योद्धा अर्थमन्त्रीलाई खुल्लापत्र



पेट्रोलियम पदार्थको मूल्य निरन्तर ओरालो लागेको भन्दै गत साता साउदी अरबका राजा सलमानले अर्थमन्त्री अल-टुवाइजलाई पदबाट बर्खास्त गरे ।

तर, अर्थतन्त्रका दर्जनौं सूचकहरु निरन्तर ओरालो लागिरहेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवडालाई फेरि दोहोर्याइदिए ।

दोस्रो पटक अर्थमन्त्रीको पदबहाली गर्दै खतिवडाले भनेका थिए ‘म एउटा योद्धा हुँ, योद्धा तबसम्म डलिनै रहन्छ, जबसम्म युद्ध जितिदैँन वा कमाण्डरले फिर्ता बोलाउँदैन ।’

प्रिय कमरेड युवराज खतिवडा
अर्थमन्त्री, नेपाल सरकार ।

तपाईले भनेको कुरा एकदमै सही हो । एउटा असल योद्धाले गर्ने त्यही हो । र, संसारभर यस्तै अभ्यास पनि हुन्छ ।

भन्नुपर्ने धेरै कुरा छन् । कहाँबाट शुरु गरौं भनेर कलम घुमाइरहेको छु । श्वेतपत्रबाट गरौं कि बजेटबाट । किताबमा करबाट कुरा गरौं कि पेट्रोलियम पदार्थको करबाट । आयकरको स्ल्याबबाट र राजस्वको ग्याबबाट । अर्थतन्त्रका सूचकहरुबाट थालौं कि लगानीको वातावरणबाट । ज्वाईंमोहबाट थालौं कि अन्तैबाट ?

किताबकै करबाट शुरु गर्छु है ।

तपाईंले भन्नुभयो- किताबको व्यवसाय ज्ञानको व्यवसाय नभइ नाफामूलक व्यवसाय हो । त्यसैले किताबमा कर लगाइएको होइन, किताब बिक्री गर्दा हुने नाफामा कर लगाइएको हो । नाफामा कर लाग्छ ।

सही हो । कुनै पनि व्यापार व्यवसाय गरेर नाफा कमाएपछि कमाएको नाफाबाट राज्यलाई कर तिर्नुपर्छ । त्यसैले त सरकारले व्यापार व्यवसाय फस्टाउने वातावरण तयार पारिदिन्छ । किनभने व्यापार व्यवसाय फस्टायो र नाफा भयो भने त्यसबाट राज्यलाई कर आउँछ । अनि राज्यको ढुकुटी बलियो हुन्छ ।

तर, अब तपाईंको भनाइ र गराइ हेरौं ।

तपाईंले किताब बिक्री गरेर भएको नाफामा कर लगाएको भन्नुभयो । त्यो सरासर झुट हो । तपाईंले पुस्तक आयात गर्दा १० प्रतिशत कर भन्सार विन्दुमै लगाइदिनु भयो । करका प्रकारहरुमध्ये तपाईले लगाएको करलाई भन्सार कर भनिन्छ ।

सरकारले भन्सार लगाएपछि व्यापारीहरुले उक्त रकमलाई पनि जोडेर उपभोक्तबाट असूल गर्छन् ।

अर्थमन्त्रीज्यू, एउटा उदाहारण दिऔं ।

तपाईले भन्सार लगाउनुभन्दा अघिल्लो दिन १००० रुपैयाँ पर्ने किताब भन्सार लगाएको भोलिपल्टैबाट मूल्य बढेर ११०० रुपैयाँ पर्यो । के यो ब्यापारीको नाफामा लगाइएको व्यवसाय कर हो ? तपाई जस्तो विद्धान अर्थमन्त्रीले यो हदसम्मको झुट तर्क गर्न नसुहाउनु पर्ने होइन र ? कि नागरिकहरुले अब पढ्नु पर्दैन भन्न खोज्नुभएको हो ?

