अर्थमन्त्रीको दबाबमा राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखको सरुवा



काठमाडौ। अर्थमन्त्री भएयता राष्ट्र बैंकमा एकपछि अर्को गर्दै लगातार हस्तक्षेप गर्दै आएका डा. युवराज खतिवडाले फेरि अर्को हस्तक्षेप गरेका छन् ।

राष्ट्र बैंकको अनुसन्धान विभागमा मुलुकको अर्थतन्त्रको बारेमा जे छ त्यही धारणा राख्ने नरबहादुर थापालाई अर्थमन्त्री खतिवडाको आदेशमा राष्ट्र बैंकको ब्यवस्थापनले सरुवा गरेको छ ।

सरकारको पक्षमा आर्थिक तथ्यांकहरु प्रस्तुत नगरेको भन्दै थापासँग अर्थमन्त्री खतिवडा रिसले चुर भएका थिए । त्यसो त खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदादेखि नै थापालाई रुचाउँदैन थिए । त्यसको एकमात्र कारण हो– भएको तथ्यांकलाई तोडमोड नगरी जनतालाई जस्ताको त्यस्तै जानकारी दिने थापाको बानी ।

०७२ सालमा भारतले लगाएको नाकाबन्दीलाई सरकारले नाकाबन्दी भनिरहेको थिएन । तर, थापाले भारतले लगाएको नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्रमा परेको असरका बारेमा एक प्रतिवेदन नै सार्वजानिक गरेका थिए ।

तत्कालीन योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा र अर्थमन्त्री विष्णु पौडेलको आदेशमा राष्ट्र बैंकको ब्यवस्थापनले वेभसाइटमा राखिसकेको प्रतिवेदन पनि हटाएको थिए ।

सरकारले नाकाबन्दी भन्न डराइरहेका बेला थापाले नाकाबन्दी भन्ने शब्द प्रयोग गरेर त्यसले नेपाली अर्थतन्त्रमा के कति असर पार्यो भनेर अनुसन्धान गरी प्रतिवेदन बनाएका थिए ।

दुई साताअघि राष्ट्र बैंकको टोली अर्थमन्त्री खतिवडालाई ब्रिफिङ गर्न अर्थ मन्त्रालय पुगेको थियो । सरकारले राजश्व थुपारेर राख्ने तर खर्च नगर्दा बैंकहरुमा तरलता अभाव लगायतका समस्या देखिएको भन्दै थापाले यथार्थपरक टिप्पणी गरेका थिए ।

तर, सरकारको कमजोरी देखाएको भन्दै अर्थमन्त्री खतिवडाका ज्वाईं रामशरण खरेल (जो अहिले अर्थमन्त्रीको सहयोगीको रुपमा अर्थमन्त्रालयमा कार्यरत छन्) ले राष्ट्र बैंकको ब्यवस्थापनलाई थापाको सरुवा गर्न दबाब दिएका थिए ।

अर्थमन्त्रीको दबाब थेग्न नसकेर राष्ट्र बैंकको ब्यवस्थापनले अन्तत थापालाई सरुवा गर्यो । राष्ट्र बैंक व्यवस्थापनले गत मंगलबारदेखि थापालाई अनुन्धान विभागबाट हटाएर राष्ट्र ऋण व्यवस्थापन विभाग पठाएको हो ।

राष्ट्र बैंक स्वायत्त निकाय भएपनि पछिल्लो समय अर्थमन्त्री खतिवडाको हस्तक्षेपका कारण आफ्नो स्वायत्तता गुमाउँदै आएको छ ।

अनुसन्धान विभागको कार्यकारी निर्देशकमा गुनाकर भट्टलाई ल्याइएको छ। उनी अर्थमन्त्री डा. युवराज खतिवडाका विश्वास पात्रका रुपमा चिनिन्छन् ।

अर्थमन्त्री भएकै दिन खतिवडाले आफ्ना ज्वाईं खरेललाई अर्थ मन्त्रालय पठाउन पत्र लेखेका थिए ।

त्यतिमात्रै होइन, राष्ट्र बैंकजस्तो स्वायत्त निकायले प्रत्येक महिना सार्वजानिक गर्ने देहको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदनमा राष्ट्र बैंकको संस्थागत धारणा राख्न समेत अर्थमन्त्रीले बन्देज लगाएका थिए ।

त्यस्तै, गभर्नर डा. चिरञ्जीबी नेपालको विदेश भ्रमणमा पनि अर्थमन्त्रीले रोक लगाएका थिए । बरियता क्रममा अन्तिमतिर रहेका आफ्ना ज्वाईं खरेललाई बढुवा गर्न पनि अर्थमन्त्रीले राष्ट्रको स्वायत्ततामा हस्तक्षेप गरेका थिए ।

ज्वाईंलाई काखा र देशका लागि स्वतन्त्रतापूवर्क काम गर्ने विज्ञलाई पाखा लगाउने खतिवडाको नीतिले जंगे नीतिको आभाष दिलाएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।


पुष्प दुलाल