धितो लिलाममा निकालेका व्यक्तिबाट आफ्नो पैसा पनि उठाइदिन बैंकलाई दबाब, आत्मदाहको धम्की

पेट्रोल लिएर बैंक पुग्ने पौडेल पक्राउ


काठमाडौं । दुर्गा प्रसाईं समूहको नागरिक बचाउ अभियानका कार्यकर्तासहित एनआईसी एशिया बैंकको इटहरी कार्यालयमा पेट्रोल बोकेर आत्मदाहको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनआईसी एशिया बैंकको इटहरी शाखाका ऋणी लालबहादुर पौडेललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले क्लिकमान्डुलाई जानकारी दिए।

सोमबार एनआइसी एशिया बैंकको इटहरी शाखाभित्र पौडेलले पेट्रोल छर्कंदै आत्मदाह गर्छु भन्दै होहल्ला गरेपछि बैंकबाट प्रहरीमा खबर पुगेको थियो । त्यसपछि बैंकमा पुगेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हमालले जानकारी दिए ।

बैंक स्रोतका अनुसार पौडेलसँग व्यक्तिगत कारोबार भएका एक व्यक्तिले बैंकबाट लिएको ऋण केही वर्षदेखि नतिरेपछि धितो लिलाममा गएको थियो ।

बैंकका ऋणी गंगाशरण साह तेलीले लिएको ऋण नतिरेपछि बैंकले धितो लिलाममा लगेको थियो । सोही ऋणीसँग पौडेलको व्यक्तिगत कारोबार रहेको र बैंकले धितो लिलाम गर्दा आफ्नो रकम पनि उठाइदिनुपर्ने भन्दै दबाब दिएको एनआइसी एशिया बैंकले जनाएको छ ।

तर, व्यक्तिगत कारोबारको विषयमा केही गर्न नसक्ने बैंकले बताएपछि उनी बैंकविरुद्ध आक्रोशित बनेको स्रोतको दाबी छ ।

पौडेलले भने जग्गा नै बैंकले लिलाम गर्ने भएपछि आफ्नो पैसा पनि उठाइदिनुपर्ने अन्यथा बैंकमा नै आत्मदाह गर्ने भन्दै पेट्रोल छर्किँदै बैंकविरुद्ध अभिव्यक्ति दिन थालेपछि प्रहरीलाई खबर गरेको बैंकको दाबी छ ।

पौडेल पनि बैंकको ऋणी भए पनि उनको ऋणमा कुनै समस्या नभएको बैंक स्रोतको भनाइ छ ।

गंगाशरण साह तेलीसँग लिनुपर्ने आफ्नो व्यक्तिगत कारोबारको रकम उठाउन बैंकले सहयोग गर्नुपर्ने भन्दै पौडेलले केही व्यक्ति लिएर बैंकमा आएर आत्मदाह गर्छु भन्दै धम्की दिएको बैंकले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमाल भने बैंकबाट आत्मदाह प्रयास गर्छु भन्दै एक व्यक्तिले प्रज्वलनशिल पदार्थसहित धम्की दिएको जानकारी आएपछि ति व्यक्तिलाई नियन्त्रणमा लिएको बताए ।

‘कुनै उजुरी दर्ता भएको छैन । बैंकमा प्रज्वलनशिल पदार्थसहित आत्मदाह गर्छु भन्ने व्यक्तिलाई नियन्त्रयण्मा लिएका छौं । उजुरी आएपछि सोधपुछ गर्छौं,’ डीएसपी हमालले भने,‘आत्मदाहको धम्की दिने व्यक्ति बैंकको ऋणी भएको खुलेको छ । थप जानकारी सोधपुछ पछि मात्रै भन्न सकिन्छ ।’