प्रभु बैंकबाट १५ करोड ऋण दुरूपयोग गरी शाक्यले प्रभु म्यानेजमेन्टको लोन सेटल गरेको भेटियो


काठमाडौं । बैंकिङ कसुरको आरोपमा गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । उनलाई बुधबार ललितपुरको भनीमण्डलबाटनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनीमाथि प्रभु बैंकबाट कर्जा लिएर दुरुपयोग गरेको प्रहरीको आरोप छ । शाक्यले प्रभु बैंकबाट गुण एयरलाइन्सका लागि लिएको कर्जा प्रभु म्यानेमेन्टलाई दिएर त्यसबाट प्रभु बैंकको ऋण सेटलमेन्ट गर्न सहयोग गरेको पाइएपछि सीआईबीले शाक्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । प्रहरीले अनुसन्धानका लागि २ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ ।

प्रभु मनि ट्रान्सफर र प्रभु बैंकका समेत तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचन र कुसुम लामा समेतको लगानीमा प्रभु म्यानेजमेन्ट प्रालि. स्थापना भएको थियो । उक्त कम्पनीलाई प्रभु मनि ट्रान्सफरको सुपर एजेन्ट बनाएर रेमिट्यान्स कारोबार हुँदै आएको थियो ।

यति मात्रै नभएर प्रभु बैंकले समेत प्रभु म्यानेमेन्टसँग सुपर एजेन्सको सम्झौता गरी २०७२ देखि २०७४ सम्म कारोबार गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । प्रभु बैंकले २०७२ साउन १ गतेदेखि २०७४ चैत ४ गतेसम्म रेमिट्यान्स कारोबारको लागि सुपर एजेन्ट बनाएको देखिएको सीआईबीले जनाएको छ । २०७४ चैतपछि भने उक्त सम्झौता खारेज भएको त्यस समयमा प्रभु म्यानेजमेन्टले प्रभु बैंकलाई ६६ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको थियो । उक्त रकम प्रभु म्यानेजमेन्टले रेमिट्यान्स कारोबारको सम्झौता सकिएको साढे ३ वर्षपछि २०७८ असोज ७ गतेमात्रै चुक्ता भएको देखिएको सीआईबीले जनाएको छ ।

यस अवधिमा प्रभु बैंकले प्रभु मनि ट्रान्सफरलाई निर्ब्याजी रुपमा उक्त ऋण चलाउन दिएको समेत पाइएको छ । प्रभु बैंकको आधार दरले हिसाब गर्दा पनि त्यस अवधिको उक्त रकमको ब्याज नै ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ हुनुपर्नेमा उक्त रकम प्रभु बैंकको व्यवस्थापनले प्रभु म्यानेजमेन्टलाई निर्ब्याजी रुपमा चलाउन दिएर प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको पाइएको हो । सोही रकम सेटलमेन्ट गर्न प्रभु बैंकबाट नै कर्जा रकम अपचलन गरी राजेन्द्र शाक्यले समेत १५ करोड रुपैयाँ प्रभु म्यानेजमेन्टलाई उपलब्ध गराएको र त्यसबाट नै प्रभु म्यानेजमेन्टले उक्त ऋण सेटल गरेको पाइएपछि शाक्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको स्रोत बताउँछ ।

‘राजेन्द्र शाक्यको गुण एयरलाइन्स लगायतका विभिन्न व्यवसायमा प्रभु बैंकले लगानी गरेको देखिन्छ । व्यवसायमा गरेको ऋण लगानी माथि अनुसन्धान गर्न शाक्यलाई पक्राउ गरिएको होइन,’ सीआईबी प्रवबक्ता शिबकुमार श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘प्रभु बैंकलाई प्रभु म्यानेजमेन्टले रेमिट्यान्स कारोबारको सम्झौता भएको समयमा तिर्नुपर्ने ६६ करोड रुपैयाँ रकम सेटलमेन्ट गर्न प्रभु बैंकले नै शाक्यको कम्पनीलाई ऋण दिएको र शाक्यको कम्पनीले प्रभु म्यानेजमेन्टलाई फन्ड ट्रान्सफर गरी प्रभु बैंकको ऋण सेटलमेन्टमा सहयोग पुर्‍याएको देखिन्छ ।’

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनकै मिलेमतोमा प्रभु बैंकबाट प्रभु म्यानेजमेन्टलाई वर्षौंसम्म निर्ब्याजी रुपमा ऋण चलाउन दिएर प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको पाइएपछि शेरचन पक्राउ परेका हुन् । प्रभु म्यानेजमेन्टले सहकारीबाट लिएको धरौटी र रेमिट्यान्स वापतको रकम भुक्तानी नगरी सहकारीको रकम अपचलन गरेको र राष्ट्र बैंक ऐन अनुसारको कसुरमा अनुसन्धान गर्न राष्ट्र बैंकबाट समेत विशेषज्ञ टोली मगाएको थियो ।

सोही अनुसन्धानको क्रममा केही ऋणी र बैंकको प्रमुख कार्यकारी अधिकृत शेरचन समेतको संलग्नतामा प्रभु बैंकलाई हानी पुर्‍याउने गरी कर्जाको दुरुपयोग र कर्जा लगानीको रकम लेयरिङ गर्ने समेतको गतिविधि भएको पाइएपछि राष्ट्र बैंककै विशेषज्ञ टोलीले एउटा गोप्य प्रतिवेदन तयार पारेको स्रोतले क्लिकमान्डुलाई बतायो ।

प्रतिवेदनबारे गभर्नर डा. विश्वनाथ पौडेललाई पनि ब्रिफिङ भएपछि सीआईबी प्रमुख अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) मनोज केसीले पनि गभर्नर पौडेलसँग भेटेर छलफल गरेका थिए । सोही छलफलपछि राष्ट्र बैंकसँगको समन्वयनमा नै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र चिफ रिस्क अफिसर रिसब श्रेष्ठ पनि पक्राउ परेको स्रोतले बतायो ।

प्रभु म्यानेजमेन्टलाई प्रभु बैंकबाट बिना ब्याज ६६ करोड रुपैयाँ ऋण चलाउन दिएको विषयमा अनुसन्धान गर्ने क्रममा शाक्य पनि पक्राउ परेका हुन् । प्रहरीको दाबी अनुसार प्रभु म्यानेजमेन्टलाई दिएको ६६ करोड रुपैयाँ राष्ट्र बैंकको सुपरीवेक्षण टिम आउँदा किर्ते गरेर सेटलमेन्ट भएको देखाउने गरेको पाइएको छ । सोही ऋण सेटलमेन्टका लागि नै प्रभु बैंकका सीईओ शेरचनले राजेन्द्र शाक्यको कम्पनीलाई ऋण दिएको र सोही ऋण प्रभु म्यानेजमेन्टले प्रभु बैंकलाई तिर्नुपर्ने ऋण सेटलमेन्टमा प्रयोग भएको पाइएपछि शाक्य पनि अनुसन्धानमा तानिएका हुन् ।

सीआईबीले प्रभु म्यानेजमेन्ट मार्फत विभिन्न कम्पनीमा भएको लगानीको पनि अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार प्रभु बैंकका अन्य उच्चपदस्थ कर्मचारीमाथि पनि पक्राउ पुर्जी जारी भएको उनीहरु अहिले फरारको सुचीमा छन् ।