जेमा पनि बैंक नै ‘तारो’: बैंक डुबाउने प्रयासमा अराजक समूह, कसको जगमा हुँदैछ आन्दोलन ?

'बैंक डुब्दा सामान्य नागरिक नै समस्यामा'

1.6k
Shares

काठमाडौं । पछिल्लो ३ वर्षका घटनाक्रम हेर्ने हो भने विभिन्न बहानामा बैंक र बैंकका कर्मचारीमाथि आक्रमण हुने गरेको देखिन्छ । यस्ता आक्रमणको क्रमबद्धता र सिलसिला बैंक लुट्ने र बम पड्काउने धम्कीदेखि कालोमोसो दल्ने, अपहरण गर्ने र शाखामा तोडफोड गर्ने भौतिक कारबाहीसम्म देखिन्छ ।

त्यसमाथि प्रणालीमै जोखिम निम्त्याउने गरी बैंकको खाता प्रयोग नगर्न, निक्षेप झिक्न, कर्जा लिएको भए नतिर्नसम्म आह्वान पनि उत्तिकै हुने गरेको छ ।

राज्यविरुद्धको आन्दोलन, दलका नेतासँग सम्बन्धित विभिन्न मुद्दा होस् वा अर्थतन्त्रमा सामान्य सुस्तता देखिँदा होस्, बैंकहरुलाई नै बैरीका रुपमा व्यवहार हुने गरेको छ।

केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार गर्ने गरेका छन् । ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पुर्‍याउने जस्ता अराजक क्रियाकलाप हुँदै आएको छ ।

उल्लेखित विषयलाई पुष्टि गर्न केही घटनाक्रम नियालौं ।

२०७९ फागुनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको किस्ता नतिर्न आह्वान गरेका थिए । बैंकका कर्मचारी कर्जा असुल्न आउँदा कालोमोसो दल्न कार्यकर्तालाई अभिप्रेरित गरे । यो अभियानको सुरु जाजरकोटबाट भएको थियो । एनआईसी एशिया लघुवित्तका कर्मचारी किस्ता असुल गर्न जाँदा कालोमोसो दलियो ।

त्यसको १६ दिनपछि अर्थात् २०७९ चैतमा म्याग्दीको एनआईसी एशिया बैंकको शाखाका २ जना कर्मचारी पर्वतमा कुटिए । केही दिनअघि मकवानपुरमा कुमारी बैंकका कर्मचारीमाथि अभद्र व्यवहार भएको थियो ।

त्यतिबेलै धनगढीमा एनआईसी एशियाकै शाखा कार्यालय अगाडि प्रदर्शन गर्दै ‘नो डिपोजिट’ अभियान चलाइएको थियो ।

एनआईसी एशिया बैंक दुर्गा प्रसाईं र उनका समर्थकको निशानामा थियो । कुमारी बैंकमाथि पनि प्रहार भइरहेको थियो ।

खासगरी जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा धरपकड, सांघातिक हमला तथा कार्यालयमा तालाबन्दी भएको थियो ।

यो क्रम यतिमै सीमित भएन । व्यवसायी दुर्गा प्रसाईंलगायतले सामाजिक सञ्जालमार्फत् बैंकविरुद्ध विषवमन गरिरहे । कर्जाको किस्ता नतिर्न, कर्मचारीलाई कालोमोसो दल्न, कार्यालय तोडफोड गर्न कार्यकर्तालाई उक्साइरहे ।

यसैबीच २०८० मंसिरमा नेपाल इन्भेस्टमेन्ट बैंकको बिर्तामोड शाखा प्रबन्धकलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले अपहरण गरेका थिए ।

२०८० पुसमा नेपाल इन्भेस्टमेन्ट बैंकका ऋणाीले बैंक लुट्नेदेखि कर्मचारीको घरमा बम पड्काउने सम्मका धम्की दिएका थिए ।

२०८१ वैशाखमा दुर्गा प्रसाईंकै कार्यकर्ताले झापाको बिर्तामोडमा एभरेष्ट र ज्योति विकास बैंकको शाखामा तोडफोड गरे ।

२०८१ वैशाखमै मुगुमा एनआईसी एशिया बैंकको शाखामा तोडफोड भएको थियो ।

२०८१ भदौमा बाजुराको गौमुलेमा कुमारी बैंकको शाखा तोडफोड भयो ।

२०८१ पुसमा एनआईसी एशिया बैंकका २ कर्मचारीमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भयो ।

