काठमाडौं उपत्यकामा जग्गाको नयाँ मूल्य: आनाको डेढ लाखदेखि ७६ लाखसम्म

0
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रको जग्गाको सरकारी (न्यूनतम) मूल्यांकन वृद्धि गरेको छ ।

काठमाडौं भित्रका विभिन्न मालपोत कार्यालयहरूले जग्गाको थैली अङ्क कायम गर्ने प्रयोजनका लागि १० प्रतिशतसम्मले मूल्य वृद्धि गरेका हुन् ।

काठमाडौं जिल्लाका डिल्लीबजार, कलंकी, चाबहिल, टोखा र मनमैजु मालपोत कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रको जग्गाको मूल्याङ्कन बढाएका छन् भने भक्तपुरले गत वर्षकै मूल्यलाई यथावत् राखेको छ ।

सबैभन्दा महँगो क्षेत्र: प्रतिआना ७६ लाख २० हजार

मालपोत कार्यालय डिल्लीबजारका अनुसार काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूको जग्गाको मूल्य सबैभन्दा उच्च कायम गरिएको छ । न्युरोड, दरबारमार्ग, कान्तिपथ, जमल, इन्द्रचोक, रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट, सुन्धारा, केशरमहल, माइतीघर, सिंहदरबार पश्चिम गेट, हात्तिसार र कमलादी क्षेत्रका मूल सडकसँग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यी क्षेत्रको मूल्य ७२ लाख ६० हजार रुपैयाँ थियो ।

यस्तै, पुतलीसडक आसपासको जग्गाको मूल्य ५३ लाख २४ हजारबाट बढाएर प्रतिआना ५६ लाख रुपैयाँ कायम गरिएको छ । यी क्षेत्रमा कच्ची र गोरेटो बाटोले छोएका जग्गाको मूल्य भने २२ लाखदेखि ३७ लाख रुपैयाँसम्म तोकिएको छ ।

चाबहिल मालपोत कार्यालयले आफ्नो क्षेत्रमा सबैभन्दा धेरै मूल्य वृद्धि गरेको छ । गौशालादेखि धोबीखोलासम्मको चक्रपथसँग जोडिएका जग्गाको मूल्य प्रतिआना ५ लाख ७० हजारले बढेर ६२ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यहाँको मूल्य ५७ लाख रुपैयाँ थियो । यस्तै, बौद्ध स्तुपा क्षेत्रको मूल्य प्रतिआना ४८ लाख ९५ हजार रुपैयाँ कायम गरिएको छ ।

कलङ्की मालपोत कार्यालयले चक्रपथसँग जोडिएका जग्गा (बल्खुदेखि वनस्थलीसम्म) को मूल्य ४७ लाखबाट बढाएर ४९ लाख ३५ हजार रुपैयाँ पुर्‍याएको छ । कालीमाटी र विष्णुमती क्षेत्रका जग्गाको मूल्य पनि प्रतिआना २ लाखका दरले बढेर २३ लाखदेखि ४३ लाख रुपैयाँसम्म पुगेको छ ।

टोखा क्षेत्रमा नारायणस्थान जाने पिच सडकसँग जोडिएका जग्गाको मूल्य प्रति वर्गमिटर ७० हजार (प्रतिआना करिब २२ लाख २५ हजार) रुपैयाँ पुर्‍याइएको छ । मनमैजु क्षेत्रमा २० लाख रुपैयाँ प्रतिआना रहेको जग्गाको न्यूनतम मूल्याङ्कन बढाएर २२ लाख रुपैयाँ कायम गरिएको छ ।

सबैभन्दा कम मूल्य कहाँ ?

काठमाडौं जिल्लामा बाटो नपुगेका र दुर्गम क्षेत्रका जग्गाको न्यूनतम मूल्य १ लाख देखि १० लाख रुपैयाँसम्म तोकिएको छ । गोकर्णेश्वर नगरपालिकाको साविक बालुवा गाविसमा बाटोले नछोएको जग्गाको मूल्य १ लाख ४३ हजार रुपैयाँ छ भने कीर्तिपुरको केही स्थानमा बाटो नपुगेको जग्गाको मूल्य १ लाख ६५ हजार कायम गरिएको छ ।

भक्तपुर र उपत्यका बाहिरको अवस्था

भक्तपुर जिल्लाका मालपोत कार्यालयहरूले भने यस वर्ष मूल्य वृद्धि नगरेको जनाएका छन् । कटुन्जे र अरनिको राजमार्ग आसपासको जग्गाको मूल्य प्रतिआना ४० लाख तथा कौशलटार-बालकोट क्षेत्रमा २१ लाख ६५ हजार रुपैयाँ नै कायम छ । उपत्यका बाहिर भरतपुर महानगरपालिका लगायतका स्थानमा पनि गत वर्षकै मूल्यांकनलाई निरन्तरता दिइएको छ ।