ईभी सवारी जाँचपास : भन्सारका प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीमुक्त, अर्थमन्त्रीको सचिवालयद्वारा खेद प्रकट

0
Shares

काठमाडौं । बजेट घोषणाको पूर्वसन्ध्यामा केही भन्सार नाकाबाट विद्युतीय सवारी साधन (ईभी) को शंकास्पद भन्सार जाँचपास भएको विषयमा अर्थ मन्त्रालयले छानविन थालेको छ ।

मन्त्रालयले रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी विभाग तानेको छ।

अर्थमन्त्री डा स्वर्णीम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले प्रेस विज्ञप्ति जारी गर्दै भन्सार बिन्दुमै नपुगेका सवारी साधनको जाँचपास भएको भन्ने उजुरीका आधारमा छानबिन समिति गठन गरिएको र सोही समितिको सिफारिसमा जेठ २० गते कर्मचारीहरूलाई कारबाही स्वरूप जिम्मेवारीमुक्त गरिएको जानकारी दिएका छन्।

रसुवासँगै मुस्ताङको कोरोला नाकाबाट भएका कार आयातका सम्बन्धमा पनि मन्त्रालयले गम्भीर चासो देखाएको छ। अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एक विशेष अनुसन्धान टोली यतिबेला मुस्ताङमा स्थलगत अनुसन्धानमा खटिएको छ।

भन्सार छलीको आशंकामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका कार र आयातकर्ता कम्पनीमाथि सूक्ष्म अनुसन्धान भइरहेको सचिवालयले जनाएको छ।

यसैबीच, अर्थमन्त्रीको सचिवालयले यो प्रकरणलाई लिएर माननीय अर्थमन्त्री डा स्वर्णीम वाग्लेको चरित्र हत्या गर्ने र बजेटलाई विवादित बनाउने उद्देश्यले अफवाह फैलाइएको भन्दै गम्भीर खेद प्रकट गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘छानबिन चलिरहेकै बेला जिम्मेवार अधिकारीहरूको चरित्र हत्या गर्ने, समाजमा गलत भाष्य स्थापित गर्ने र मिडिया ट्रायल गर्ने कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता कार्यमा संलग्न केहीमाथि कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको छ भने अरूमाथि पनि कानुनी कदम चालिनेछ।’

मन्त्रालयले अर्थतन्त्र, बजेट र भन्सार जस्ता प्राविधिक र संवेदनशील विषयमा समाचार वा विचार निर्माण गर्दा सत्यतथ्य बुझ्न र तथ्यले पुष्टि गरेपछि मात्र सामग्री सम्प्रेषण गर्न सञ्चार माध्यम र सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

‘एकपटक जिम्मेवार अधिकारीसँग सत्यतथ्य सोधेर वा प्रक्रियाबारे जानकारी राखेर मात्र समाचार बनाइदिन हामी अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

यो प्रकरणको विस्तृत विवरण अनुसन्धान सकिएपछि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।