२०८१ पुसमा सिराहा र जनकपुरमा बैंकका कर्मचारीलाई हातपात भयो ।

उता अराजकहरुले बैंकविरुद्ध सामाजिक सञ्जालमा लेखिरहे । कहिले ‘बैंक डुब्छ, डुब्दैछ’, कहिले बैंकको नामै लेखेर ‘अब ढल्छ’, कहिले बैंकको नामै तोकेर ‘यो बैंकको खातामा निक्षेप छ भने तुरुन्त झिकिहाल्नुस्’ जस्ता स्ट्याटस फेसबुक लगायत सामाजिक सञ्जालमा लेखिरहन्थे ।

यसरी अराजक समूहको तारोमा प्रायः बैंक नै पर्ने गरेका छन् । बैंकमाथि प्रहार गर्ने दुर्गा प्रसाईंलगायतले सिकाएको तरिका अचेल धेरैले पालना गर्न थालेका छन् । त्यसमा थपिए एमालेका नेता महेश बस्नेत ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा परेको छ । कास्की, काठमाडौं, रुपन्देही, चितवनमा उनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दियो।

त्यसक्रममा उनलाई अदालतले धरौटी मागेको रकममा प्रभु बैंक जमानी बस्यो । कानुनले दिएको अधिकार प्रयोग गर्दै बैंक जमानी बसेपछि लामिछानेको विपक्षमा रहेको एउटा समूहले प्रभु बैंकमाथि कारबाहीको माग गर्‍यो । एकपटक मन्त्री भइसकेका र सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले सामाजिक सञ्जालबाटै प्रभु बैंकविरुद्ध प्रहार गरे ।

‘प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो ? प्रभु बैंक र गोर्खा मिडिया सँगको कनेक्सन के हो ? विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जिबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दैछ प्रभु बैंक ? केही न केही गलत र अपराधिक कर्ममा यिनीहरूको साठगाठ हुनुपर्छ,’ २ लाख ५६ हजार जनाले फलो गरेको फेसबुक पेजमा बस्नेतले लेखे, ‘यसको बारेमा सही छानबिन गरी कर्बाही गर्न आवश्यक छ ।’

यी घटनाहरुले बैंकहरुलाई धम्क्याएर, तर्साएर जे पनि हुन्छ भन्ने बुझाइमा अराजक समूह रहेको पुष्टि गर्दछन् ।

कसको स्वार्थमा ग्लोबल आईएमई बैंकमाथि हुँदैछ प्रहार ?

बैंकमाथि एकपछि अर्को आक्रमण हुने क्रमको सिकार अहिले ग्लोबल आईएमई बैंक बनेको छ ।

पछिल्लो समयमा आएर ग्लोबल आइएमई बैंकमाथि प्रहारको मुख्य कारण पाथीभरा केबलकार परियोजना हो । पाथीभरामा बन्दै गरेको केबलकारविरुद्धमा उत्रिएको एक पक्षले यो केबलकार निर्माणलाई सांस्कृतिक अतिक्रमण, धार्मिक विरासत मेट्ने प्रयास, र पहिचानविरोधी गतिविधि भन्दै विरोध गरिरहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई ग्रुपले यो परियोजनाको स्वामित्व लिएका थिए ।अहिले आन्दोलनकारीले ढकालको संलग्नता रहेको अन्य व्यवसायिक गतिविधिमाथि प्रहार गर्न थालेका छन् । तीमध्ये हाल ग्लोबल आइएमई बैंक विरोधी पक्षको निशानामा परेको हो ।

जसरी २ वर्षदेखि बैंकमाथि प्रहार हुँदै आएको थियो, पाथिभरा केबलकार विरोधीले अहिले त्यसरी नै ग्लोबल आईएमई बैंकलाई खेदेका छन् ।

सदा झैं बहाना अर्को तर पीडित भने बैंक हुनु परेको छ ।

आन्दोलनकारी समूहले ‘ग्लोबल आइएमई बैंक डुब्दै छ’ भन्ने अफवाह फैलाइरहेका छन् । आन्दोलनको नेताहरु लामो समयदेखि ग्लोबल आईएमई बैंकको ग्राहक रहेको र केबलकार विवाद सुरु भएसँगै सम्बन्ध तोडेको भन्दै भिडियो सामाजिक सञ्जालमा हालिरहेका छन् ।

