खाडी साझेदारहरूको पुनर्निर्माणका लागि इरानको रोक्का भएको सम्पत्ति उपयोग गर्ने अमेरिकाको योजना

70
Shares

एजेन्सी । अमेरिकी सरकारले इरानद्वारा पुर्याइएको क्षतिको पुनर्निर्माण र मर्मतका लागि इरानी सम्पत्तिलाई खाडी राष्ट्रहरूतिर स्थानान्तरण गर्ने प्रयास गर्ने योजना बनाएको छ । इरानले कुवेत र बहराइनमाथि गरेको आक्रमणको लहरपछि थप ड्रोनहरू प्रहार गरेसँगै यस्तो जानकारी आएको हो ।

अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले खाडी सहयोगी राष्ट्रहरूलाई इरानले पुर्याइसकेको क्षतिको लागत मूल्यांकन गर्न एक टोलीलाई निर्देशन दिएको सीएनबीसीले स्रोतलाई उद्धृत गर्दै भन्यो । अमेरिकाले भविष्यमा हुने कुनै पनि विनाशको मर्मतका लागि इरानी सम्पत्ति प्रयोग गर्ने विषयमा पनि विचार गर्ने उसले थप्यो ।

इरानका सर्वोच्च नेताका सल्लाहकार मोहसेन रेजाईले तीन महिना लामो युद्ध अन्त्यका लागि शान्ति सम्झौता अमेरिकाले रोक्का गरेको २४ अर्ब डलरको इरानी सम्पत्ति फुकुवामा निर्भर रहेको भनी सीएनएनलाई बताएको एक दिनपछि यो खुलासा भएको हो ।

शनिबार स्रोतले अर्थ मन्त्रालयले कस्तो प्रकारको सम्पत्तिको जाँच गरिरहेको छ भन्ने कुरा खुलाएन । नयाँ उपायहरूको वर्णन गर्न प्रयोग गरिएको भाषा रोक्का गरिएका सम्पत्तिहरूमा मात्र सीमित देखिएन ।

इरानी सम्पत्ति मोड्ने यस चेतावनीले अमेरिका र इरानबीचको कमजोर युद्धविराममा नयाँ तनाव थप्न सक्छ । त्यसको परीक्षण यस सप्ताहान्तमा अमेरिका र इरानद्वारा गरिएका आक्रमणहरूले पुनः गरेका छन् ।

इरानको अर्ध–आधिकारिक समाचार एजेन्सी आईएसएनएका अनुसार, मध्यस्थकर्ता पाकिस्तानका एक मन्त्री इरानका सर्वोच्च नेता आयतोल्लाह मोजताबा खामेनेईका लागि पत्र लिएर शनिबार तेहरान प्रस्थान गरे पनि शान्ति वार्ता भने रोकिएको देखिन्छ ।

अमेरिकी सेन्ट्रल कमान्डले समुद्री आवागमनमा खतरा उत्पन्न गरेको बताएका इरानद्वारा प्रक्षेपित ड्रोनहरू खसालेपछि शनिबार बिहान अमेरिकी सेनाले हर्मुज जलयोजकमा पर्ने गोरुक र केशम टापुका इरानी तटीय रेडार स्थलहरूमा आक्रमण गरेको छ ।

जलयोजकमा जहाजहरूलाई खतरा पुर्याइरहेका थप दुई इरानी आक्रमणकारी ड्रोनहरू पनि खसालिएको अमेरिकी सेनाले शनिबार ढिलो गरी बताएको छ ।

इरानको रिभोलुसनरी गार्डले कुवेत र बहराइनमा रहेका अमेरिकी अड्डाहरू विरुद्ध जवाफी कारबाही गरेको बताएको छ र कुवेतको सेनाले शनिबार आवासीय क्षेत्रमा आएका सातवटा ब्यालिस्टिक मिसाइलहरूलाई रोकेको बताएको छ । त्यसबाट भौतिक क्षति भए पनि कुनै मानवीय क्षति भने भएको छैन ।

बहराइनमा साइरनहरू बजेका थिए र बासिन्दाहरूलाई आश्रय खोज्न आग्रह गरिएको थियो । कुवेत र बहराइनले यी आक्रमणहरूको निन्दा गरेका छन् ।

इरानले पछि दुवै देशका अमेरिकी अड्डाहरूमा ब्यालिस्टिक मिसाइलले प्रहार गरेको दाबी गरेको थियो । तर, अमेरिकी सेनाले ६ वटा मिसाइल रोकिएको र सातौं मिसाइल लक्ष्यमा नपुगेको बताएको छ ।

अमेरिका र इरान तीन महिना पुरानो युद्ध रोक्नका लागि अन्तरिम सम्झौताका लागि धेरै हदसम्म अप्रत्यक्ष वार्तामा संलग्न छन् जसले इरानको आणविक कार्यक्रम लगायतका विषयहरूलाई आगामी वार्ताका लागि छोड्नेछ ।

