बैंकरलाई तनाव: कसैले कुट्छन्, कसैले लुट्छन् !

बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिएर नतिर्ने जनकपुरका 'अम्बानी' लाई उक्स्याउँदै दुर्गा प्रसाईं समूह


काठमाडौं । पछिल्लो समयम बैंक तथा बैंकरहरूमाथिको आक्रमण बढ्दै गएको छ ।कर्जाको नियमित सावा र व्याज तिर्न आग्रह गर्दै पुग्ने बैंकका कर्मचारीहरूमाथि देशका विभिन्न स्थानमा कुटपिटका घटनाहरू पछिल्लो समय बढिरहेका छन् भने मंगलबार राति त नेपाल एसबीआई बैंकको शाखा नै लुटपाटसम्मको घटना भएको छ ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा मंगलबार राति लुटेराहरूको समूहले लुटपाट गरेको हो ।

लुटेराहरूले बैंकका सुरक्षागार्ड रुद्र कार्कीलाई कुटपिट तथा खुकुरी प्रहार गरी घाइते बनाउँदै नियन्त्रणमा लिएपछि काउन्टरमा रहेको ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए ।

लुटपाटमा संलग्नमध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ प्रहरीले बरामद गरेको छ । उक्त रकम घटनास्थलबाट करिब डेढ किलोमिटर टाढा जंगलमा फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । लुटेराहरू बनेपाबाट गाडी नै रिजर्भ गएर गएका थिए ।

बैंकलाई दुर्गा प्रसाईं लागयतको समूहले तारो बनाइरहँदा र ऋण नतिर्न उक्साउने गतिविधि गरिरहँदा लुटपाटको घटना हुँदा बैंकरहरू तनाबमा छन् ।

ऋण नतिर्नेहरूलाई बैंक तथा वित्तीय संस्थामाथि नियोजित रूपमा आक्रमण गर्नेहरूले साथ दिँदा बैंकहरूलाई ऋण असुलीमै पनि समस्या बढ्दै गएको छ ।

केही समयअगाडि लघुवित्त र बैंक तथा वित्तीय संस्थाका साना ऋणीहरूलाई उचाल्दै ऋण मिनाहा गराउने भन्दै अभियान चलाएको दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ले पछिल्लो समय अर्बौं ऋण लिएका ऋणीहरूलाई समेत संगठित गर्दै लगेको छ ।

दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौलाको नेतृत्वमा ऋण नतिर्ने ठूला ऋणीलाई संगठित गर्ने कार्य मात्र भएको छैन, बैंकका कर्मचारी र नेतृत्वले ‘पानीमुनि गए पनि नछाड्ने’ भन्दै खुला चेतावनी समेत दिएका छन् ।

दिनेशकुमार महतो तिनै व्यक्ति हुन्, जसले बैंकबाट लिएको ऋण तिर्दैनन् तर जनकपुरको ‘अम्बानी’ भनेर छुट्टै सान देखाउने गरेका छन् । उनले ऋण असुल गर्न जाने बैंकका कर्मचारीहरूलाई आफ्नो यस्तो पहिचान छ भन्दै केन्द्रीय नेता, मन्त्रीदेखि प्रदेशका मन्त्री र सांसद, प्रहरी प्रमुखदेखि सीडीओसम्मको पावर देखाउँदै थर्काएर फर्काउने गरेको बैंकरहरू बताउँछन्

गएको असारयता मात्रै बैंक तथा वित्तीय संस्थामा १० वटा आक्रमणका घटना भएको बैंकरहरू बताउँछन् ।

केही दिनअघि मात्र जनकपुरमा ‘अम्बानी’ भनेर चिनिने दिनेशकुमार महतोलाई देवी संग्रौलाले खादा लगाएर ‘मधेशको दुर्गा प्रसाईं’ भन्दै उनलाई बैंकहरूले अन्याय गरेको र बैंकलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिए ।

करिब ३ वर्षदेखि ४ वटा बैंकबाट लिएको करिब ३ अर्ब रुपैयाँ ऋण नतिरेपछि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका महतोले देवी संग्रौलालाई साक्षी राखेर बैंकहरूलाई मात्र नभई धितो मूल्यांकन गर्ने इन्जिनियरलाई समेत नछाड्ने चेतावनी दिएका छन् ।

