हुन्डाईले आयोनिक ५ एनको बिक्री बढाउन ल्यायो नयाँ अफर

0
Shares

एजेन्सी । हुन्डाईले अमेरिकामा २०२६ मोडलको आयोनिक ५ एनको सुरुवाती मूल्य ६३ सय डलरले घटाएको छ र साथै केही प्राविधिक अपडेटहरू पनि ल्याएको छ ।

यो उच्च कार्यक्षमता भएको विद्युतीय सवारीसाधनमा अब एन.ए.सी.एस. चार्जिङ पोर्ट, चार्जिङ एडाप्टरहरू र परिमार्जित ड्रिफ्ट मोड मानक रूपमा उपलब्ध हुनेछन् ।

१६ सय डलरको डेस्टिनेसन चार्ज बाहेक यो ब्याट्री–विद्युतीय मोडलको सुरुवाती मूल्य अब ५९ हजार ९०० डलर कायम गरिएको छ जुन अघिल्लो वर्षको मोडलको तुलनामा ६३ सय डलर कम हो । उत्पादकका अनुसार, मूल्यमा गरिएको यो समायोजन आफ्नो एन पर्फर्मेन्स ब्रान्डलाई अझ धेरै मानिसको पहुँचमा पुर्याउने बृहत्तर रणनीतिको हिस्सा हो ।

कम मूल्यका साथसाथै हुन्डाईले गाडीमा केही नयाँ उपकरणहरू र अपडेटहरू पनि थपेको छ। २०२६ आयोनिक ५ एनमा पुरानो सीसीएस चार्जिङ इनलेटको सट्टा नर्थ अमेरिकन चार्जिङ स्ट्यान्डर्ड पोर्ट राखिएको छ जसले चालकहरूलाई टेस्लाको सुपरचार्जर नेटवर्कमा प्रत्यक्ष पहुँच दिनेछ ।

हुन्डाईले एसी र डीसी दुवै प्रकारको चार्जिङका लागि सीसीएस–टु–एनएसीएस एडाप्टर र लेभल १/लेभल २ डुअल–भोल्टेज पोर्टेबल चार्जिङ केबल पनि प्रदान गरेको छ । नयाँ अपडेटहरूमा पहिलेको एउटा मात्र सेटिङको साटो १० वटा विभिन्न चरणहरू छान्न मिल्ने एन ड्रिफ्ट अप्टिमाइजर, इन–क्याबिन क्यामेरा प्रयोग गर्ने फरवार्ड अटेन्सन वार्निङ प्रणाली, पछाडिका झ्यालहरूमा अटोमेटिक अप/डाउन सुविधा र नयाँ पर्फर्मेन्स ब्लु पर्ल बाहिरी रंग समावेश छन् ।

गाडीको मुख्य प्राविधिक प्याकेजमा भने कुनै परिवर्तन गरिएको छैन । एन ग्रिन बुस्ट सक्रिय हुँदा आयोनिक ५ एनले अझै पनि ४७८ किलोवाट सम्मको पावर दिन्छ । यो मोडल हुन्डाई मोटर ग्रुपको इलेक्ट्रिक–ग्लोबल मोड्युलर प्लेटफर्ममा आधारित छ र यसले विशेष विद्युतीय सवारी संरचनालाई हुन्डाईको एन पर्फर्मेन्स विभागले विकास गरेका प्रविधिहरूसँग जोडेको छ ।

हुन्डाईले सन् २०२३ मा उच्च कार्यक्षमता भएको यो आयोनिक ५ एन सार्वजनिक गरेको थियो । यो ब्याट्री–विद्युतीय मोडलमा ८००–भोल्टको आर्किटेक्चरका साथै १६६ किलोवाट र २८२ किलोवाटका दुईवटा मोटर जडित अल–ह्विल ड्राइभ प्रणाली रहेको छ ।

यी दुवै मोटरले मिलेर ६४१ हर्सपावरसम्म शक्ति पैदा गर्छन् । आयोनिक ५ एनमा ८४ किलोवाट–आवरको ब्याट्री प्रयोग गरिएको छ जसले २३८ किलोवाट सम्मको डीसी चार्जिङ समर्थन गर्छ ।

३५० किलोवाटको चार्जरमा जोड्दा यसलाई केवल १८ मिनेटमै १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको अधिकतम गति इलेक्ट्रोनिक रूपमा प्रति घण्टा १६२ माइलमा सीमित गरिएको छ ।

यसका प्रमुख विशेषताहरूमध्ये एन ई–सिफ्ट प्रणाली पनि एक हो जसले मोटरको टर्क आउटपुट परिवर्तन गरेर ८–स्पीड डुअल–क्लच ट्रान्समिसनको जस्तै गियर परिवर्तनको अनुभव दिन्छ । यस प्रणालीलाई एन एक्टिभ साउन्ड प्लसले थप सहयोग पुर्याउँछ जसले उच्च गतिको ड्राइभिङ वा ट्य्राक प्रयोगका बेला वास्तविक इन्जिनको जस्तै आवाज पैदा गर्छ ।

हुन्डाई मोटर उत्तर अमेरिकाका उत्पादन योजना निर्देशक रिकी लाओले २०२६ आयोनिक ५ एनलाई कम्पनीले अहिलेसम्म प्रस्ताव गरेकामध्ये सबैभन्दा बढी प्रशंसा गरिएको मोडलमध्ये एक भएको बताए ।

उनका अनुसार, आयोनिक ५ एनको असाधारण कार्यक्षमता, प्रविधि र सम्झौताहीन नवप्रवर्तन अब अझ धेरै ड्राइभिङ प्रेमीहरूको पहुँचभित्र पर्ने गरी नयाँ मूल्य तोकिएको छ ।