
काठमाडौं । २४० वर्ष शासन गरेको शाह वंशीय राजतन्त्र ढलेको १७ वर्षपछि नेपाली समाज राजतन्त्र र गणतन्त्रको बहसमा जबरजस्त तानिएको छ ।
राजा वीरेन्द्रको वंश नाश हुने गरि भएको दरबार हत्याकाण्डपछि ‘अपूताली’मा आइलागेको श्रीपेच जोगाउन नसकेका ज्ञानेन्द्र शाहमा ७८ वर्षको उमेरमा तेस्रोपटक राजा बन्ने ‘भूत’ सवार भएको छ ।
२००७ मा हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारत भागेपछि राणाहरुले ज्ञानेन्द्रलाई तीन वर्षको उमेरमा श्रीपेच पहिराइदिए ।
सबै भारत गए पनि नेपालमै रहेका ज्ञानेन्द्रलाई राणा प्रधानमन्त्री मोहन शमशेरले २००७ कात्तिकमा राजा घोषणा गरिदिए । तर, राणा शासनसँग जनता रुष्ट थिए । २००७ को आन्दोलनको राफमा भएको दिल्ली सम्झौतापछि नेपालमा राणा शासन अन्त्य भयो । राजा त्रिभुवन नेपाल फर्के र पुन: राजगद्दी सम्हाले ।
शीरमा लगाएको श्रीपेचको ‘स्वाद’ नपाउँदै फुकालिए पनि ज्ञानेन्द्रको शीरमा वीरेन्द्रको वंश नाशपछि श्रीपेच बस्यो । युवराजबाट उनको पहिचान फेरियो, बने श्री ५ ज्ञानेन्द्रवीर बिक्रम शाह देव ।
राजे बनेसँगै जागेको उच्च राजनीतिक महत्त्वकांक्षाले ज्ञानेन्द्रलाई करिब ७ वर्षमै श्रीपेच छाडेर बाहिरिनु पर्ने अवस्था बन्यो । माओवादी सशस्त्र द्वन्द्व, राजनीतिक दलहरुको आन्दोलन, दरबारको हर्कत, नागरिकको चर्को असन्तुष्टी र भीषण प्रदर्शनका कारण उनी नारायणहिटीबाट एकाएक निर्मल निवासमा ‘बेदखल’ हुनुपर्ने अवस्था बन्यो । केही वर्ष चुप रहेका उनमा फेरि एकपटक राजा बन्ने महत्त्वाकांक्षा पलाएको छ र उनलाई राजगद्दीमा बसाल्न कमाण्डर बनेका छन्, विवादित मेडिकल व्यावसायी दुर्गा प्रसाईं ।

पञ्चायलकालीन ‘लिगेसी’ बोकेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का ढंग्रान नेताहरुलाई पछि पार्दै भड्काउने अभिव्यक्ति दिने, दुई ठूला कम्युनिष्ट पार्टीलाई एक बनाउन ‘मार्सी’ भूमिका खेलेका प्रसाईं ‘मै हुँ’ भन्ने राजावादीलाई चक्मा खुवाउँदै ज्ञानेन्द्रलाई राजगद्दीमा बसाउने आन्दोलनको कमाण्डर बनाइएका छन् ।
बैंक वित्तीय संस्थाविरुद्ध समाज भड्काउन पछि नपरेका, स्वार्थ सिद्ध नभएपछि दल फेर्ने, उत्तेजक भाषण दिने कमजोर राजनीतिक धरातल भएका प्रसाईं गणतन्त्र घोषणा भएपछि राजाको फेरो समाउन नछाडेका पूर्वपञ्चहरुलाई पछि पार्दै एकाएक ज्ञानेन्द्रको विश्वासपत्र बने ।

वयोवृद्ध पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वको समितिले, बिहीबार निर्मल निवास पुगेर ज्ञानेन्द्रसँग केही घण्टा छलफल गरेका प्रसाईंलाई कमाण्डर घोषणा गरेपछि संसदको पाँचौं ठूलो दल राप्रपा लतारिँदै उनको आन्दोलनलाई समर्थन गर्ने अवस्थामा पुगेको छ ।
राप्रपा र कमल थापाका कारण राजतन्त्र गुमेको आरोप प्रसाईंले लगाए पनि त्यसको प्रतिवाद गर्ने ल्याकत उनीहरुमा देखिएन । जसका कारण सुरुमा एक व्यक्तिले आह्वान गरेको आन्दोलनमा राप्रपाले समर्थन गर्नुपर्ने अवस्था बनेको छ ।