आखिर त्यस्तै किताबहरु पढेर तपाईले पीएचडी गर्नुभएको होइन र ? एकपटक आफ्नै विद्यार्थी जीवन सम्झिनोस् त महंगीमा बाँच्न कति गाह्रो हुन्छ भनेर ।

वाम सरकारको मध्यम वर्ग सेक्ने कर प्रणाली, अमेरिकामा भन्दाबढी कर तिर्दा सुविधा पाइँदैन

र, अर्को कुरा, केही दिन अघिमात्रै पेट्रोलियम पदार्थको आयातमा भन्सार बिन्दूमै प्रतिलिटर ५ रुपैयाँ भन्सार कर लगाउने निर्णय गर्नुभयो । र, भन्नुभयो- यसले सर्वसाधारण उपभोक्तालाई केही फरक पर्दैन । आयल निगमको नाफाबाट लिइन्छ ।’

तपाईले मात्रै होइन । अर्थसचिव शिशिर ढुंगानालाई प्रश्न गर्दा पनि तपाईकै जस्तो जवाफ दिनुभयो ।

‘तपाई पत्रकारहरु पनि कुरै नबुझी लेख्ने, पेट्रोलियम पदार्थमा लगाइको करको भार उपभोक्तालाई पर्दैन, आयल निगमको नाफाबाट लिने हो,’ सचिव ढुंगानाको जवाफ हो यो ।

भन्सार विन्दूमा कर लगाएर यस्तो ‘कुतर्क’ गर्नसक्ने मन्त्री र सचिवको मुटुलाई मान्नैपर्छ ।

पूर्वाधार विकास करका नाममा पेट्रोलियम पदार्थमा यसअघि तपाई योजना आयोगको उपाध्यक्ष, विष्णु पौडेल अर्थमन्त्री र ओली सर प्रधानमन्त्री हुँदा उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँ उठाएको रकम कहाँ खर्च भइरहेको छ र फेरि ५ रुपैयाँ बढाउन आवश्यक पर्यो ?

कुरा प्रष्ट छ, आर्थिक वर्षको ६ महिना बित्दा लक्ष्यभन्दा १ खर्ब कम राजस्व उठेपछि ‘आर्टिफिसियल’रुपमा करको लक्ष्य पूरा गर्न तपाईले गरिब जनताको ढाड सेक्ने नीति लिनुभएको हो ।

जति कर बढाए पनि जनताहरु सडकमा आउँदैनन्, किनभने जनताहरु निरिह छन् । सडकमा आएर, संसदभित्रै प्रतिपक्षले र्याख्र्याख्ती पार्नुपर्ने हो । तर के गर्नु यो देशमा प्रतिपक्ष नै छैन । प्रतिपक्षी कांग्रेस आन्तरिक गुटबन्दी र कलहमै खुम्चिएको छ ।

गगन थापाहरु कहिलेकाहीँ सडक र सदनमा सरकारको आलोचना गर्छन् । तर, सरकारको विरोध गर्नेहरुमाथि सरकारी अरिङगालको गोलो खनिन्छ ।

अर्कातिर केही साताअघि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँगको भेटमा भनेका थिए, ‘ओलीजी तपाई र तपाईको सरकारलाई सहयोग गर्दागर्दै म त बर्बादै भएँ ।’

हुन त केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरेको देख्ने र लेख्ने मुटु भएका सम्पादक नै भएनन् भनेर पनि भन्नुभयो ।

प्रधानमन्त्रीज्यू त भन्नुहुन्थ्यो गोकुल बास्कोटा एकातिर र अरु सबैमन्त्री एकातिर हुँदा गोकुलको तौलले जित्छ । र, ७० करोडको गोकुलको तौलले प्रधानमन्त्रीको मन जितिरहेकै थियो नि होइन र ?

तर, जब सार्वजनिक भयो । जनताले बुझे । तब गोकुल सरले राजीनामा दिनुभयो ।

तथ्यांकहरुलाई मिथ्यांक बनाएर प्रस्तुत गर्नसक्ने र कसैले प्रश्न गरे अनेकन तर्क गरेर जित्ने तपाईको बलियो मुटु देखेर प्रधानमन्त्री ओलीजी प्रभावित हुनुभएको छ ।

त्यसैले त बरु पार्टी सचिवालयको निर्णय मान्दिन युवराजलाई छाड्दिन भन्दै उहाँ बर्बराइरहनु भएको छ  ।

एउटा सानो तथ्य सुनाऔं है अर्थमन्त्रीज्यू ।

नेकपाभित्र अचेल ओलीलाई महाराज र तपाईंलाई उहाँको ‘युवराज’ भन्दा रहेछन् । गणतन्त्र आएको दशौं वर्षपछि पनि सरकारमा राजा महाराजा र युवराजहरुले नै शासन गर्नु भनेको चानचुने कुरा होइन ।

राष्ट्र बैंकको जागिरे गभर्नर, योजना आयोगको उपाध्यक्षहुँदै अर्थमन्त्री बन्नु तपाईको व्यक्तिगत जीवनमा सबैभन्दा ठूलो सफलता हो । आगामी दिनमा योभन्दा ठूलो सफलता हासिल गर्नुहोस् भन्ने कामना पनि छ ।

तर, तपाईंका लागि त अर्थमन्त्रीजस्तो पद पनि जागिर जस्तै भइदियो है । पार्टीभित्र र बाहिर चुनाब लड्नुपर्ने र जित्नुपर्ने झन्झटै नपर्ने । ओलीको मन जितिरहे पुग्ने ।

प्रिय अर्थमन्त्रीज्यू,

आफ्नै परीक्षाका लागि भएपनि एकपटक वडा अध्यक्षको चुनाब लडिदिनुहोस् न है ।

२०७४ फागुन १४ गते तपाईं अर्थमन्त्रीमा नियुक्त हुनुभयो । अर्थमन्त्री बन्ने वित्तिकै तपाईले घरजग्गा र सेयर बजार अनुत्पादक क्षेत्र हुन् भनिदिनु भयो ।

त्यसपछि हेर्नुहोस् त सेयर बजार र यसमा लगानी गर्नेहरुको हालत के भयो ?

तपाई त भन्नुहोला मेरै कार्यकालमा सेयर बजार सूचक बढेर १६०० बढी भयो । साढे ४ अर्ब रुपैयाँको कारोबार हुँदै नेप्सेले रेकर्ड नै तोड्यो ।

तपाईको राष्ट्रियसभाको सदस्यको कार्यकाल सकिँदै थियो । नेकपाको सचिवालयले तपाईको ठाउँमा वामदेव गौतमलाई मनोनित गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

आम लगानीकर्ताहरुको बुझाइ थियो कि- अब युवराज अर्थमन्त्री हुँदैनन्, अर्को मान्छे अर्थमन्त्री भएपछि बजार बढ्न सक्छ भन्दै लगानीकर्ताहरुले कमाउने आशामा ऋण काढेरै भएपनि सेयर किनेको किन्यै गरे । जसकारण सूचक पनि बढ्यो र कारोबार रकम पनि बढ्यो ।

तपाईको बहिर्गमनको हल्ला चल्दा किन यति खुसी भएको होला नेप्से सूचक ? कहिल्यै आत्मसमीक्षा गर्नुभएको छ । तपाईको पुनरागमनले फेरि सेयर बजार कहाँ पुग्दैछ हेर्नुस् त ।

तपाईलाई थाहा छ अर्थमन्त्रीज्यू, सेयर लगानीकर्ताहरुले सयौं पटक प्रयास गर्दा पनि तपाईलाई भेट्न पाएनन् ।

तपाईको निजी सचिवालयमा कार्यरत छोरीज्वाईं रामशरण खरेलले लगानीकर्तालाई तपाईसँग भेट्न नदिएका हुन् । खरेलजी केही समस्या भए मलाई भन्नु भन्थे । जसकारण कयैन पटक डेलिगेशन गएको लगानीकर्ताको टोली आफ्नी आमा भेट्न नपाएको बालक जस्तै गरी फर्किन्थे ।

