
काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको छ ।
शुक्रबार साँझ गृहमन्त्री रमेश लेखकले तीनकुनेमा घटेको जघन्य हिंसाका नाइकेलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको बताएका थिए । क्लिकमान्डुसँगको कुराकानीमा गृहमन्त्री लेखकले शुक्रबार अन्यन्तै हिंसात्मक, अमर्यादित र अराजनीतिक गतिवधि भएको बताउँदै सो कार्य गर्नेमाथि कुनै माफी नहुने बताए थिए ।
‘मान्छेलाई घरभित्र राखेर बाहिरबाट आगो लगाएर मान्छे पोल्ने पनि कुनै राजनीतिक आन्दोलन हुन्छ ?’ गृहमन्त्री लेखकको प्रश्न छ ।
जघन्य र गम्भीर अपराधिक घटना भएको भन्दै उनले भने, ‘सो व्यक्ति तुरुन्तै पक्राउ पर्छ । पक्राउ गर्न प्रहरी परिचालन भइसक्यो । कुनै क्षम्यता हुँदैन । घरभित्र मान्छे बसेका छन् भन्ने थाहा छ । मान्छेलाई घरभित्र राखेर मान्छे पोल्ने जस्तो जघन्य अपराधलाई सरकारले कुनै पनि हालतमा सहने कुरा हुँदैन ।’
तर, घटनाको भोलिपल्ट मध्याह्नसम्म पनि प्रसाईंलाई समात्म प्रहरी प्रशासनले सकेको छैन । उनी मोबाइ स्विच अफ गरेर फरार रहेको प्रहरी बताउँछ ।
शुक्रबार प्रहरीकी ज्यानै जाने गरि उत्तेजित हुँदै गाडी हुइक्याएका प्रसाईं त्यसपछि तीनकुने क्षेत्रबाट फरार भएका थिए । घटनापछि उनी धर्मगुरू भनिने पुष्कर खतिवडासँगै भागेको खुलेको प्रहरीको भनाइ छ । प्रसाईं खतिवडाको इमाडोलस्थित घरमा केहीबेर बसेपछि त्यहाँबाट फरार भएको पाइएको प्रहरीको भनाइ छ । खतिवडा भने पक्राउ परिसकेका छन् ।
हालसम्म सम्पर्कविहीन प्रसाईंको अन्तिम मोबाइल लोकेशन गैरीगाउँमा देखिएको स्रोतको भनाइ छ । आफू जहाँ बोलाए पनि हाजिर हुन तयार रहेको भन्दै सामाजिक सञ्जालमा लेखेका उनी भागेका हुन् ।
शुक्रबारको घटनामा दुई जनाको ज्यान गएको छ भने ठूलो तोडफोड, निजी र सरकारी सवारीमा आगजनी र व्यापरिक कम्प्लेक्समा लुटपाट भएको छ।
पक्राउ परेकालाई ज्यान मुद्दामा अनुसन्धान
सरकारका उच्च अधिकारीहरूले यस घटनालाई संगठित अपराधको रूपमा लिँदै गम्भीर अनुसन्धान अघि बढाउने बताएका छन् । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।
प्रहरीले हालसम्म राप्रपाका नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरिसकेको छ । उनीहरूमाथि व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराधको आरोपमा अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेस गर्ने प्रहरी तयारी छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार घटनामा संलग्नहरूमाथि संगठित अपराध ऐन तथा मुलुकी अपराध संहिताअनुसार मुद्दा चलाइने छ । प्रहरीले प्रमाण संकलनको कार्य तीव्र पार्दै महान्यायाधीवक्ता कार्यालयसँग अनौपचारिक छलफलसमेत गरिसकेको छ ।
शुक्रबारको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको मृत्यु भएको छ । प्रदर्शनकारीले उनलाई भित्रबाट बन्द गरेर तल आगो लगाइदिएका थिए ।
सुरक्षाकर्मीलाई लखेट्न खोज्ने र सरकारी सम्पत्ति तोडफोड गर्नेहरूलाई पनि कडा कानुनी कारबाही गर्ने तयारी भएको छ।
पूर्वराजामाथि के होला?
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा दुर्गा प्रसाईंसहितको समूह उत्तेजित हुँदै लागेको भन्दै उनीमाथि के गर्ने भन्ने विषयमा छलफलमा जुटेको स्रोतको दाबी छ । गणतन्त्रवादी दलहरुसँग समेत छलफल गरेर अघि बढ्न कतिपयले सुझाव दिइरहेका छन् भने प्रतिपक्षी दलहरुले सरकारमाथि ज्ञानेन्द्रलाई कारबाही अघि बढाउन दबाब दिइरहेका छन् । एकीकृत समाजवादीको पार्टी कार्यालयमै आक्रमण भएको थियो भने एमालेको कार्यालय आगजनीका लागि पुगेका राजावादीको समूह तितरवितर भएको थियो ।
उनको सेवा सुविधा खोस्न र पार्सपोर्ट रद्द गर्ने तयारी सरकारले गरेको स्रोतहरुको भनाइ छ ।
प्रतिक्रिया