
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्दीय कार्यालयमा बुझाएका छन् ।
सोमबार अपराह्न च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आफू पक्षका नेताहरुसहित पुगेका उनले महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका हुन् ।
पार्टीको निर्माण, सञ्चालन, सामूहिक नेतृत्व तथा पार्टी भित्रको नियन्त्रण र सन्तुलनको परिचालन, जनताको बहुदलीय जनवादबाट निर्देशित भएर कसरी चल्नुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर आफूहरुले सो अवधारणा पत्र तयार पारेको वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट पारे ।
उनले आफूहरुले सो अवधारणा पत्र महाधिवेशनमा व्यवस्थित रुपमा राख्ने समेत बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनका लागि प्रतिनिधि चयनमा केही ठाउँमा देखिएको समस्या समाधान भइसकेको समेत बताए ।
अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै सो अवधारणा पत्र बुझाउन अनुकुल नभएपछि पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको पनि उनले बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरुले नेतृत्वमा पुनर्गठन चाहेको र त्यो नभए पार्टी गलत ढंगले अघि बढ्ने जिकिर समेत गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले यसो भने
पार्टीको तर्फबाट प्रश्तुत हुने दस्तावेजहरुमा आवश्यक वस्तुहरु समेटिउन भन्ने उद्देश्यका साथ यो कुरा गरिएको हो । यो कुरा पार्टी अध्यक्षजीलाई जानकारी गराईसकिएको थियो । त्यहाँ जान त्यस्तै अनुकूल परेन । र यही केन्द्रीय कार्यायमा बुझाएको हो । प्रतिनिधि चयन विधिसम्मत ढंगले नै गरिएको हो ।
विधि विपरित भएको कतिपय ठाउँमा विवादित थिए । ती विवादित कुराहरुलाई फेरी संगठन विभागको तर्फबाट सच्याउने काम पनि गरिएको छ । अब त्यसमा केही तलमाथि २० को १९ भएको होला । तर त्यस्तो खास केही छैन । केही केही जिल्लामा प्रतिनिधि छनौट गर्ने शिलशिलामा अस्वस्त खालका गतिविधिहरु पनि देखिए, भए । र, त्यसलाई निरुपण गर्ने मामिलामा पनि अलि ठिक ढंगले भएन भन्ने कुरा पनि अध्यक्ष कमरेडलाई केही दिन अगाडि भेट्दा पनि राखेका हौ ।
अहिले चाहीँ हामीले खासगरी विचारका प्रसंगमा आउने दिनमा पार्टी निर्माण कसरी गर्नुपर्छ ? विधिसम्मत ढंगले कसरी चलाउनु पर्छ ? सामूहिक नेतृत्व प्रणालीलाई कसरी चलाउनु पर्छ ? नियन्त्रण र सन्तुलनको विषयलाई कसरी चलाउनु पर्छ ? र, पार्टी जनताको बहुदलीय जनवादबाट निर्देशित भएर कसरी चल्नुपर्छ ? यिनै विषयमा केन्द्रीय भएर हामीले राखेका छौ । पार्टीलाई के गरी फाईदा हुन्छ, त्यही गर्ने हो । हामी पुनव्र्यवस्थित हुन चाहन्छौ । पुनर्गठित हुन चाहन्छौ । त्यो विचारमा पुनर्गठन, संगठनमा पुनर्गठन, कार्य सम्पादन गर्ने शैलीमा पुनर्गठन । यदि पुनर्गठन राम्रो गरियो भने पार्टी थप प्रभावकारी ढंगले जान सक्छ ।
पुनर्गठनको काम ठिक ढंगले हुन सकेन भने पार्टी यथास्थितिमा र उल्टो दिशातर्फ जान सक्छ भन्ने हाम्रो राय हो । हामी चेपुवामा परेका होइनौँ । अब बहस छलफल हुँदाखेरी चेपुवामा परेको, नपरेको कुरा तपाईहरुलाई लाग्ला । तर हामी हाम्रो कुरा आफ्नो ठाउँमा व्यवस्थित रुपमा राख्छौँ ।







प्रतिक्रिया