सेयर बजार लगातार घटिरह्यो । लगानीकर्ताहरु आक्रोशित हुँदै गए । यतिसम्म कि लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जअघि तपाईको राजीनामा माग गर्दै अनसन बस्न बाध्य भए ।

लगानीकर्ता अनसन बसेको दृश्य बालुवाटारको ठूलो पर्खालभित्र बसेका प्रधानमन्त्रीको आँखामा पर्यो । प्रधानमन्त्रीले लगानीकर्ताका माग के हुन् सम्बोधन गर्नू भनेर अर्थमन्त्रीलाई निर्देशन दिए । र, राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा पुँजी बजार सुधारका लागि सुझाब संकलन गरी प्रतिवेदन बुझाउन कमिटि गठन गरियो ।

त्यो कमिटिले सुझाएका ५८ बुँदामध्ये कति बुँदा कार्यान्वयन गर्नुभयो तपाईले ?तपाई एकजना खुशी हुँदा हजारौं लगानीकर्ताहरु दुःखी भएको कुरा सत्य हो । तपाईले यो कुरा कहिल्यै सोच्नुभएको छ ।

तपाई कस्का बारेमा सोच्नुहुन्छ भन्ने केही दृष्टान्तहरु छन् ।

अर्थमन्त्रीमा आफू नियुक्त भएकै दिन जोरीज्वाईं रामशरण खरेललाई अर्थ मन्त्रालयको सल्लाहकार बनाउन काजमा झिकाउनु भयो । तर, डेढ वर्षसम्मको तपाईको प्रयास सफल भएन । र, स्वकिय सचिवालयमा राख्नुभयो ।

अर्थमन्त्रालयमा मात्रै नभई अर्थतन्त्रमै ज्वाईं आतंक फैलियो । र, बाध्य भएर तपाई कमाण्डरले योद्धा ज्वाईँसाहेबलाई फिर्ता पठाउनु भयो ।

राष्ट्र बैंकमा कार्यरत तपाईका ज्वाईं अहिले पनि प्रायःजसो अर्थमन्त्रालयमै भेटिनुहुन्छ ।

‘ज्वाईंसाहेब हजुर राष्ट्र बैंककै काम गरिस्यो, अर्थ मन्त्रालय त म हाँकिहाल्छु नि’ भन्न किन नसक्नुभएको ? कि भन्दाभन्दै नटेरेको ?

तपाईको ज्वाईंमोह अर्थमन्त्री भएपछि होइन, गभर्नर हुँदै हो । सिनियरलाई पाखा लगाउँदै जुनियर रहेका आफ्ना ज्वाईं खरेललाई अन्तर्राष्ट्रिय मुद्रा कोष पठाएर राष्ट्र बैंकको परम्परा नै भत्काइदिनु भयो ।

त्यतिमात्रै कहाँ हो र, तपाई अर्थमन्त्री भएकै बखत बरियतामा अन्तिमतिर रहेका खरेलजी फेरि पनि फाइल बढुवामा उपनिर्देशकबाट निर्देशक हुन सफल हुनुभयो ।

हुन त क्रान्तिकारीहरुले यसै गर्छन् । पूरानो संरचना भत्काउँछन् । र, आफूले मस्ती गर्छन् । जसरी अहिले पूर्वमाओवादी प्रचण्डहरुले गरिरहेका छन् ।

अर्थमन्त्री भनेको सरकारलाई सुशासनमा राख्ने व्यक्ति पनि हो ।

२०७४ चैत १६ गते तपाईले श्वेतपत्र जारी गर्दै देशको अर्थतन्त्रका बारेमा जानकारी दिनुभयो । श्वेतपत्रको पहिलो बुँदामै वित्तीय अनुशासन छैन भन्नुभएको थियो ।

प्रिय अर्थमन्त्री । तपाईंको पालाम सरकार कति सुशासनमा बस्यो ?

