अगस्टदेखि मारुति सुजुकीका गाडी ३० हजार भारुसम्म महँगो हुने, बढ्दो लागतको भार ग्राहकलाई हस्तान्तरण

28
Shares

एजेन्सी । भारतको सबैभन्दा ठूलो सवारीसाधन निर्माता कम्पनी मारुति सुजुकीले आगामी अगस्ट २०२६ देखि लागू हुने गरी आफ्ना सबै मोडलका गाडीहरूको मूल्य प्रति गाडी ३० हजार भारुसम्मले बढाउने घोषणा गरेको छ ।

स्टक एक्सचेन्जमा पेश गरिएको विवरण अनुसार, सवारीसाधन उत्पादनमा लाग्ने कच्चा पदार्थ र अन्य सामग्रीको लागतमा भइरहेको निरन्तर वृद्धिलाई सन्तुलनमा राख्न कम्पनीले यो कदम चालेको हो ।

यस घोषणासँगै सेयर बजारमा मारुति सुजुकीको सेयर मूल्यमा पनि सुधार देखिएको छ । दिनको सुरुवाती उतारचढावका बीच कम्पनीको सेयर मूल्य ०.६ प्रतिशतले बढेर १३ हजार ५ सय ९७ भारुमा बन्द भएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, कच्चा पदार्थको मूल्यमा भइरहेको निरन्तर वृद्धिका कारण आफ्नो पोर्टफोलियोमा रहेका सबै मोडेलहरूको मूल्य ३० हजार भारुसम्म बढाउने निर्णय गरिएको हो ।

विगत केही महिनादेखि आन्तरिक रूपमा विभिन्न लागत कटौतीका उपायहरू अपनाएर यो भार आफैंले बेहोर्ने प्रयास गरे पनि बढ्दो मुद्रास्फीति र प्रतिकूल व्यावसायिक वातावरणका कारण लागतको केही हिस्सा ग्राहकमा हस्तान्तरण गर्नुपर्ने बाध्यता आइलागेको कम्पनीले उल्लेख गरेको छ ।

तर, ग्राहकमा पर्ने थप आर्थिक भारलाई सकेसम्म न्यून राख्ने प्रयास भइरहेको र कुन मोडेलमा कति मूल्य बढ्ने भन्ने कुरा गाडीको प्रकृतिमा निर्भर हुने मारुतिले स्पष्ट पारेको छ ।

मारुति सुजुकीका ३.५ लाख भारुदेखि २८.७० लाख भारुसम्मका गाडीहरू (इन्ट्री–लेभल एस–प्रेसोदेखि प्रिमियम इन्भिक्टोसम्म) बजारमा उपलब्ध छन् । यसअघि जुन महिनामा पनि कम्पनीले केही सस्तो गाडीहरू बाहेक अन्यमा ३० हजार भारुसम्म मूल्य बढाएको थियो ।

मुद्रास्फीतिको दबाबका कारण मारुति मात्र नभई टाटा मोटर्सले दुईपटक तथा महिन्द्रा एन्ड महिन्द्रा र हुन्डाई मोटर इन्डियाले पनि यस वर्ष एक–एकपटक गाडीको मूल्य बढाइसकेका छन् ।

विशेषगरी पश्चिम एसियामा चलिरहेको द्वन्द्वका कारण विश्वव्यापी व्यापारिक मार्ग र ऊर्जा बजारमा परेको गम्भीर असरले कच्चा पदार्थको मूल्य बढाएको छ । यसै भूराजनीतिक तनावका कारण सिर्जित अतिरिक्त लागतको भार कम्पनीहरूले ग्राहकलाई थप्न बाध्य भएका हुन् ।