पूर्वराजाको सेवा सुविधा र पासपोर्ट रद्द गर्दै सरकार

14.8k
Shares

काठमाडौं । सरकार पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा दुर्गा प्रसाईंसहितको समूह उत्तेजित हुँदै लागेको भन्दै उनीमाथि के गर्ने भन्ने विषयमा छलफलमा जुटेको स्रोतको दाबी छ ।

गणतन्त्रवादी दलहरुसँग समेत छलफल गरेर अघि बढ्न कतिपयले सुझाव दिइरहेका छन् भने प्रतिपक्षी दलहरुले सरकारमाथि ज्ञानेन्द्रलाई कारबाही अघि बढाउन दबाब दिइरहेका छन् ।

एकीकृत समाजवादीको पार्टी कार्यालयमै आक्रमण भएको थियो भने एमालेको कार्यालय आगजनीका लागि पुगेका राजावादीको समूह तितरवितर भएको थियो । रास्वपा नेता सन्तोष परियारको गाडीमा आगो लगाइदिएका छन् ।

यसैबीच सरकारले पूर्वराजाको रुपमा दिइएको सेवा सुविधा र सुरक्षा खोस्ने र उनको पार्सपोर्ट रद्द गर्ने तयारी गरेको स्रोतको भनाइ छ । हिंसात्मक आन्दोलनपछि पूर्वराजा भागेर विदेश जान सक्ने भएकाले उनको पासपोर्ट रद्द गर्न लागिएको स्रोतको दाबी छ ।

तीनकुनेबाट भागेर धर्मगुरू खतिवडाको घर पुगेका थिए प्रसाईं, पक्राउ परेकामाथि ज्यान मुद्दामा अनुसन्धान

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको छ । शुक्रबार साँझ गृहमन्त्री रमेश लेखकले तीनकुनेमा घटेको जघन्य हिंसाका नाइकेलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको बताएका थिए । क्लिकमान्डुसँगको कुराकानीमा गृहमन्त्री लेखकले शुक्रबार अन्यन्तै हिंसात्मक, अमर्यादित र अराजनीतिक गतिवधि भएको बताउँदै सो कार्य गर्नेमाथि कुनै माफी नहुने बताए थिए ।

‘मान्छेलाई घरभित्र राखेर बाहिरबाट आगो लगाएर मान्छे पोल्ने पनि कुनै राजनीतिक आन्दोलन हुन्छ ?’ गृहमन्त्री लेखकको प्रश्न छ ।

जघन्य र गम्भीर अपराधिक घटना भएको भन्दै उनले भने, ‘सो व्यक्ति तुरुन्तै पक्राउ पर्छ । पक्राउ गर्न प्रहरी परिचालन भइसक्यो । कुनै क्षम्यता हुँदैन । घरभित्र मान्छे बसेका छन् भन्ने थाहा छ । मान्छेलाई घरभित्र राखेर मान्छे पोल्ने जस्तो जघन्य अपराधलाई सरकारले कुनै पनि हालतमा सहने कुरा हुँदैन ।’

तर, घटनाको भोलिपल्ट मध्याह्नसम्म पनि प्रसाईंलाई समात्म प्रहरी प्रशासनले सकेको छैन । उनी मोबाइ स्विच अफ गरेर फरार रहेको प्रहरी बताउँछ ।

शुक्रबार प्रहरीकी ज्यानै जाने गरि उत्तेजित हुँदै गाडी हुइक्याएका प्रसाईं त्यसपछि तीनकुने क्षेत्रबाट फरार भएका थिए । घटनापछि उनी धर्मगुरू भनिने पुष्कर खतिवडासँगै भागेको खुलेको प्रहरीको भनाइ छ । प्रसाईं खतिवडाको इमाडोलस्थित घरमा केहीबेर बसेपछि त्यहाँबाट फरार भएको पाइएको प्रहरीको भनाइ छ । खतिवडा भने पक्राउ परिसकेका छन् ।

हालसम्म सम्पर्कविहीन प्रसाईंको अन्तिम मोबाइल लोकेशन गैरीगाउँमा देखिएको स्रोतको भनाइ छ । आफू जहाँ बोलाए पनि हाजिर हुन तयार रहेको भन्दै सामाजिक सञ्जालमा लेखेका उनी भागेका हुन् ।

शुक्रबारको घटनामा दुई जनाको ज्यान गएको छ भने ठूलो तोडफोड, निजी र सरकारी सवारीमा आगजनी र व्यापरिक कम्प्लेक्समा लुटपाट भएको छ।

पक्राउ परेकालाई ज्यान मुद्दामा अनुसन्धान

सरकारका उच्च अधिकारीहरूले यस घटनालाई संगठित अपराधको रूपमा लिँदै गम्भीर अनुसन्धान अघि बढाउने बताएका छन् । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रहरीले हालसम्म राप्रपाका नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरिसकेको छ । उनीहरूमाथि व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराधको आरोपमा अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेस गर्ने प्रहरी तयारी छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार घटनामा संलग्नहरूमाथि संगठित अपराध ऐन तथा मुलुकी अपराध संहिताअनुसार मुद्दा चलाइने छ । प्रहरीले प्रमाण संकलनको कार्य तीव्र पार्दै महान्यायाधीवक्ता कार्यालयसँग अनौपचारिक छलफलसमेत गरिसकेको छ ।

शुक्रबारको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको मृत्यु भएको छ । प्रदर्शनकारीले उनलाई भित्रबाट बन्द गरेर तल आगो लगाइदिएका थिए ।

सुरक्षाकर्मीलाई लखेट्न खोज्ने र सरकारी सम्पत्ति तोडफोड गर्नेहरूलाई पनि कडा कानुनी कारबाही गर्ने तयारी भएको छ।