अर्थमन्त्रालयले हरेक महिना प्रकाशन गर्ने विभिन्न शीर्षकको बजेट निकासा र रकमान्तरको विवरण नै सार्वजनिक हुन छाड्यो ।

अर्थ मन्त्रालयका अधिकारीहरु भन्छन् ‘अर्थमन्त्रीज्यूको निर्देशन अनुसार बजेट रकमान्तरणको विवरण सार्वजनिक नभएको हो, अहिलेलाई यो विषय बाहिर ल्याउन जरुरी छैन भनेर मन्त्रीज्यूबाट मौखिक निर्देशन आयो ।’

बजेटको अनुशासनमा बस्ने भनेर भने पनि तपाईले प्रधानमन्त्री तथा अन्य उच्च नेताको दवावमा बजेटको बाटो छलेर रकमान्तरण गरेपछि सो विवरण सार्वजनिक गर्न सक्नु भएन ।

सरकारले दिएको उपचार खर्च तथा जथाभावी रकमान्तरणको विषय आएपछि तपाईले यसलाई सार्वजनिक नगर्ने नीति लिनुभएको हो ।
पारदर्शीताको विषयमा सरकार कमजोर बनिसकेको छ । सुशील कोइराला सरकारको पालामा शुरु भएको २५ हजारभन्दा बढीको खरिदबिल सार्वजनिक गर्ने काम अहिले बन्द भइसक्यो ।
जनताको करबाट हुने खर्चको जानकारी जनतालाई दिनुपर्दैन ? तपाई जनताबाट निर्वाचित भएर आएको भए पो जनताप्रति उत्तरदायी र जवाफदेही हुने । होइन र ?
०७४ फागुन १४ गते तपाई अर्थमन्त्री नियुक्ति हुँदा  ‘प्रधानमन्त्री ओली अब साच्चिकै देश बनाउन चाहन्छन्, राजनीति गर्नेलाई पाखा लगाउँदै युवराज खतिवडा जस्तो अर्थतन्त्र बुझेको व्यक्तिलाई अर्थमन्त्री बनाएर देशको ढुकुटीको चाबी जिम्मा लगाएर प्रधानमन्त्रीले देश विकास गर्ने प्रष्ट सन्देश दिए’ भनेर बुझेका थिए । प्रतिक्रिया पनि यस्तै दिएका थिए ।
उद्योगी, ब्यापारी, युवा, विद्यार्थी, मजदुर त के विपक्षी पार्टीका नेता कार्यकर्ताहरुले पनि खतिवडालाई अर्थमन्त्री बनाएकोमा खुसीले गदगद थिए ।
आमसञ्चार माध्यमहरुमा पनि तपाईका बारेमाा सकारात्मक मात्रै समाचार आउँथे । यदि कसैले तपाईंको नकारात्मक टिप्पणी गरेर समाचार लेख्यो भने त्यो समाचार लख्ने पत्रकार र मिडिया हाउसका विरुद्धमा स्वतस्फूर्तरुपमा आम मानिसले आलोचना गर्थे ।
तर अहिले तपाईका बारेमा जताततै आलोचना मात्रै हुन्छ । तपाईको अधोगति नेगेटिभ एटिच्यूडको घोषणापत्र अर्थात् श्वेतपत्रबाट शुरु भएको हो ।
तपाईले जारी गरेको श्वेतपत्रले अर्थतन्त्रको अवस्था शून्य जस्तै भएको देखायो । त्यसको एउटा मक्सद थियो कि- आगामी वर्षहरुमा हामीले यो गर्यौं, त्यो गर्यौं शून्यमा भएको अर्थतन्त्रलाई यहाँसम्म ल्यायौं भनेर देखाउने अनि जनताको नजरमा आफूले सुधार गरेको कहलिने ।
तर, बिडम्बना राज्यले नै अर्थतन्त्रको अवस्था अति नै कमजोर रहेको श्वेतपत्र जारी गरेपछि स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको आत्मबल कमजोर भयो । उनीहरु लगानी गर्न तयार भएनन् ।
लगानीकर्ता लगानी गर्न डराउँदा त्यसको प्रत्यक्ष असर परिरहेको छ । सरकारले तामझामका साथ लगानी सम्मेलन गर्दा पनि लगानीकर्ताले पत्याएनन् ।
नेगेटिभिटीले भरिएको श्वेतपत्र तपाईका लागि मात्रै नभई सरकार र देशकै लागि आत्मघाती कदम सावित हुँदै गइरहेको छ ।
अर्थमन्त्री कर उठाउन र खर्च गर्न कडा हुनुपर्छ भने लगानीकर्तासँग नरम हुनुपर्छ । त्यो पनि बोलेर होइन, काम गरेर ।
नेपालीमा एउटा चर्चित उखान नै छ- ‘तित्राको मुखै बैरी’ ।
त्यस्तै भयो तपाईलाई पनि । अर्थमन्त्रीका रुपमा तपाईसँग गुनासो गर्न, आफ्ना कुरा राख्न पुगेका उद्योगी, व्यवसायी, सेयर लगानीकर्ता वा अन्य कोहीका गुनासा सुनेर सक्ने हदसम्म माग पूरा गर्दिन्छु भनेर आश्वासन दिनतर्फ कहिल्यै लाग्नु भएन । यसरी डेलिगेशन गएका टोलीलाई तपाईले थर्काउँदै पठाउनुभयो ।
अभिभावक सम्झेर माग राख्न जानेहरु उल्टै हप्काइदप्काइ खाएर फर्किनुपर्ने अवस्था आयो ।
तपाईको यो चरित्रले उद्योगीरव्यवसायी लगायतसँगको छलफल र अन्तक्रिया हुनै छाड्यो । दर्जनौं गुनासा र मागका पोका हुँदाहुँदै पनि अर्थमन्त्रीको अघि परेर सकेसम्म नभन्न पाए हुन्थ्यो भन्ने आम सोचको विकास भयो ।
सरकार एकपछि अर्को गर्दै दुईतिहाइको दम्भ देखाउँदै गयो । हामीलाई जनताले म्यान्डेट दिएका छन्, हामीले जे भन्यो त्यही हुनुपर्छ भन्दै गयो । अरुका कुरा सुन्न छाड्यो । आफू भने एकतर्फी बोलेको बोलै गर्न थाल्यो । दुईतिहाइलाई निरिह बनेर टुलुहु-टुलुहु हेरेर बस्नुको विकल्प भएन ।
सरकारले खर्च गर्न नसक्दा र विदेशी लगानी तथा पुँजी नभित्रँदा बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी (तरलता) अभाव भैरह्यो । बैंकमा ऋण माग्न जाँदा पैसा नभएको भन्दै बैंकले ऋण दिन छाडे । ऋण पाइहाले पनि ब्याजदर महंगो भयो ।
विकास खर्च गर्न, बैंकिङ प्रणालीमा तरलता बढाउन र ब्याजदर घटाउन सरकार असफल भयो । फलस्वरुप व्यवसायीहरु चर्को ब्याजदरका विरुद्धमा सडकमा आन्दोलन गर्न जानुपर्ने अवस्था सिर्जना भयो ।
ब्यापार घाटा लगातार बढिरह्यो । आयात र निर्यातबीचको असन्तुलन चुलिँदै गयो । त्यसपछि तपाई वस्तुहरुको आयात रोक्नतिर लाग्नुभयो । आयात रोकेर ब्यापार घाटा सन्तुलन गर्ने नीतिले अर्थतन्त्र संकुचनतर्फ अघि बढिरहेको छ । विस्तारै मुलुकमा आर्थिक क्रियाकलापहरु कम हुँदै गएका छन्। इकोनोमी स्लो डाउन भयो ।
तर, तपाईंले कर भने बढाइरहनुभयो । करको दायरा बढाउने पर्याप्त ठाउँ हुँदाहुँदै तपाईंले त्यो झन्झट गर्नुभएन । दर बढाइदिनुभयो । करको दर बढ्दा खासगरी मध्यमवर्ग र जागिरे वर्गलाई ठूलो असर पर्यो । २र४ हजार बचत गर्दै घर र गाडीको किस्ता तिर्न लागेको पुस्ता पछि हट्नुपर्यो ।
छिमेकी भारतमा ८ लाख भारु अर्थात् साढे १२ लाख नेपाली रुपैयाँ कमाउने व्यक्तिलाई कर छुट दिइएको छ । तर, नेपालमा १०/१२ लाख रुपैयाँ कमाउनेले राज्यलाई ३० प्रतिशत कर तिर्नुपर्छ ।
स्थानीय र प्रदेश सरकारले लगाएको करको त कुरै नगरौं ।
आफ्नो र भावी सन्ततिको सुन्दर सपना साँचेर धुलोधुवाँ, हावापानी नभनी दिनरात घोटिने मध्यमवर्ग र जागिरे वर्गप्रति किन सरकार यतिधेरै निर्दयी बनेको मन्त्रीज्यू ?
कम्युनिष्टको सरकार त मध्यम वर्ग र निम्नवर्गका लागि बढी उदार हुनुपर्ने होइन र ?
तपाईले प्यान, भ्याट र करका नीतिका  बारेमा पनि एकैपटक धेरै नियम कानूनहरु लगाइदिनुभयो । एकैपटक सामाजिक सुरक्षा कोषदेखि प्यानसम्मको व्यवस्था कार्यान्वयनमा आउँदा अन्यौलता बढ्यो । निजी क्षेत्रलाई त्यसले झन् टाढा बनाइदियो ।

अर्थमन्त्रीज्यू, सरकार गठन भएको २ वर्ष पुग्दासम्म अर्थतन्त्रमा कुनै पनि सुधारको संकेत देखिएन । रातारात चमत्कारै गरेर देखाउँछु र म नै अर्थतन्त्रको संस्था हुँ भन्नुहुन्थ्यो नि तपाई । खै त चमत्कार ?

सरकारको ढुकुटी रित्तो भयो भनेर श्वेतपत्रमा भनिरहँदा राष्ट्र बैंकमा रहेको सरकारको खातामा ३ खर्ब रुपैयाँ थियो । अहिले कति छ अर्थमन्त्रीज्यू, भरियो कि झनै रित्तियो ?

पुँजी निर्माणका क्रियाकलापहरु सुस्त भएको कुरा पनि श्वेतपत्रमा लेख्नुभएको थियो । अर्थमन्त्रीज्यू, अहिले पुँजी निर्माणको कारखाना नै खुल्यो त ? के कति पुँजी निर्माण भइरहेको छ ?

त्यस्तै, श्वेतपत्रको ८ नम्बर बुँदामा नेपालमा लगानीको वातावरण नभएको उल्लेख गर्नुभएको थियो । अहिले के कति वातावरण बन्यो ? र, उद्योग विभागको तथ्यांकले के भनिरहेको छ, हेर्नुहुन्छ कहिलेकाँही ?

ओली सरकार गठन हुनुअघि मुलुकमा व्यापक भ्रष्टाचार भएको र सरकारको सम्मृद्धिको यात्रामा भ्रष्टाचार अवरोध देखिएको लेख्नुभएको थियो ।

ओलीजीकै विश्वासपात्र सञ्चारमन्त्री गोकुल सरले ७० करोड बार्गेनिङ गरेको अडियो नै सार्वजनिक भइदियो । सञ्चार मन्त्रालय तपाईले सम्हल्नु भएको छ । सञ्चारमन्त्रीका रुपमा फेरि एकपटक श्वेतपत्र जारी गरेर यस्ता कुरा समेट्न मिल्दैन ?

श्वेतपत्रको १३ नम्बर बुँदामा भनिएको थियो नेपालको अर्थतन्त्रमा संरचनात्मक समस्या र कमजोरीहरु छन् । संरचनामै परिवर्तन नगरेसम्म उच्च आर्थिक वृद्धिदर हासिल गर्न नसकिने र व्यापार घाटा कम गर्न नसकिने उल्लेख छ । २ वर्षको अवधिमा अर्थतन्त्रको संरचनामा परिवर्तन गर्ने के कति कामहरु भए भन्न सक्नुहुन्छ ?

