबमा परेर सो निर्णय गरेको धेरैको बुझाइ छ ।

फिफाले यो निर्णय अनुशासन समितिले स्वतन्त्र रूपमा लिएको दाबी गरे पनि विशेषगरी युरोपेली फुटबल संघहरूमा यसले असन्तुष्टि पैदा गरेको छ । यति हुँदाहुँदै पनि आगामी मार्चमा हुने पुनः निर्वाचनका लागि इन्फान्टिनोले सदस्य संघहरूबाट २०० भन्दा बढी समर्थनको प्रतिबद्धता प्राप्त गरिसकेका छन् ।

विश्वकपको भारी आम्दानीबाट थप बजेट पाउने लोभले गर्दा केही असन्तुष्ट संघहरूले पनि आफ्नो विरोध सार्वजनिक रूपमा व्यक्त नगर्ने देखिन्छ ।

यो ठूलो आर्थिक सफलताले निकट भविष्यमा अमेरिकाले पुनः अर्को विश्वकप आयोजना गर्ने सम्भावनालाई पनि बढाएको छ । अब बोलपत्रका लागि उपलब्ध अर्को संस्करण सन् २०३८ को विश्वकप हो ।

शुक्रबार आयोजित एक स्वागत समारोहमा ट्रम्पले आफ्नो देश पुनः आयोजना गर्न उत्सुक रहेको कुरा स्पष्ट पारे । उनले भने, ‘तपाईंले फेरि अमेरिकालाई नै छान्नुपर्छ । यसपटक हामी क्यानडा र मेक्सिकोलाई साथमा राख्ने छैनौं ।’

यसबाहेक अमेरिकाले सन् २०२९ को क्लब विश्वकप आयोजना गर्ने विषयमा पनि फिफासँग छलफल गरिरहेको छ ।

न्युजर्सीमा स्पेन र अर्जेन्टिनाबीच हुने आइतबारको फाइनल खेलका लागि शनिबार साँझसम्म पनि भीआईपी र हस्पिटालिटी प्याकेजहरू फिफाको पोर्टलमा उपलब्ध थिए । त्यहाँ ट्रफी लाउन्जको टिकट प्रतिव्यक्ति ३४ हजार ५०० डलर (करिब ४६ लाख नेपाली रुपैयाँ) सम्ममा बिक्री भइरहेको थियो ।