
काठमाडौं । बैंक कर्मचारीमाथि निरन्तर आक्रमण बढेपछि अर्थमन्त्री रामेश्वर खनालको अग्रसरतामा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका प्रतिनिधिले बैंकरहरूसँग छलफल गरेका छन् ।
सोमबार अर्थमन्त्री खनालसहितका उच्च सरकारी अधिकारीले नेपाल बैंकर्स संघको कार्यकारी समितिसँग बैंक कर्मचारीहरूले निर्भयपूर्वक काम गर्ने वातावरण निर्माण गर्ने सम्बन्धमा छलफल गरेका हुन् ।
छलफलमा बैंकर्स संघले कर्मचारीमाथि शृंखलाबद्ध आक्रमण भएपछि काम गर्न नसकिएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन माग गरेको छलफलमा सहभागी एक अधिकारीले क्लिकमान्डुलाई जानकारी दिए । बैंकरहरूका अनुसार पछिल्ला केही दिनयता कर्मचारीलाई हतोत्साहित बनाउन धम्की दिने र बैंकका शाखा कार्यालयमै पुगेर चेतावनी दिने जस्ता गतिविधिले कर्मचारीहरू त्रसित बनेका छन् ।
छलफलका क्रममा अर्थ र गृह मन्त्रालयका तर्फबाट कर्मचारीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, बैंक कर्मचारीलाई धम्की दिने र आक्रमण गर्नेहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता सरकारका तर्फबाट आएको सहभागी एक बैंकरले जानकारी दिए ।
‘बैंकका कर्मचारीमाथि आक्रमण गर्ने विभिन्न समूहसँग सुरुमा सरकारका विभिन्न निकायले छलफल गर्ने र त्यसबाट समस्या समाधान नभए पक्राउ गरेर कारबाही गर्नेसम्मको प्रतिबद्धता व्यक्त भएको छ,’ छलफलमा सहभागी स्रोतले क्लिकमान्डुसँग भन्यो ।
पछिल्लो समय दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ का तर्फबाट खुला रूपमै बैंकहरूलाई ‘सबक सिकाउने’ चेतावनी दिइँदै आएको छ । दुर्गा प्रसाईंका सहयोगी देवि संग्रौलाको नेतृत्वमा बैंकका शाखामा पुगेर कर्मचारीलाई धम्क्याउने र चेतावनी दिने जस्ता कार्यहरू भइरहेका छन् ।
कर्मचारीमाथि दुर्व्यवहार बढेपछि कर्मचारी युनियनले नेपाल बैंकर्स संघ र राष्ट्र बैंकसँग समेत छलफल गर्दै सुरक्षाको प्रत्याभूति नभए बैंकका सबै शाखाको साँचो राष्ट्र बैंक र अर्थ मन्त्रालयमा बुझाउने चेतावनी दिएका छन् ।
यसरी संगठित रूपमा आक्रमण बढेपछि अर्थमन्त्री खनालले गृह मन्त्रालयका प्रतिनिधिसमेत राखेर छलफल अघि बढाएका हुन् । बैंकर्स संघको कार्यकारी समिति, गृह सचिव र अर्थ सचिव समेतको उपस्थितिमा भएको उक्त छलफलमा सरकारी पक्षबाट बैंक र बैंकरमाथि आक्रमण तथा दुर्व्यवहार गर्नेलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ ।








प्रतिक्रिया