साढे ५७ लाख रुपैयाँसहित कुलेश्वरबाट हुन्डी कारोबारी पक्राउ

210
Shares

काठमाडौं । कुलेश्वरबाट ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न १ जना पक्राउ परेका छन् । आइतबार ९ बजे काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका ९ घर भइ हाल काठमाडौं महानगरपालिका १४ कुलेश्वर बस्ने ३४ वर्षीय सरोज श्रेष्ठलाई चेकजाँच गर्ने क्रममा कोठाबाट ५७ लाख ४७ हजार ३५० रुपैयाँ फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

काठमाडौं महानगरपालिका १४ कुलेश्वर स्थित चुन्ने पाखा टोलमा हुन्डी मार्फत रकम कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा उनलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पैसासहित नियन्त्रणमा लिएको हो ।

हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थपको अनुमति लिइ अनुसन्धान भइरहेको छ ।