क्लिकमान्डुलाई प्राप्त एक भिडियोमा फित्ता बोकेर धितो मूल्यांकन गर्ने इन्जिनियर र बैंकलाई पनि ठोक्न निर्देशन दिँदै त्यसको जिम्मा नागरिक बचाउ अभियानले लिने प्रतिबद्धता जनाउँदै भड्काएको भिडियोमा प्रस्ट देखिन्छ ।

दिनेशकुमार महतो तिनै व्यक्ति हुन्, जसले बैंकबाट लिएको ऋण तिर्दैनन् तर जनकपुरको ‘अम्बानी’ भनेर छुट्टै सान देखाउने गरेका छन् । उनले ऋण असुल गर्न जाने बैंकका कर्मचारीहरूलाई आफ्नो यस्तो पहिचान छ भन्दै केन्द्रीय नेता, मन्त्रीदेखि प्रदेशका मन्त्री र सांसद, प्रहरी प्रमुखदेखि सीडीओसम्मको पावर देखाउँदै थर्काएर फर्काउने गरेको बैंकरहरू बताउँछन् ।

‘मधेश प्रदेश र जनकपुर पुग्ने नेपाल प्रहरीका अफिसरदेखि नेपाल सरकारका उच्च कर्मचारी र सबै पार्टीका नेता, सांसद र मन्त्रीहरू सबैसँग उनले फोटो खिचाउने र त्यही फोटो देखाउँदै कर्मचारीलाई धम्क्याउने गरेको देखिन्छ,’ महतोको कार्यशैली र व्यवहारबाट आजित भएका बैंकरहरू भन्छन्, ‘नेतासँग खिचेको फोटो देखाउँदै धितो लिलाम रोक्न अनेक पहुँचको प्रयोग हुन्छ । व्यवसाय गरेर ऋण तिर्ने भन्दा पनि पहुँचको प्रयोग गर्नेमा केन्द्रित भएको देखिन्छ ।’

उनको जनकपुरको ढल्केवरमा अल्फा र एभरेष्ट वायर उद्योग सञ्चालनमा रहेका छन् । तिनै उद्योग र गाडीको लागि ४ वटा बैंकबाट करिब ३ अर्ब रुपैयाँ ऋण लिएका छन् । तर, पछिल्लो ३ वर्षयता कुनै पनि बैंकमा सावाँ र ब्याज भुक्तानी नभएको बैंकरहरू बताउँछन् । ऋण नतिरेपछि बैंकहरूले कालोसूचीमा लैजानेदेखि धितो लिलाम गर्नेसम्मको प्रक्रिया अगाडि बढाए पनि स्थानीय प्रशासनको साथ नपाउँदा समस्या भएको बैंकरहरू बताउँछन् ।

महतोले कुमारी बैंकबाट डेढ अर्ब रुपैयाँभन्दा बढी, हिमालयन बैंकबाट १ अर्ब रुपैयाँभन्दा बढी, ज्योति विकास बैंकबाट ३० करोड रुपैयाँमाथि र एभरेष्ट बैंकबाट ५ देखि ७ करोडको बीचमा कर्जा तिर्नुपर्नेमा ३ वर्षदेखि कर्जामा समस्या भएको बैंकरहरू बताउँछन् ।

महतोलाई बैंकहरूविरुद्ध धम्क्याउनका लागि केही दिनअघि दुर्गा प्रसाईं समूहका देवी संग्रौलाको नेतृत्वको टोलीले महोत्तरीको बर्दिवास पुगेर कुमारी बैंक र हिमालयन बैंकले दुःख दिएको र ‘पानीमुनि गए पनि नछाड्ने’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । जनकपुरका ‘अम्बानी’ भनेर चिनिने तिनै दिनेशकुमार महतो अहिले सोही भिडियो बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई पठाउँदै मनोवैज्ञानिक दबाब दिइरहेका छन् ।