साथै, जनता वा निक्षेपकर्तालाई ग्लोबल आईएमई बैंकमा खाता नखोल्न तथा भएको पैसा झिक्न उक्साइरहेका छन् ।

बैंकप्रति अविश्वास फैलाएर र जनतामा त्रास फैलाउने काम भएको छ । यसलाई बैंकलाई आर्थिक रूपमा क्षति पुर्‍याउने रणनीतिका रुपमा मानिएको छ ।

‘ग्लोबल आईएमई बैंक डुब्दैछ’ भन्ने दाबी गर्दै अपलोड गरिएका भिडियो सनसनीपूर्ण हेडलाइनसहित प्रचार भएका छन् । यो कार्यले आम नागरिकलाई झुक्याउने काम गरेको छ, भ्रम फैलाउने काम भएको छ ।

सामाजिक सञ्जालमा बैंकिङ प्रणालीमाथि अनावश्यक डर सिर्जना गरेर केही युट्युबर र ब्लगरहरूले भ्यूज कमाउने, डलर कमाउनेसम्मको काम गरेका छन् ।

‘ग्लोबल आईएमई बैंकबाट रकम झिक्दै सर्वसाधारण’ जस्ता शीर्षकमा हालिएको भिडियोमा ग्लोबल आईएमई बैंकको अफिसमा आगो लगाइदिनु पर्छ, सचेत जनताले बहिस्कार गरौं जस्ता उत्तेजित कमेन्टहरु आएका छन् ।

यसैगरी केबलकार विरोध अभियानका एक नेता खगेन्द्र माखिमले ग्लोबल आईएमई बैंकमा रहेको खाता बन्द गर्न आह्वान गरेका छन् भने बैंक सञ्चालक समिति अध्यक्षसमेत रहेका व्यवसायी चन्द्र ढकाललाई तस्कर, माफियासम्मको आरोप लगाएका छन् ।

केही दिनअघि कमलादीस्थित ग्लोबल आईएमई बैंकको प्रधानकार्यालय अगाडि पहिचानवादीहरूले आन्दोलन गरे । आन्दोलनको नेृतत्व गरेर पहिचानवादी नेताहरू निरमति तुम्बाम्पो, खगेन्द्र माखिम लगायले गरेका थिए ।

पाथिभरामा केबलकार विरूद्धको आन्दोलनमा पहिचानवादी नेतामात्र छैनन्, विवादित व्यवसायी दुर्गा प्रसाईंका समर्थक तथा मधेशवादी नेता राजेन्द्र महत्तोसम्मको समर्थन देखिएको छ ।

बैंकमाथि नै किन हुन्छ आक्रमण ?

घटनाक्रमले केही व्यक्ति वा समूहहरूले आफ्नो स्वार्थ पूरा गर्न बैंकिङ क्षेत्रको दुष्प्रचार गर्दै प्रहार गर्ने गरेको देखाउँछ । बैंकसँग ठूला व्यवसायी, उद्योगपति र राजनीतिक व्यक्तित्वहरूको प्रत्यक्ष सम्बन्ध हुने भएकाले, तिनलाई कमजोर बनाउने उद्देश्यले बैंकलाई निशाना बनाइन्छ ।

त्यसमाथि सामाजिक सञ्जालमा ‘नेगेटिभिटी’ अर्थात् नकारात्मक सामग्री धेरै भाइरल हुने भएकाले बैंक डुब्दैछ भन्ने हल्ला फैलाएर दर्शक आकर्षित गर्ने प्रवृत्ति मौलाएको छ । तसर्थ, भाइरल हुने दाउमा युट्युबर, टिकटकर तथा अन्य डिजिटल कन्टेन्ट क्रिएटरहरूले बैंकविरुद्धको कन्टेन्ट बनाउँछन् ।

यसैगरी, सर्वसाधारणले बैंकिङ प्रणाली, वित्तीय विवरण, तरलता व्यवस्थापन जस्ता कुराहरू राम्ररी नबुझेका कारण यस्ता हल्लामा छिट्टै विश्वास गर्छन् ।

सहकारी संस्था डुबेको घटनाले धेरैलाई बैंकिङ प्रणालीबारे त्रास सिर्जना गराएको छ । यस्तो परिस्थितिमा बैंक डुब्दैछ भन्दा पत्याउनेहरु धेरै हुने गरेका छन् । तसर्थ पनि बैंकलाई नै लक्षित गरिँदै आएको छ ।

