हेरफेर भएको भ्याट साउन १ देखि लागू हुने, डा. खतिवडाले बिगारेको थिति सुधारिने

33.8k
Shares

काठमाडौं । आर्थिक विधेयकअनुसार मूल्य अभिवृद्धि दरको प्रावधान नयाँ आर्थिक वर्षदेखि मात्र लागु हुने भएको छ ।

आर्थिक विधेयकमा राखिएको भ्याटसम्बन्धी व्यवस्था आर्थिक वर्ष २०७६-७७ सालदेखि जेठ १६ देखि नै लागू हुन थालेकोमा यसपालीदेखि पूरानै प्रवन्धमा फर्कन लागिएको हो ।

आव २०७६-७७ सालमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले भ्याट छुटको सूचीमा थपिएको वा सूचीबाट हटेको वस्तुमा बजेट भाषणको बेलुकादेखि नै लाग्ने गरी प्रबन्ध गरेका थिए ।

बजेट स्वीकृतिसँगै मन्त्रिपरिषले जारी गरेको सूचीत आदेशअनुसार व्यवसायीले भ्याट थप्न वा सूचीबाट हटाउन नपाउने भएकाले तत्कालै भ्याटसम्बन्धी व्यवस्था हेरफेर व्यवहारिक नभएको भन्दै भ्याटको नयाँ व्यवस्था नयाँ आर्थिक वर्षदेखि मात्र कार्यान्वयन गरिने भएको हो ।

त्यतिबेला मोबाइल व्यवसायीले ५० प्रतिशत भ्याट फिर्ता पाउने हुनाले साउनदेखि लागु हुँदा सरकारलाई घाटा हुने भन्दै डा. खतिवडाले भ्याट तुरुन्तै लाग्ने व्यवस्था गरेका थिए ।

आर्थिक विधेयकमार्फत् यसपाली पनि भ्याट छुट हुने सूची व्यापक रुपमा कटौती हुँदैछ । छुट भएका सूची छोट्याएपछि यसअघि भ्याट नलाग्ने वस्तुमा पनि भ्याट लाग्नेछ । भ्याट नलाग्ने वस्तुलाई भ्याट लाग्ने बनाउन रातारात सम्भव नहुने भएकाले पूर्ववत व्यवस्था अनुसार समय दिइन लागिएको हो ।

अर्थ मन्त्रालय स्रोत भन्छ, ‘भ्याट नलाग्ने वस्तुलाई रातारात लाग्ने बनाउँदा व्यवसायीलाई सोहीअनुसार प्रणाली बनाउन सम्भव नहुने भएकाले हामीले व्यवसायीलाई अपराधी बनाइरहेका छौं । यो कुरा अर्थमन्त्रीज्यूले बुझ्नु भएको छ ।’

स्रोतका अनुसार, अर्थभित्र भ्याटको सूची व्यापक रुपमा छोट्याएर मूअ करको दर १३ बाट १० प्रतिशतमा झार्ने वा भ्याट लाग्ने नयाँ वस्तुलाई ५ प्रतिशत लगाउने विकल्पमा छलफल भएको थियो । ‘दर के हुन्छ ? भन्ने चाहीँ अर्थमन्त्रीज्यूको निर्णयमा भर पर्छ,’ स्रोतले भन्यो ।