देवी संग्रौला, दिनेशकुमार महतो र संवादमा वडाध्यक्ष समेत रहेको बताउने अर्का एकजनाको संवाद भएको भिडियोमा केही व्यक्तिहरूले चर्को स्वरमा धम्की दिएको सुनिन्छ ।

क्लिकमान्डुलाई प्राप्त भिडियोमा संग्रौलाले व्यवसाय गर्ने मान्छेलाई बैंकले कति दुःख दिएका छन् भन्ने हामीले बुझेको भन्दै नाम लिएर कुमारी र हिमालयन बैंकलाई ‘खबरदार’ भन्दै धम्की दिएको देखिन्छ । ‘उहाँजस्तो मधेशको कुशल व्यवसायीलाई व्यापार व्यवसाय गर्न नदिएर हिमालयन बैंक, कुमारी बैंकले दुःख दिएको छ,’ संग्रौलाले चेतावनी दिँदै भनेका सुनिन्छन्, ‘खबरदार, पानीमुनि गए पनि छोडिँदैन । यो उद्योग पुनः सञ्चालनमा ल्याउँछौँ । यो देश हाम्रो हो, तस्करको होइन । तस्करलाई लखेट्छौँ । यो उद्योग नागरिक बचाउ महाअभियानले झन्डा गाडेर सञ्चालन गर्छ ।’

उनी त्यतिमा मात्र रोकिँदैनन्, कुमारी बैंकका सीईओ, डीसीईओ र सञ्चालक समिति तथा हिमालयन बैंकका सीईओ राणा साहेब हुनुहुन्छ भन्दै धम्की दिएको भिडियोमा देखिन्छ । ‘अहिले केको राणा, यस्ता राणा २००७ सालमै गइसके, अब नागरिक उठ्नुपर्छ । नागरिकले व्यापार व्यवसाय गर्न पाउनुपर्छ । तपाईंलाई हाम्रो साथ छ,’ उनले भिडियोमा भनेका छन्, ‘२४ घण्टाभित्र कालोसूचीबाट हटाएर कर्जा पुनर्संरचना गरेर ऋण दिएर व्यवसाय सञ्चालन भएन भने लखेट्छौँ ।’

उनले जुनसुकै बैंक होस्, ‘तस्कर खेदाउँछौँ’, ‘बैंकले खेदेका प्रवासमा बसेका मान्छे नेपाल ल्याउँछौँ’ भन्दै बैंकहरूलाई धम्की दिएको देखिन्छ । ऋण नतिर्ने महतोलाई ढाडस दिएको शैलीमा उनले ‘तपाईं विचलित नहुनुहोस्, सही ठाउँमा ठोकिनुभएको छ, तपाईंको उपचार सम्भव छ, ठोक्छौँ हामी’ भनेको भिडियोमा सुनिन्छ ।

भिडियोमा भएको कुराकानीमा उनकै दाइ वडाध्यक्ष समेत रहेको खुलेको छ । देवी संग्रौलाले धितो लिलामका लागि ‘घरबाटो सिफारिस नदिनु’ भन्दै औँला ठड्याएर चेतावनी दिएको देखिन्छ । त्यसमा सहमति जनाउँदै ‘सही भन्नुभयो, धितो लिलाम गर्न घरबाटो सिफारिस दिन्नँ’ भनेको सुनिन्छ । संग्रौलाले बैंक, लघुवित्त र सहकारीको घरबाटो सिफारिस नदिनुहोला भन्दा त्यसमा सही थप्दै ती वडाध्यक्षले ‘कुनै पनि हालमा दिन्नँ’ भनिरहेको क्लिकमान्डुलाई प्राप्त भिडियोमा देखिन्छ । यति मात्र नभएर देशभरकै ७५३ वटै पालिकाका वडाध्यक्षलाई ‘घरबाटो सिफारिस नदिने पत्र लेख्नुस्’ भन्दै संग्रौलाले उनलाई प्रोत्साहन गरिरहेका छन् ।

भिडियोमा जनकपुरमा ‘अम्बानी’ भनेर चिनिने महतोले इन्जिनियर र बैंकर मिलेर धितो र सम्पत्तिलाई चलेको मूल्यभन्दा ५० प्रतिशतभन्दा तल ल्याएको बताएका छन् । जवाफमा संग्रौलाले भनेका छन्, ‘तपाईंको माटो हो, त्यहाँ फित्ता बोकेर इन्जिनियर जान्छ भने फित्ता खोसेर हान्नुस् । आमाको र पृथ्वीको मूल्य हुँदैन, तपाईंको सम्पत्तिको मूल्य तपाईंले निर्धारण गर्ने हो ।’

संग्रौलाले अहिलेका गभर्नर जनमुखी रहेको भन्दै गभर्नरको तारिफ पनि गरेको सुनिन्छ । एमालेको सरकारको जस्तो गभर्नर नभएको भन्दै विश्व पौडेलको समर्थन गरेका उनले ‘तस्करको हातको पैसा खोसेर ल्याएर महतोले बैंकबाट लिएको ऋण तिर्ने’ भन्दै ऋण नतिर्न उक्साएको भिडियोमा प्रष्ट देखिन्छ ।

‘इन्जिनियरलाई पनि भन्न चाहन्छु, तिम्रो फित्ता तिम्रै घाँटीको पासो नबनोस् । इन्जिनियरले सम्पत्तिलाई कम मूल्यांकन गरेछ भने त्यो ‘पार्ट अफ करप्सन’ हो, त्यसलाई ठोक्नुस्, त्यसको जिम्मा महाअभियानले लिन्छ ।’ संग्रौलाले भनेका छन्, ‘तपाईंको डकुमेन्ट दिनुस्, हामी गभर्नरलाई भेटाउँछौँ । तपाईंको पीडा सम्बोधन गर्छौँ । हिमालयन र कुमारी बैंकले तपाईंलाई अपराध गरेको छ । यो सामान्य अपराध होइन, मानवता विरुद्धको महा अपराध हो । कालले छोड्ला हामीले छोड्दैनौँ ।’ अहिले महतोले सोही भिडियो बैंकलाई पठाउँदै सीईओहरूलाई धितो लिलाम नगर्न चेतावनी दिइरहेका छन् ।

एभरेष्ट बैंकले उनले गाडी खरिद गर्न दिएको ऋण नतिरेपछि गाडी लिलाम गर्ने सूचना निकाल्नुका साथै प्रहरीमा गाडी हराएको सूचना निकाल्दा पनि प्रशासनले सहयोग नगरेको बैंकका एक कर्मचारीले बताए । बैंकले प्रशासनले गाडी जफत गर्न सहयोग नगरेपछि अब बीमा दाबी गर्ने तयारी गरेको स्रोतले बतायो ।

२ वर्षदेखि कालोसूचीमा भए पनि उनले निर्बाध रूपमा पेट्रोल पम्प लगायतका व्यवसाय सञ्चालन गरिरहेका छन् । धितो लिलाम गरेर ऋण असुल गर्न नसक्ने देखिए पनि बैंकहरूले ऋण असुली न्यायाधिकरणमा पठाउने तयारी गरेका छन् ।

वित्तीय कर्मचारीलाई वडाध्यक्षले नै कुटे

यो पछिल्लो प्रतिनिधि घटना हो । २०८२ असारमा धितो लिलामका लागि घरबाटो सिफारिस लिन पुगेका जानकी फाइनान्सका कर्मचारीलाई जनकपुर उपमहानगरपालिकाका वडाध्यक्षले नै कुटपिट गरेका थिए ।

त्यस्तै भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केही बैंकका शाखा कार्यालय र एटीएममा तोडफोड र आगजनी भयो । सोही दिन राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा तोडफोड गरी भल्टबाट नगद र सुन नै चोरी भयो ।

२०८२ असोजमा रौतहटमा ऋण असुलीका लागि गएका वाणिज्य बैंकहरूका कर्मचारीहरूलाई पेट्रोल छर्किएर आगो लगाउन धम्की दिए पनि बैंकले उक्त घटना सार्वजनिक गरेनन् । कानुनी कारबाहीमा पनि गएको देखिँदैन ।

२०८२ मंसिरमा धितो लिलामीका लागि फिल्ड भिजिटमा गएका केही वाणिज्य बैंकहरूका कर्मचारीलाई धम्की दिएको बैंकरहरू बताउँछन् । २०८२ मंसिरमा नै सप्तरीको रुपनीमा ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीमाथि स्थानीय जनप्रतिनिधिको समेत संलग्नतामा कालोमोसो दल्दै जुत्ताको माला लगाएर कुटपिट भएको थियो । २

०८२ पुस २० गते धनुषामा धितो राखिएको सम्पत्तिको मूल्यांकन गर्न स्थल भ्रमणका क्रममा बैंकका कर्मचारीहरूमाथि भौतिक आक्रमण भएको थियो । बैंकले यस घटनाबारे कुनै रिपोर्ट दर्ता गरेको छैन भने घटना सार्वजनिक पनि गरेको छैन ।

पुस २० गते दाङको घोराहीमा ऋण असुलीका लागि गएका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रबन्धक र अर्का एक कर्मचारीमाथि दुर्व्यवहार र भौतिक आक्रमण भएको थियो ।

त्यस्तै पुस २१ गते एनआईसी एशिया बैंकको इटहरी शाखामा एक जना ऋणीले बैंकले लिलामी गर्ने क्रममा आफूले व्यक्तिगत रूपमा अर्का ऋणीलाई दिएको रकम पनि सोही धितोबाट असुली गरिदिनुपर्ने भन्दै पेट्रोलको बोतल बोकेर बैंक शाखाभित्र प्रवेश गरी आफू र कर्मचारीहरूमाथि पेट्रोल छर्किएका थिए ।

भएन कारबाही, सुरक्षा प्रत्याभूति दिने सरकारको वचन

यी प्रतिनिधि उदाहरण मात्र भएको बैंकरहरू बताउँछन् । विशेष गरी केही समूह वा राजनीतिक दलका कार्यकर्ताहरूको समर्थन पाएका ऋणी (डिफल्टर) हरूबाट मौखिक धम्कीहरू आउनु सामान्य जस्तै भएको बैंकरहरू बताउँछन् । उनीहरूले बैंकका कर्मचारीहरूलाई सम्पत्ति लिलामी नगर्न दबाब समेत दिने, लिलामीको सूचना र ऋण तिर्न आउने सूचना प्रकाशित गर्दा धम्की आउने कुरा पछिल्लो समय सामान्य बनेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

सामाजिक सञ्जालमा बैंकविरुद्ध नकारात्मक, भ्रामक तथा उत्तेजक भिडियो तथा रिल्सहरू प्रसारण भइरहेका जस्ता निरन्तर समस्याहरू सामना गरिरहेको बैंकरहरू बताउँछन् ।

कर्मचारीमाथि निरन्तर आक्रमण र दुर्व्यवहार बढेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बैंक नै बन्द गर्ने चेतावनी दिएका छन् ।

दाङमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रबन्धक र कर्मचारीमाथि आक्रमण भएपछि कर्मचारी संघले राष्ट्र बैंक र बैंकहरुकै प्रमुख कार्यकारी अधिकृतको संस्थासँग छलफल गरी सुरक्षाको प्रत्याभूति नभए ताला लगाएर चाबी राष्ट्र बैंक र अर्थ मन्त्रालयमा बुझाउने चेतावनी दिएका थिए ।

कर्मचारी र बैंकमाथिको आक्रमण बढ्दै गएपछि सोमबार अर्थमन्त्रीको नेतृत्वमा प्रधानमन्त्री कार्यालयका प्रतिनिधि, गृहसचिव र अर्थसचिव समेत राखेर नेपाल बैंकर्स संघका प्रतिनिधिसँग छलफल भएको थियो ।

छलफलमा दुर्गा प्रसाईं नेतृत्वमा रहेको समूहको गतिविधिले काम गर्न नसकिने अवस्था भएको बताउँदै सुरक्षाको प्रत्याभूति गराउन माग गरेका थिए । सरकारको तर्फबाट यस्ता अराजक गतिविधि गर्ने समूहसँग छलफल गर्ने र त्यसबाट समस्या समाधान नभए कानुनी कारबाहीमा पनि जाने आश्वासन बैंकरहरूलाई दिइएको थियो ।