
विराटनगर । इण्डियन इनर्जी एक्सचेञ्ज (आईइएक्स) बाट थप ६०० मेगावाट विद्युत दिन भारतले स्वीकृति दिएसँग पूर्वको सुनसरी मोरङ औद्योगिक करिडोरमा ६ घण्टासम्म लोडसेडिङ घटेको छ ।
भारतबाट आयात नहुँदा १२ घण्टासम्म लोडसेडिङको मार खेपेका उद्योगीले राहात पाएका छन् ।
यसअघि भारतले प्रोजेक्ट स्टेरिङ कमिटी (पीएससी) अन्तर्गत दिँदै आएको ३५० मेगावाट विद्युत आपूर्ति समेत रोक्दा पूर्वको औद्योगिक करिडोरमा रातको समयमा १२ घण्टा लोडसेडिङ हुँदा यहाँका उद्योगले ७० प्रतिशतसम्म उत्पादन कटौती गरेर मजदुरलाई बिदामा राख्न सुरु गरेका थिए ।
चैतदेखि रातको १२ घण्टा लोडसेडिङ थियो । शनिबारदेखि औद्योगिक करिडोरमा उद्योगको विद्युत खपतका आधारमा ६ देखि ७ घण्टासम्म लोडसेडिङ घटेको सम्बद्ध उद्योगीले क्लिकमान्डुलाई जानकारी दिए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाका अनुसार शनिवारदेखि उद्योगको विद्युत खपतका आधारमा सरदर ६-७ घण्टाले लोडसेडिङ घटेर दुई दिनदेखि ५-६ घण्टा मात्र औद्योगिक करिडोरमा विद्युत आपूर्ति कटौती हुन थालेको छ । उनका अनुसार विद्युत कटौटी साँझको पिकआवरमा कायमै छ ।
१४ मेगावाट बिजुली खपत गर्ने करिडोरको सबैभन्दा बढी मजदुरले रोजगारी पाएको सुनसरी खनारको रिलायन्स स्पिनिङ उद्योगमा शनिबार साँझ ६ बजेदेखि ११ बजेसम्म मात्र विद्युत आपूर्ति बन्द भयो ।
उद्योगका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार शनिबार साँझ ६ बजे कटौती भएर राती ११ बजे आएको विद्युत बीच बीचमा केही मिनेटको ट्रिपिङबाहेक नियमित छ ।
शुक्रबारसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत कटौती हुँदै आएको थियो । पोखरेलका अनुसार शनिबार रातिदेखि उद्योगको लोडसेडिङ झण्डै ७ घण्टाले घटेको छ । राति १२ घण्टा विद्युत आपूर्ति बन्द हुँदा रात्री सिफ्टमा काम गर्ने १५ सय मजदुर घर बस्न बाध्य भएका थिए । उनकाअनुसार शनिबार रातिदेखि उद्योगमा लोडसेडिङ ७ घण्टा कम भएसँगै घर बसेका मजदुरलाई आइतबार रातिदेखि काममा फर्कन आह्वान गरिएको छ ।
चैतदेखि औद्योगिक करिडोरमा साँझ ६ देखि बिहान ६ बजेसम्म विद्युत आपूर्ति कटौती हुँदै आएको थियो । दुई दिनदेखि करिडोरले विद्युतमा केही राहत पाएको उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईले बताए । उनका अनुसार समग्र औद्योगिक करिडोरमा शुक्रबार साँझ ६ घण्टा र शनिबार साँझ सवा ४ घण्टा विद्युत गएको तथ्यांक छ ।
शनिबारदेखि उद्योगमा ६ घण्टा लोडसेडिङ कम हुँदा केही राहत पुगेको नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले बताए । औद्योगिक क्षेत्रमा लोडसेडिङ १२ घण्टाबाट ६ घण्टामा झर्दा उद्योगले आइतबारदेखि उत्पादन कटौती पनि ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेका छन् ।
नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा मुलुकमा लोडसेडिङ मुक्त घोषणा गरे पनि पूर्वको सुनसरी मोरङ औद्योगिक क्षेत्रले त्यसको केही समय छाडेर अहिलेसम्म नियमित लोडसेडिङको मार भोग्दै आएको छ ।
लाडसेडिङ मुक्त घोषणा गरेको करिब एक वर्षसम्म यहाँको सुनसरी मोरङ औद्योगिक क्षेत्रका करिब ६ सय भन्दाबढी उद्योगले केही राहत पाएको अनुभव गरेका थिए । तर त्यसको एकवर्ष देखि अहिलेसम्म यहाँका उद्योगले सुरुवाती दैनिक २ घण्टा, ४ घण्टा, ६ घण्टा ८ घण्टा हुँदै चैतको १२ दिनसम्म १२ घण्टासम्म नियमित लोडसेडिङको मार भोग्दै आउँदा औद्योगिक वातावरणको सन्तुलन नै बिग्रिएको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीको भनाइ छ । शनिबारदेखि ६ घण्टा लोडसेडिङ घटेको छ । उनी यसले औद्योगिक क्षेत्रमा केही राहत पुगेको बताउँछन् ।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले लोडसेडिङको समय घट्नु सकारात्मक पक्ष भएको उल्लेख गर्दै आफ्नो प्रतिबद्धता चाँडो पूरा गरि लोडसेडिङ मुक्त बनाउन मन्त्रीलाई आग्रह गरे ।
सुनसरी-मोरङ औद्योगिक करिडोरभित्र कटहरी, बुढीगंगा र दुहबी करिडोर पर्छन । ती क्षेत्रको करिडोरमा ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानीबाट विद्युत सप्लाई हुँदै आएको छ ।
मंगलबार प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गर्दै भारतबाट ल्याएर भए पनि लोडसेडिङ अन्त्य गर्ने बताएका थिए । प्राधिकरणको लोड डिस्प्याच सेन्टरका अनुसार भारतबाट ८०० मेगावाटसम्म आयात गरेर लोड व्यवस्थापन भइरहेको छ । ‘अहिले पीक आवरमा केहि समस्या छ । त्यसबाहेक समस्या छैन,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘विस्तारै सबै लोडसेडिङ हटाउने गरी काम गरिरहेका छौं ।’
प्रतिक्रिया