श्वेतपत्रको १८ नम्बर बुँदामा भन्नुभएको छ नीतिगत अस्थिरताका कारण आर्थिक दृष्टिले नेपालको विगत २० वर्ष लगभग खेर गयो । खेर गएको त्यो समयलाई ट्र्याकमा ल्याउन सकिन्थ्यो नि होइन र यो २ वर्षमा ?

श्वेतत्रपको ४४ नम्बर बुँदामा तपाईंले लेख्नुभएको छ- ‘बजेटको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । स्रोत नै नभई बजेटको आकार बढाउन मनोगत आधारमा स्रोत देखाइएको छ ।’

आर्थिक वर्ष ०७४/७५ मा १२ खर्ब ७८ अर्ब रहेको बजेटको आकार आर्थिक वर्ष २०७५/७६ मा १३ खर्ब १५ अर्ब र ०७६/७७ मा १५ खर्ब ३२ अर्ब पुर्याएको तपाईले नै होइन र अर्थमन्त्रीज्यू ?

बजेट कार्यान्वयनको अवस्था कति फितलो छ भनेर हेर्न अन्त कतै जानु पर्दैन । ७ महिनाको विकास खर्च र राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति हेरे पुगिहाल्छ ।

दुईतिहाई बहुमतको इतिहासकै बलियो सरकारले पनि किन खर्च गर्न नसकेको होला ? यो भनेको सरकार असफल भयो भन्ने प्रष्ट संकेत होइन र ? यसको जस तपाईले लिनु पर्छ कि पर्दैन ?

श्वेतपत्रमा  कुनै तथ्यांकलाई २ वर्षको, कुनैलाई ५ वर्षको, कुनैलाई १५ वर्षको र कुनैलाई २० वर्षको तथ्यांकसँग तुलना गरिएको थियो । यसको अर्थ जुन तथ्यांक जसरी तानेर तुलना गर्दा अर्थतन्त्र कमजोर देखिन्छ, तपाईले ती तथ्यांकहरु छानी छानी ल्याएर राख्नुभयो, जुन प्रोफेसनल थिएन ।

वितेका २५ वर्षमा व्यापार घाटा ४१ गुणाले बढेको श्वेतपत्रमा उल्लेख गर्नु तर, यसै अवधिमा ६२ गुणाले राजस्व बढेको कुरा भने उल्लेख नगरिनु प्रोफेसनल काम होइन ।

९० को दशकमा देशको अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान ६ प्रतिशतबाट बढेर १० प्रतिशतभन्दा माथि पुगेको थियो । अहिले आयात निर्यात अनुपात घटेर १० प्रतिशतमा आएको छ । उत्पादनमूलक उद्योगको अर्थतन्त्रमा योगदान ५र६ प्रतिशतमा झरेको छ । यी सकरात्मक कुराहरु श्वेतपत्रमा लुकाइयो ।
तपाई आफूले ३० वर्ष जागिर खाएको र गभर्नर बनेको नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि सबैभन्दा बढी तपाई अर्थमन्त्री भएकै बेला हस्तक्षेप भएको छ ।

राष्ट्र बैंकको गभर्नर र डेपुटी गभर्नरले गर्नुपर्ने छलफल तपाईले आफैं मन्त्रालयमा गर्नुभयो । कतिसम्म भने एउटा वाणिज्य बैंकको सीइओ नियुक्तीमा समेत तपाईले हस्तक्षेप गरेको आरोप लाग्यो ।

यी यावत समस्याका बाबजुत पनि प्रधानमन्त्रीजीले तपाईलाई फेरि अर्थमन्त्री बनाइदिनु भएको छ । यतिञ्जेल त तपाई आफ्ना लागि योद्धा बनेर लड्नुभयो । र, व्यक्तिगत सफलताको शिखर चुम्नुभयो ।

प्रिय अर्थमन्त्रीज्यू, अबचाँही देशका लागि योद्धा बनेर लडिदिनुहोस् न है, प्लिज ।


पुष्प दुलाल