परम्परागत राजावादी पूर्वपञ्चहरूलाई पछि पार्दै नेतृत्व हात पार्न सफल भएका प्रसाईं राजसंस्था पक्षधर शक्तिका रूपमा स्थापित हुँदै गएका छन् ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा अदालतमा मुद्दा विचाराधीन रहेका व्यवसायी प्रसाईंले आह्वान गरेको आन्दोलनमा सर्वसाधारणलाई उपस्थित गराउन उनले सामाजिक सञ्जाल, युट्युबहरुको भरपूर उपयोग गरिरहेका छन् ।
शुक्रबारको आन्दोलनमा हजारौं सर्वसाधारण उपस्थित गराएर गणतन्त्रवादी र वर्तमान कांग्रेस एमाले नेतृत्वको सरकारलाई देखाइदिने रणनीतिमा छन् प्रसाईं । त्यसकै आडमा ज्ञानेन्द्रलाई ‘रातो कार्पेट’ मा स्वागत गर्दै नारायणहिटी संग्राहलयमा संग्रहित श्रीपेच पहिराइदिने अभिव्यक्ति दिन उनी पछि परेका छैनन् । सायद ज्ञानेन्द्र र पूर्वराजाका ‘आसेपासे’ले सामाजिक सञ्जालमा प्रसाईंको पक्षमा रहेको माहोलले दरबारको ‘चमकधमक’ मा फेरि विराजमान हुन सकिने ‘मनको लड्डु’ नखाएका होलान् भन्न सकिने अवस्था छैन ।

प्रसाईं कसरी बने बलिया राजावादी ?
नेपालमा राजसंस्था पुनर्स्थापनाका लागि लामो समयदेखि मसिनो स्वर सुनिने गरेका थिए । उनीहरु संगठित हुन सकिरहेका थिएनन् । राजतन्त्रको बारेमा खुला बहस गर्ने राप्रपा र अन्य साना राजावादी संगठनहरूको स्वर सुनिएको थिएन । यी दलभित्र आन्तरिक विभाजन, पुराना नेताहरूको कमजोर निर्णय क्षमता र जनतामाझ लोकप्रिय छवि निर्माण गर्न नसक्नुले उनीहरू गुमनाम अवस्थामा थिए।
कमल थापा, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी, राजेन्द्र लिङ्देन जस्ता नेताले राजसंस्थाको मुद्दालाई उठाउँदै आए पनि स्वर बढ्न सकेको थिएन ।
यही स्थितिमा अहिले सरकारको नेतृत्व गरिरहेको कम्युनिष्ट दल नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कुनै समयका ‘खास मान्छे’ दुर्गा प्रसाईं उदाए । कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भइसकेको र दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई मार्सी भात खुवाएर एकता गराएको दाबी गरेका उनी हिन्दूवादी मात्र भएनन् एक नम्बरी राजावादी भएर निस्किएका छन् ।
२०६२/०६३ को जनआन्दोलनको माग हिन्दू राज्य हटाउने नभए पनि तत्कालीन समयमा दलहरुले धोका दिएर धर्मनिरपेक्षता राखेको असन्तुष्टी धेरै हिन्दूवादीहरुमा रहेको छ । उनीहरुको भावनालाई प्रसाईंले आफ्नो ‘जनरा’मा गफ दिएर आकर्षिक गर्न सके ।
गणतन्त्रले व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भान सर्वसाधारणमा पस्यो । राजनीतिक खितातानी, बारम्बारको सत्ता परिवर्तनका कारण दलहरुसँग नागरिक रुष्ट भएको समयमा उनी उत्तेजक भाषणसहित प्रादुर्भाव भए ।
छोराछोरीलाई विदेश पठाउन दैनिक विमानस्थल पुग्ने समुदायलाई उनले पहिला आफ्नो पक्षमा पारे । नेता, व्यापारीविरुद्ध अभिव्यक्ति दिएर उनी गलत भाष्य स्थापित गर्न केही हदसम्म सफल भए।
राजनीतिक दलहरुमा तत्काल सुरधारको संकेत नदेखेका जनताले कहिले बालेन त कहिले नयाँ दलमार्फत आक्रोश पोखेका थिए । तर दलहरुले त्यसलाई नजरअन्दाज गरे । त्यसलाई ‘क्यास’ गर्न प्रसाईं पछि परेनन् ।
सामाजिक सञ्जालमा के बिक्छ र के बोल्दा चर्चा हुन्छ भन्ने राम्रोसँग बुझेका प्रसाईंले सार्वजनिक मञ्चहरूमा आक्रामक रूपमा बोले । परम्परागत नेताहरूको आलोचना गरेर र आफूलाई प्रत्यक्ष रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग नजिक रहेको भन्दै ध्यान खिच्न सके ।
जसले परम्परागत राजावादी नेताहरूको कमजोर अवस्था बन्न पुग्यो । पूर्वपञ्चहरु आफैं नेतृत्व गर्न असफल भएपछि उनीहरूले प्रसाईंलाई समर्थन गर्न बाध्य भए ।

पूर्वराजा ज्ञानेन्द्रले आफूहरुलाई ‘बाल नदिएर’ बिहीबार निर्मल निवासमा प्रसाईंलाई स्वागत गरेपछि पूर्वपञ्चहरु दुर्गाको पछि कुद्नु पर्ने अवस्था बनेको विश्लेषक बताउँछन् ।
प्रसाईं/राजावादीहरुको गतिविधिले एक महिनायता राजनीतिक वृत्तमा एक खालको ‘हलचल’ ल्याएको छ । ठूला राजनीतिक दलहरुले सामान्य भने पनि उनीहरु एकीकृत हुने अवस्था बन्दै गएको छ । केही दिनको राजनीतिक गतिविधिले राजनीतिक परिदृश्य कस्तो बन्ने छ भन्ने देखाउने छ ।
प्रतिक्रिया