तर, दुवै पक्षबीच समय–समयमा स–साना झडपहरू भइरहेकाले सम्झौता भने अझै हुन सकेको छैन ।

तेहरान अर्बौं डलरको तेल राजस्वमा पहुँच, कच्चा तेल निर्यातमा लगाइएका प्रतिबन्धहरूमा छुट, आफ्ना बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दीको अन्त्य र हर्मुज जलयोजकमा आफ्नो प्रभाव चाहन्छ । इरानले यस जलमार्गलाई प्रभावकारी रूपमा अवरुद्ध गरेको छ जहाँ युद्धअघि विश्वव्यापी तेल आवागमनको करिब पाँच भागको एक भाग ओसारपसार हुन्थ्यो ।

इरानी सरकारी सञ्चारमाध्यमले पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वी शनिबार विदेशमन्त्री अब्बास अराक्ची लगायत इरानी अधिकारीहरूसँग वार्ताका लागि तेहरान आइपुगेको जानकारी दिएका छन् । नक्वीले आफ्ना देशका सेनाप्रमुख र प्रधानमन्त्रीको तर्फबाट खामेनेईका लागि विशेष पत्र लिएर आएको बताएको आईएसएनएले रिपोर्ट गरेको छ ।

ग्यासको बढ्दो मूल्यका कारण यो अलोकप्रिय युद्ध अन्त्य गर्न ट्रम्पले बढ्दो आन्तरिक राजनीतिक दबाबको सामना गरिरहेका छन् । इरानका अधिकांश ड्रोन र मिसाइल उत्पादन केन्द्रहरू नष्ट गरिए तापनि इरानीहरूसँग अझै करिब पाँच भागको एक भाग मिसाइलहरू बाँकी रहेको उनले एनबीसीलाई बताए ।

नेटवर्कद्वारा शुक्रबार सार्वजनिक गरिएको अंशका अनुसार, ट्रम्पले एनबीसी न्यूजको “मिट द प्रेस“ कार्यक्रममा भने, ‘उनीहरूसँग केही मिसाइल र ड्रोनहरू छन् । प्रतिशतका आधारमा भन्नुपर्दा सायद २१ देखि २२ प्रतिशत मिसाइलहरू बाँकी छन् । यो धेरै मिसाइल हो तर हामीले पहिलोपटक आक्रमण गर्दाको जस्तो अवस्था भने होइन ।’

यस द्वन्द्वले तेलको मूल्य बढाएको छ र मानवीय सहायता लगायत अन्य वस्तुहरूको आपूर्ति शृंखलामा अवरोध पुर्याएको छ ।

लेबननमा चलिरहेको समानान्तर द्वन्द्वमा दक्षिण लेबननमा एउटा सैन्य सवारीसाधनमाथि भएको इजरायली आक्रमणमा लेबननी सेनाका दुई अधिकारी र एक सिपाही मारिएको लेबननी सेनाले बताएको छ । इजरायली सेनाले यस घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

इरानले वाशिङटनसँगको कुनै पनि शान्ति सम्झौताका लागि इजरायल र इरान समर्थित हिजबुल्लाहबीच लेबननमा युद्धविराम हुनुपर्ने शर्त राखेको छ ।

लेबननी सेनाले शनिबार यसका कमान्डर जनरल रुडोल्फ हैकल आफ्ना पाकिस्तानी समकक्षको निमन्त्रणामा पाकिस्तान प्रस्थान गरेको बताएको छ तर थप विवरण भने दिएको छैन ।

वाशिङटन र राष्ट्रपति लगायत लेबननी नेताहरूले लेबननको युद्धविराम वार्ता पाकिस्तानद्वारा मध्यस्थता गरिएको अमेरिका–इरान वार्ताभन्दा छुट्टै हुनुपर्ने अडान राखेको सन्दर्भमा यो आकस्मिक भ्रमण अर्थपूर्ण देखिन्छ ।

हिजबुल्लाह नेता नइम कासिमले यसै साता इजरायल र लेबननी सरकारबीच लेबननमा लडाइँ रोक्नका लागि भएको अमेरिका–मध्यस्थताको सम्झौतालाई अस्वीकार गरेका छन् । उक्त सम्झौतामा इजरायली सेना फिर्ता हुने प्रावधान थिएन र हिजबुल्लाह त्यस वार्तामा सहभागी पनि थिएन ।

अमेरिकासँगको बढ्दो मनमुटावका बीच इजरायलले आफ्ना सेना फिर्ता नहुने वा लेबननमा आफ्नो सैन्य कारबाही नरोक्ने बताएको छ ।