बैंकहरूमाथि हल्ला फैलाउँदा सर्वसाधारण डराएर आफ्नो पैसा झिक्न थाल्छन् । ठूलो मात्रामा पैसा झिकिएमा बैंक वास्तवमै संकटमा पर्ने सम्भावना रहन्छ, जसले अफवाहलाई ‘सेल्फ फुलफिलिङ प्रोफेसी’ बनाइदिन्छ (अर्थात्, हल्ला नै सत्य साबित हुन सक्छ) ।

बैंकमाथि आक्रमण गर्नु गलत

बैंकमाथि हुने आक्रमणले निक्षेपकर्ता, ऋणी र सरोकारवालको हक, हित संरक्षण तथा सम्बद्र्धनमा गम्भीर संकट उत्पन्न हुनेछ । बैंकजस्ता नियमन र अनुशासनमा रहेर काम गर्ने पारदर्शी निकाय तथा अर्थतन्त्रभन्दा ठूलो आकारको निक्षेप र अर्थतन्त्र बराबरको कर्जा प्रवाह गर्ने संस्थामाथिको आक्रमले पुरै अर्थतन्त्रमा नै समस्या पर्न सक्नेछ ।

सर्वप्रथम त बैंकप्रति निक्षेपकर्ताको विश्वास गुम्छ । बैंकमाथि संदेह बढेपछि ग्राहरूले ठूलो मात्रामा पैसा झिक्न थाल्छन् । यदि धेरै बैंकहरूमा यस्तै अवस्था आयो भने, सम्पूर्ण बैंकिङ प्रणालीमै संकट आउन सक्छ । ग्राहकहरूले नयाँ निक्षेप राख्ने काम पनि गर्दैनन् । यसले बैंकलाई झन् कमजोर बनाउँछ ।

त्यसपछि बैंकमा वित्तीय अस्थिरता सिर्जना हुन्छ । बैंकको दायित्वसम्पत्तिभन्दा बढी भएमा बैंक नै फेलरको सम्भावना हुन्छ ।

यसो हुँदा बैंकहरू जोखिम कम गर्न अत्यधिक सावधानी अपनाउनुपर्छ । सावधानीले कर्जा प्रवाह संकुचन ल्याउँछ जसले व्यवसाय र उद्योगहरूलाई असर गर्छ ।

क्रमैसँग त्यसमाथि बैंक प्रणालीमै अविश्वास सिर्जना हुन थाल्दछ । यस्तो कार्यले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न थाल्छ।

बैंकहरू असफल भए अर्थतन्त्रमा ऋण प्रवाह रोकिन्छ, भुक्तानी प्रणालीमा समस्या आउँछ । सरकारी तथा निजी परियोजनामा असर पर्छ भने विदेशी लगानीकर्ताले पनि लगानी फिर्ता लैजान्छन् ।

यसरी एउटा बैंकमाथि प्रहारलाई जानकारहरुले अर्थतन्त्रमाथिकै प्रहार मानेका छन् ।

बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने केन्द्रीय बैंकबाट सेवा निवृत्त भएका एक अधिकारी भन्छन्, ‘बैंकमाथि सिरिजमा प्रहार भइरहेको छ । हिजो कुनै विवादास्पद व्यवसायी हुल उचालेर र सामाजिक सञ्जालमा लेखेर बैंकलाई आक्रमण गर्थे, आज कुनै व्यावसायिक घरानाको मानमर्दन गर्न बैंक जोडिएको छ ।’

उनका अनुसार हिजोका दिनमा एनआईसी एशिया, कुमारी जस्ता बैंकहरुको बेइज्जती गरियो, कर्मचारीहरुलाई कुटपिट गरियो, कालोमोसो दलियो । आज ग्लोबल आईएमई बैंकमाथि उस्तै तरिकाको आक्रमण भएको ती अधिकारी बताउँछन् ।

बैंकविरूद्ध अहिले चलेको आन्दोलनमा स्वार्थ रहेका व्यक्तिहरू, सामाजिक खलल ल्याएर लाभ लिने नेताहरू तथा नेपाललाई रणभूमि बनाउने चाहने तत्त्वहरूको पनि सामेल भएको अनुमान ती अधिकारीले गरे ।

नियमन विभाग प्रमुख समेत रहेका केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले त सामाजिक सञ्जाल फेसबुकमै पाथीभरामा केवलकार बनाउने विषयसँग जोडेर ग्लोबल आईएमई बैंकमाथि प्रहार गलत रहेको टिप्पणी गरेका छन् ।

‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक ग्लोबल आईएमईमाथि गरिएको प्रहार गलत हो,’ उनले लेखेका छन्, ‘कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’

बैंकमाथि प्रहारको विषयलाई बैंकहरुको छाता संगठन, बैंक सञ्चालकहरुको छाता संगठन तथा निजी क्षेत्रका अन्य संघसंस्थाले पनि विरोध गर्दै आएका छन् ।

सरोकारवालाले बैंकमाथि हुने यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने माग गर्ने गरेका छन् । बैंकमाथि प्रहारले प्रणालीलाई नै चुनौती थप्ने उनीहहरुको बुझाइ छ ।

त्यसमाथि बैंक कुनै सीमित व्यवसायीको निजी कम्पनी होइन । बैंकमा व्यवसायीको स्वामित्व त हुन्छ नै तर, उसको बहुमत हुँदैन।

पब्लिक कम्पनीका रुपमा स्थापना भएका बैंकमा लगानी सेयरधनीको भए पनि सबै निक्षेप सर्वसाधारणको हुन्छ, बैंकहरुले लगानीको कयौं गुणा बढी निक्षेप संकलन गरेका हुन्छन् भने सोही अनुसार कर्जा प्रवाह गरेका हुन्छन् ।

उदाहरणका लागि ग्लोबल आईएमई बैंकमा सेयरधनीको ३८ अर्ब रुपैयाँ छ । तर, बैंकले करिब ५ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब ४ खर्बको कर्जा प्रवाह गरेको छ ।

तसर्थ, एउटा बैंक डुब्यो भने यी सबै निक्षेपकर्ता सामान्य नागरिक डुब्छन् ।

अर्कातर्फ धितोपत्र बजारमा यसको सेयर खरिदबिक्री भइरहेको हुन्छ । बजार मूल्यका आधारमा हिसाब गर्ने हुने एउटा वाणिज्य बैंकमा सर्वसाधारण लगानीकर्ताको करिब ६० अर्ब रुपैयाँको सम्पत्ति रहेको देखिन्छ ।

सितिमितिको छैन ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई देशकै ठूलो बैंक हो । यो बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको १८ वर्ष पूरा भएको छ ।

बैंकले हालसम्म ५ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले गत आवमा ६ अर्ब १४ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको वासलातको आकार ७ खर्ब बढीको छ । बैंकले नाफामात्र गरेको छैन । सरकारलाई अर्बौं रुपैयाँ कर पनि तिरेको छ ।

राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा नेपाल सरकार, आन्तरिक राजस्व विभागले ग्लोबल आइएमई बैकलाई सम्मानित भएको छ । गत आवमा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । यसैगरी बैंकले नियमित र सेवा सम्झौता मार्फत ३ हजार ८ सय जना भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ ।

साथै बैंकले सामाजिक परियोजना, वित्तीय साक्षरता, तोकिएको क्षेत्रमा प्रत्यक्ष अनुदान लगायत नेपाल राष्ट्र बैंकबाट तोकिएको क्षेत्रमा तोकिएको रकम खर्च गर्ने उद्देश्यले बैकले संस्थागत सामाजिक उत्तरदायित्व नीति नै कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल ७ करोड १९ लाख रुपैयाँ बराबरको संस्थागत सामाजिक उत्तरदायित्व बहन गरेको थियो । यसैगरी चालु आर्थिक वर्षमा पनि बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ४ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

ग्राहकको हितलाई ध्यानमा राख्दै ग्लोबल आईएमई सरल, सहज र बहुउपयोगी बैंकिङ सेवा, राष्ट्रिय प्राथमिकताको क्षेत्रमा लगानी, वित्तीय पहुँच अभिवृद्धिका लागि निरन्तर क्रियाशील छ । बैंकको हाल मुलुकको सातवटै प्रदेशमा गरी ३ सय ५४ वटा शाखा ६८ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय ३७ वटा शाखारहित बैंकिङ सेवा, ३ सय ८४ वटा एटीएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य र अस्ट्रेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा छन् ।

व्यावसायिक उतारचढाव र विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्दै बनेको ग्लोबल आईएमई बैंक देशकै ठूलो र बिजनेसमा पनि अग्रस्थानमा रहन सफल भएको छ ।