
काठमाडौं । निषेधको राजनीति नगर्न सरकारलाई आग्रह गर्दै विभिन्न क्षेत्रका ३२ जना अगुवाले संयुक्त अपिल जारी गरेका छन् । अपिलमा प्रजातान्त्रिक व्यवस्थामा निषेधको राजनीति किमार्थ स्वीकार्य नहुने उल्लेख गरिएको छ ।
भाष्कर राजकर्णिकार, कुशकुमार जोशी, भवानी राणा, मनिषा कोइराला, टिकाराम यात्री, युवराज घिमिरे, जीवराम भण्डारी, स्वागत नेपाल, सर्वेन्द्र खनालसहित ३२ जना अगुवाले जारी गरेको ६ बुँदे अपिलमा सरकारलाई निषेधको प्रवृत्ति त्याग्न र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढ्न आग्रह गरिएको छ।
अपिलमा भनिएको छ, ‘राज्यसत्ता र त्यसको नेतृत्वको वर्तमान गतिविधिले निषेधको संकेत देखिन्छ । हामी विभिन्न संस्था तथा विधामा आबद्ध व्यक्तिहरू सरोकारवालालाई सतर्क र सचेत गराउन चाहन्छौं । यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्छ ।’ अपिलमा ३२ जनाको नाम उल्लेख गरिए पनि हस्ताक्षर भने कसैको छैन ।
वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा गुनाहरु रहेको र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजहरुप्रति भेलाले ऐक्यवद्धता जनाएको अपिलमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया